मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादवको नियुक्त भएको चार नबित्दै सो पद चट्ट हुने सम्भावना बढ्दैछ । बारा–२ मा हुने उपनिर्वाचनमा साझा उम्मेदवारका लागि जसपाले मुख्यमन्त्री पदको बलि दिने भएको छ । काँग्रेसले बारा–२ मा जनता समाजवादी पार्टी नेपाललाई एउटै सर्तमा सघाउन सकिन्छ त्यो मधेश प्रदेश सरकारको नेतृत्व । मधेश प्रदेश समिति काँग्रेसका अध्यक्ष एवं प्रदेश सभा सदस्य कृष्णदेव यादव केही दिनदेखि काठमाडौँमा डेरा जमाएर बस्नु भएको छ । मधेश प्रदेश सरकारको नेतृत्वको काँग्रेसले लिनुपर्छ भन्दै दिनहुँ जस्तो पार्टीका शेरबहादुर देउवालाई भेट्न जानुहुन्छ ।
कृष्ण यादव भन्नुहुन्छ, ‘बारा–२ मा जसपालाई हाम्रो साथ चाहिन्छ भने मधेश प्रदेश सरकारको नेतृत्व छाड्नुपर्छ, काँग्रेसलाई मुख्यमन्त्री दिनुपर्छ अनि हामी बारामा सघाउँछौं ।’ यो कुराले जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि निकै दवाव परेको छ । बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने आश्वासन काँग्रेसका सभापति शेरबहादु देउवाले आश्वासन दिइसक्नु भएको छ । तर पार्टीमा मधेश सरकारको नेतृत्व लिनुपर्ने भनि दवाब आएको कारण जसपाका अध्यक्ष उपेन्द्र यादवलाई ढुक्क हुन दिनुभएको छैन ।
बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव आफै उम्मेदवार बन्न चाहनु भएको छ । बारा–२ को क्षेत्रीय समितिले चैत १५ गतेको भेलाले उपेन्द्र यादवको सिफारिस जिल्ला समितिलाई पठाएको छ । उता, २०७९ को चुनावमा माओवादी केन्द्रको तर्फबाट दोस्रो स्थान ल्याउनु भएको शिवचन्द्र कुशवाहा चैत १५ गते जनमत पार्टीमा प्रवेश गरेर उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यसले जसपाका अध्यक्ष उपेन्द्र यादवमाथि दवाब बढाई दिएको छ ।
यता, काँग्रेसले मधेश प्रदेशको मुख्यमन्त्रीका लागि बार्गेनिङ गरिरहेको छ । जसपा र काँग्रेसले मुख्यमन्त्री आलोपालो लिने तर पहिलो टर्ममा काँग्रेसले नै मुख्यमन्त्री लिने दवाब बढाई रहेको छ । जसपाका एक कार्यकारिणी सदस्यले भन्नुभयो, ‘काँग्रेसले यस्तो दवाब दिएको कुरा हालसम्म पार्टीमा आधिकारिक पमा आइपुगेको छैन तर यदि त्यस्तो हो भने चुनावअघि मुख्यमन्त्री फेर्ने कुरा हुँदैन उपचुनावपछि मात्र काँग्रेसलाई दुई वर्षका लागि मुख्यमन्त्री दिन सकिन्छ तर उपचुनावअघि त्यसको बारेमा सोच्न पनि सकिदैन ।’
बारा–२ बाट संघीय सांसद निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । केन्द्रमा चारदलीय गठबन्धनका शीर्ष नेताहरूले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई साझा उम्मेदवारका रूपमा उठाउने आन्तरिक रूपमा तयारी गरिरहेका छन् । तर, काँग्रेसले भित्रभित्रै जसपासँग बार्गेनिङ गरिरहेको छ । केन्द्रमा सहमति गरेपनि जिल्ला नमान्ने भन्दै जसपासँग बार्गेनिङ गरिरहेको छ ।
कांग्रेस बारा– २ का क्षेत्रीय सभापति रामप्रवेश यादवले केन्द्रमा शीर्ष नेताहरूले निर्णय गर्दैमा कांग्रेसका मतदाताले उपेन्द्र यादवलाई मत हाल्छन् भन्ने ग्यारन्टी छैन । बारा निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका ५ वटा स्थानीय तहमध्ये महागढीमाई नगरपालिका र सुवर्ण गाउँपालिकाको प्रमुख, उपप्रमुख नेपाली कांग्रेसको नेतृत्वमा छ भने करैयामाई गाउँपालिका र देवताल गाउँपालकाको प्रमुख र उपप्रमुख जसपाको नेतृत्वमा छ । एमालेले एकमात्र पालिका पचरौता गाउँपालिकाको प्रमुख र उपप्रमुख जिताएको छ ।
बारा २ मा जम्मा ४५ वटा वडा छन् । त्यसमध्ये जसपाले १५ वडा जितेको छ भने काँग्रेसले १२ वटा, एमालेले ११ वटा, माओवादी केन्द्रले चार, लोसपाले २ र नेकपा (एस) ले १ वडा जितेका छन् । यसरी त्यहाँको तथ्यांक केलाउँदा जसपा र काँग्रेस प्रतिस्पर्धामा छन् ।
सहज ढंगले चुनाव जित्नका लागि जसपालाई काँग्रेसको साथ चाहिन्छ नै तर काँग्रेसका केन्द्रीय नेतृत्वले जिल्लालाई देखाएर जसपासँग बार्गेनिङ गरिरहेको छ ।
यता, उपनिर्वाचनका लागि कांग्रेसले राधेचन्द्र यादवको नाम सिफारिस गरेको छ । कांग्रेस बारा–३ का क्षेत्रीय सभापति रामप्रवेश यादवका अनुसार क्षेत्रीय समितिले सर्वसम्मत रूपमा निर्णय गरेर उनको नाम जिल्ला कार्यसमितिमा पठाएको छ । राधेचन्द्र यादव यसअघि २०५१ सालमा प्रतिनिधि सभा सदस्य, २०७० सालमा संविधान सभा सदस्य, ४ पटक बारा जिल्ला सभापति भइसक्नु भएको छ ।
जसपासँग बार्गेनिङ भइरहेको बेला पार्टीका अध्यक्ष उपेन्द्र यादवले काँग्रेसका नेताहरुसँग भेटघाटलाई तीब्र बनाएका छन् । उनी चैत १३ गते काँग्रेसका महासचिव गगन थापासँग भेटेर छलफल गर्नुभएको छ । महासचिव थापाले आफ्नो पूर्ण समर्थन रहने आश्वासन दिनुभएको उहाँ निकट नेताहरुले बताउनुभएको छ । अध्यक्ष प्रचण्डले काँग्रेसका सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखकसँग पनि भेटेरहनुभएको छ ।
तपाईको प्रतिक्रिया