Khadya Bibhag

सिटौलाको गुण तिर्न खोज्दा कसले रोके देउवालाई ?

‘ए यार ! यसपटक मलाई कृष्ण सिटौलाको गुण तिर्न दिनुस् यार ।’ राष्ट्रपतिको बारेमा धुम्बाराहीस्थित आफ्नो निवासमा पूर्णबहादुर खड्का, रमेश लेखक, डा.प्रकाशरण महतलगायतसँग छलफल गरिरहेको बेला काँग्रेसका सभापति शेरबहादुर देउवाले भन्नुभएको कुरा हो यो ।
काँग्रेसलाई राष्ट्रपति दिने ‘कन्फर्म’ भइसकेपछि राष्ट्रपति कसलाई बनाउने छलफल पार्टीमा चलेपछि सभापति देउवाले कृष्ण सिटौलालाई राष्ट्रपति बनाउनुपर्ने मन बनाइसक्नु भएको थियो । त्यसमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पनि साथ दिनुभएको थियो ।
तर पार्टीका नेता रमेश लेखकले भन्नुभएको थियो, ‘होइन, तपाईले यसपटक रामचन्द्र पौडेल दाइलाई नबनाएर सिटौलालाई बनाउनुभयो तपाईलाई पाप लाग्छ । तपाई धर्मकर्म पनि विश्वास गर्नुहुन्छ, तपाई त्यस्तो गल्ती नगर्नुस् नत्र पाप लाग्छ ।’ कृष्ण सिटौलाले तपाईलाई धेरै गुण लगाउनु भएको छ त्यो ठिक छ तर रामचन्द्र पौडेलले पछिल्लो समय तपाईलाई जसरी साथ दिनुभयो, त्यो निकै महत्वपूर्ण हो भन्दै रमेश लेखकले सिटौलालाई बनाएर गल्ती नगर्न सभापति देउवालाई सचेत गराउनु भएको थियो ।
‘रामचन्द्र पौडेलले तपाईसँग आफै केही माग्नु भएको छ, त्यो पनि सिर्फ आफ्नो लागि मात्र, उहाँले कुनै गुटका लागि केही माग्नु भएको छैन, नेपालको राजनीतिक इतिहासमा उहाँको त्यत्रो योगदान छ तर आजसम्म केही पाउनु भएको छैन, नेता लेखकले देउवाले भन्नुभयो, ‘सिटौला दाइको उमेर बाँकी छ पछि पछि पनि केही नकेही गर्न सकिन्छ तर यसपटक रामचन्द्र दाइको भएन भने उहाँको राजनीतिक समाप्त हुन्छ र यो दोष तपाईलाई पनि जान्छ ।’ स्रोतका अनुसार यो कुरामा पूर्णबहादुर खड्कालगायतका नेताहरुले पनि सहमति जनाउनुभएको थियो । त्यसपछि देउवाले रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सहमत हुनुभयो ।
तर रमेश लेखकले रामचन्द्र पौडेलको साइड किन लिनुभयो त्यो थाह छैन सभापति देउवा यो अवस्थामा आइपुग्दासम्म नेता सिटौलाको ठूलो हात रहेको काँग्रेसका एक नेताले बताउनुभयो । सिटौलाले साथ नदिएको भए उहाँ न पार्टी सभापति बन्न सक्नुहुन्थ्यो न गणतान्त्रिक देशको प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो । त्यही भएर सिटौलालाई राष्ट्रपति बनाएर त्यो गुण तिर्न देउवाले खोज्नुभएको थियो ।
२०५९ मा तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालासँग अनबन हुँदा शेरबहादुर देउवाले पार्टीबाट अलग भएर अर्को पार्टी बनाउनु भएको थियो । त्यो पार्टी एकीकरण गर्न सिटौलाको मुख्य भूमिका थियो त्यति मात्र होइन सिटौलाले १३ औं र १४ औं महाधिवेशनमा सभापतिमा देउवालाई साथ दिएका थिए । त्यो कुरा देउवाले विर्सनु भएको छैन । २०५९ मा पार्टी विभाजन गर्न लाग्दा पौडेलले देउवालाई साथ दिने भन्नुभएको थियो तर अन्तिममा गिरीजाप्रसाद कोइरालाको पक्षमा जानुभयो ।
त्यो बेलादेखि उहाँ देउवाको विपक्षमै रहनुभयो । सुशिल कोइरालाको निधनपछि कोइराला पक्षको नेतृत्व गर्दै आउनुभएका पौडेले १४ औं महाधिवेशनमा मौन बसेर देउवालाई साथ दिनुभएको थियो । त्यो बेलादेखि पौडेल देउवाकै साथमा रहनु भयो । त्यहीवापत देउवाले उहाँलाई राष्ट्रपति बनाउनुभयो ।

तपाईको प्रतिक्रिया