Khadya Bibhag

एक सम्झौता जसमा हस्ताक्षर गर्न मानेनन् ओली

रौतहट क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव जित्नुभएका किरणकुमार साह पुस १९ गते एमालेमा प्रवेश गर्नुभयो । बालकोट पुगेर एमालेमा प्रवेश गर्नुभएका किरण साहले अझै स्वतन्त्र नै हुनुहुन्छ । संसद सचिवालयमा उहाँको हैसियत स्वतन्त्र सांसदकै रहेको छ ।

प्रतिनिधि सभा सदस्यको परिचय पत्र पनि उहाँले स्वतन्त्र सांसदको हैसियतमा लिनुभएको छ । सिंहदवारको उहाँको छुट्टै कार्यालय पनि रहेको छ । संसदमा एमालेसँग बसेपनि सो पार्टीको सम्पर्कमा उहाँ हुनुहुन्न । किरण साहलाई एमालेमा बस्ने इच्छा छैन । उहाँले एमाले पार्टीमा प्रवेश गर्न पनि चाहनु भएको थिएन । केही समय स्वतन्त्र भएर नै संसदमा आफ्नो कुरा राख्ने सोचाइमा किरण साह हुनुहुन्थ्यो ।

तर उहाँलाई सो पार्टीका महासचिव शंकर पोखरेलले जवर्जस्ती प्रवेश गराउनुभयो । महासचिव पोखरेलले पटक पटक उहाँलाई बोलाएर कुरा गर्नुभएको थियो तर किरण साह पार्टीमा नै प्रवेश गर्ने कहिले राजि हुनुभएन । २०७९ पुस १९ गतेको दिन रौतहटका अजय गुप्तासहित किरण साहलाई पनि बालकोट बोलाइएको थियो । त्यही दिन अचानक उहाँलाई पार्टीमा प्रवेश गराइएको थियो । किरण साह निकट एक नेताले भन्नुभयो, ‘हाम्रो माननीय (किरण)जी पार्टीमा प्रवेश गर्ने इच्छा राख्नुभएको थिएन तर ओली (केपी शर्मा ओली)जीले जवर्जस्ती खादा ओढाई दिनुभयो ।’

तैपनि किरण साहले मान्नुभएको थिएन । उहाँले केही कुरामा सहमति गरेर मात्र आफू पार्टीमा प्रवेश गर्ने अडानमा हुनुहुन्थ्यो । त्यहाँ सहमतिपत्र पनि ड्राफ भयो । एकातर्फ एमालेका महासचिव शंकर पोखरेल र अर्कोतर्फ प्रतिनिधि सभा सदस्य किरण साहको हस्ताक्षर हुनेगरि सहमतिपत्र तयार गरिएको थियो तर त्यसमा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले हस्ताक्षर गर्न नै मान्नुभएन ।

सहमति भइसक्यो, हस्ताक्षर गर्न आवश्यक छैन, भएका सहमति कार्यान्वयन हुन्छ तपाई ढुक्क हुनुस् भन्दै अध्यक्ष ओलीले त्यसमा हस्ताक्षरका लागि तयार नभएको स्रोतले जनाएको छ । तर सहमति भएको यत्रो दिन भइसक्यो तर त्यो कार्यान्वयन नभएको गुनासो किरण साहले गर्दै आउनु भएको छ ।

‘हिन्दु, बौद्ध, बोन, किराँत र प्राकृतिलगायत नेपालमा सनातनदेखि चलिआएको मौलिक धर्म संस्कृतिको समूल नष्ट हुने गरी सञ्चालित ‘धर्मान्तर’ का कार्यहरु रोक्न ठोस पहल गर्ने भनि सम्झौता पत्रमा उल्लेख छ । नेपालको संविधानले सुनिश्चि गरेको धार्मिक स्वतन्त्रताको अधिकारको हनन गर्दै मुलुकको विभिन्न क्षेत्रमा हिन्दु धर्मावलम्बीहरुको चाडपर्व, वैवाहिक रितिरिवाज एवं विभिन्न भक्ति अनुष्ठानमा बाधा अवरोध पुर्याउने कार्यहलाई नियन्त्रण गरिनेछ, सहमति पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, सम्पूर्ण मानव जाति र मानवतालाई नै विचलित बनाएको ‘२८ जना व्यक्तिलाई इट्टाभठ्ठामा हाली जीवितै जलाइएको’ राजपुर घटनामा संलग्न पूर्व मन्त्री अफताव आलमसहितका सबै दोषीलाई न्यायिक प्रकृयाबाट यथाशाक्य शीघ्र सजाय दिलाउन आवश्यक भूमिका निर्वाह गर्ने पनि सहमति पत्रमा उल्लेख गरिएको छ । स्वतन्त्र प्रतिनिधि सभा सदस्य किरण साह नेकपा (एमाले)मा समाहित हुने पनि उल्लेख छ ।

किरण साहले यो सम्झौता पत्र गोजीमै लिएर हिड्नु हुन्छ । एमालेका नेताहरुलाई बेलाबेलामा बिना हस्ताक्षरित सम्झौताको बारेमा सम्झाई रहनुहुन्छ । किरण साहले प्रतिनिधि सभा सदस्यको लागि सँस्कृत भाषामा सपथ लिएपछि उहाँको निकै चर्चा भयो ।

उहाँले हिन्दु धर्मको रक्षाका लागि संसददेखि सडकसम्म आवाज उठाउने योजनामा हुनुहुन्छ तर एमालेमा भएको कारणले उहाँलाई सो विषयमा बोल्न गाह्रो भइरहेको छ । पार्टीले उहाँलाई हिन्दु धर्मको विषयमा बोल्न रोक लगाइएको छ । जब कि हिन्दु धर्मको रक्षा गर्न पहल गर्ने भनि सम्झौता पत्रमा नै उल्लेख छ ।

तपाईको प्रतिक्रिया