दशबुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव चैत ४ गते सम्पन्न भएको छ । सो महोत्सव विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा भएको थियो । नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक–अर्को देशमा प्रवद्र्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ ।
त्यस्तै महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ । आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टालाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षौंभरि दुवै देशमा विभित्र साहित्यिक कार्यक्रम आयोजना गर्ने र एक–अर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारलाई प्रोत्साहित गर्नेलगायत घोषणपत्रमा उल्लेख छ ।
नेपालका सात वटै प्रदेशसहित भारतका सबै राज्यबाट प्रतिनिधिमूलक तीन सय ५० भन्दा बढी साहित्यकारको सहभागिता रहेको थियो । महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा र कविगोष्ठीसमेत भएको थियो ।
महोत्सवमा दुई सय ५० भन्दा बढीले सिर्जना वाचन गरेका थिए । अग्रज साहित्यकार विवश पोखरेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, मेरठ अकादमीका अध्यक्ष डा विजय पण्डित, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गङ्गा सुवेदी, वरिष्ठ साहित्यकार डा घनश्याम न्यौपाने परिश्रमी, पोखराका साहित्यकार बलराम उपाध्याय रेग्मीलगायतको सहभागिता थियो ।


तपाईको प्रतिक्रिया