श्रीमानको मृत्युपछि श्रीमतिविरुद्ध अख्तियारको मुद्दा
१७ चैत्र २०७९, शुक्रबार २३:२०
जिल्ला शिक्षा कार्यालय ,बैतडीका तत्कालीन प्रा.स संजय ठाकुर दनुवार स्वर्गीय भएपछि उहाँको श्रीमति मञ्जुकुमारी सिहंलाई बिपक्षी बनाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ । फौजदारी न्यायको मान्य सिद्धान्त संजय उपर माग दावी लिनुपर्ने देखिएता पनि निजको मृत्यु भएकोले निजको अंशियार निजको श्रीमति मञ्जुकुमारी सिंहबाट बिगो असुल गर्न माग दावी गरिएको छ । कोरोना कालमा संजयको मृत्यु हुँदा उहाँ सिरहाको इकाइमा कार्यरत हुुनुहुन्थ्यो ।
सञ्जय ठाकुर दनुवार बैतडीमा कार्यरत रहँदा हुनैनाथ प्राथमिक विद्यालय सल्सेनामा मनकुमारी अवस्थीलाई शिक्षक पदमा नियुक्त गरी अख्तियारको दुरुपयोग गरेको उहाँमाथि आरोप छ । पद रिक्त नै नभएको, शिक्षक नियुक्तिको लागि अनुमतिपत्र नै माग नगरेको र सो विद्यालयले शिक्षक पदमा कसैलाई पनि नियुक्ति पत्र न दिएको अवस्थामा बीना कुनै कागजात अवस्थीको नियुक्तिको अभिलेखिकरण गर्नको लागि टिप्पणी उठाइ सो कार्यबाट गैरशिक्षक व्यक्तिले शिक्षक कायम भइ ७४ हजार ९२० रुपियाँ तलवभत्ता बुझि सरकारी रकम हिनामिना गरेको अख्तियारको दावी छ ।
संजय ठाकुर दनुवार सहित ६ जनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्ट नियुक्ति पत्र नै न भएको व्यक्तिलाई झुठा सरुवा पत्रको आधारमा शिक्षक कायम गरिएको भनि परेको उजुरीको छानबिन हुँदा, जिल्ला शिक्षा अधिकारी भट्टले व्यवस्थापन समितिबाट नियुक्ति भएको भनि बिना कुनै कागजात नियुक्तिको अभिलेखिकरण गर्न प्राविधिक सहायक दनुवारलाई टिप्पणी उठाउन लगाई आफै स्विकृत गरी उक्त विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरी सार्वजनिक सम्पतिको बदनियत पूर्वक ७४ हजार ९२० रुपियाँ हानी नोक्सानी गरेको अख्तियारले दावी गरेको छ ।
झुठो पत्रका आधारमा नियुक्ति लिएकी शिक्षक मन कुमारी, मतियार भइ काम गरेकोले स्रोतब्यक्ति हरिनाथ, सरुवा सहमति दिएका बलैराज निमाबिका प्रधानाध्यापक नुरबहादुर कुंवर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम जोशीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । आरोपित सबैजनालाई कैद, बिगोबमोजिमको जरीवाना, बिगो असूलीको दावीसहित मुद्दा दायर गरेको छ ।
तपाईको प्रतिक्रिया