Khadya Bibhag

शिक्षण, पत्रकारिता, राजनीति र समाजसेवालाई एकसाथ अगाडि बढाउनु भएका रामअशिष

शिक्षक पेसाबाट पत्रकारिता क्षेत्रमा आउनु भएका रामअषिश यादवलाई राजनीतिमा सफल मानिन्छ । पछि त उहाँले पत्रकारिता र शिक्षण पेसालाई लामो समय सँगसँगै लग्नुभयो । र, उहाँ दुईटै पेसामा सफल हुनु भएको थियो । २०५० सालमा काभ्रेको बागदेवी माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षकको रुपमा काम गर्न थाल्नुएको उहाँले दुई वर्ष त्यहाँको स्कूलमा पढाउनु भयो । स्कूलमा अध्यापन गराउँदै गर्दा उहाँले रेडिया नेपालमा पनि जागिर पाउनुभयो । २०५२ मा धनुषा समाचारदाताको रुपमा रेडिया नेपालबाट नियुक्त लिएपछि मास्टरी छाड्नु भएका रामअषिशका लागि पत्रकारिता त्यति सहज भएन ।
असहज यो रुपमा कि आर्थिक रुपले त्यति सक्षम हुन नसकेको उहाँ बताउनु हुन्छ । उहाँले भन्नुभयो, ‘मास्टरी छाडेर पत्रकारितामा त छिरियो तर आर्थिक रुपले त्यति सहज भएन, पत्रकारिता गर्न जति रमाइलो थियो आर्थिक रुपमा त्यति नै गाह्रो । रेडियो नेपालको जागिरबाट पकेट खर्च पनि चल्दैन्थ्यो त्यही भएर मैले पुनः मास्टरी गर्न थाले ।’ धनुषा कनकपट्टीको सरस्वती माविमा अंग्रेजी शिक्षकको रुपमा काम गर्न थाल्नुभयो ।

पछि त्यहाँबाट सरुवा गराएर श्री सकलभवन कन्या उच्च माविमा जानुभयो । त्यहाँ पनि अंग्रेजी नै पढाउनुभयो । उहाँले शिक्षा कार्यालयबाट अनुमति लिएर पत्रकारिता र शिक्षक पेसालाई सँगसँगै लगि रहनु भएको थियो । प्राथमिकतामा अध्यापनलाई राख्नुभएको थियो भने त्यसबाट बचेको समय पत्रकारितामा दिनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘मेरो प्राथमिकतामा शिक्षक पेसा नै थियो तर फुर्सद हुने वित्तिकै पत्रकारिताका लागि दौडिन्थे । एक किसिमले दुईटै पेसालाई सँगसँगै लगेपनि एकले अर्कालाई कहिले डिस्टर्व गरेन ।’
राजनीतिक र पत्रकारिता
२०७४ मा प्रदेश सभा सदस्यमा चुनाव लड्ने भएपछि उहाँले इमेज च्यानल र शिक्षकको कार्य छाड्नुभयो । रेडियो नेपालमा करिब उहाँले १० वर्ष काम गर्नुभयो । त्यतिबेला देशमा संकटकाल चलिरहेको थियो । पत्रकारिता चुनौतिपूर्ण नै थियो । तैपनि उहाँले सफलतापूर्वक त्यसलाई अगाडि बढाउनुभयो । त्यतिबेला नै टीभी पत्रकारिताको सुरुवात भएको थियो । जताततै टिभी खुल्न थाले । पत्रकारको आकर्षण त्यता बढ्न थालेपछि रामअषिश यादवको पनि आकर्षण बढ्नु स्वभाविक थियो ।
उहाँले पनि रोडियो नेपाल छाडेर इमेज च्यानेलमा काम गर्न थाल्नुभयो । र, मास्टरी पनि चलिरहेको थियो । २०७४ मा प्रदेश सभा सदस्यमा उम्मेदवार बनेपछि उहाँले दुवै कार्य छाड्नु भएको थियो ।
रामअषिशको पारिवारिक राजनीतिक पृृष्ठभूमी काँग्रेस थियो । विद्यार्थी जीवनदेखि नै नेवि संघमा आवद्ध रहनु भएका रामअशिष यादवले भारतबाट ब्याचलर सकाएपछि मास्टरी र पत्रकारिताका साथै काँग्रेसको राजनीतिमा पनि सक्रिय हुनुभएको थियो । घरमा राजनीतिक माहोला नै थियो । त्यहाँ नेताहरु आइरहनु भएको कारणले राजनीति चेतनाको विकास भएको थियो । नेताहरुसँगको सम्पर्कका कारण राजनीतिकका धेरै कुरा थाह पाइसक्नु भएको थियो । मधेश आन्दोलन सुरु भएपछि उहाँले काग्रेस छाडेर मधेशी जनअधिकार फोरम निकट रहेर मधेश आन्दोलनमा होमिनुभयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेसले मधेश आन्दोलनलाई रुचाएको थिएन । मधेशी पहिचान र अधिकारका लागि सुरु भएको मधेश आन्दोलनलाई समाप्त पार्नका लागि काँग्रेसका नेताहरु षड्यन्त्र गर्थे त्यसको कारणले मलाई त्यहाँ बस्न मन लागेन । म मधेशा आन्दोलनमा होमिए ।’ तत्कालिन मधेशी जनअधिकार फोरमको समर्थक भएर त्यसमा काम गर्न थाले । मास्टरी र पत्रकारितामा रहेको कारण राजनीतिमा देखिने गरि सक्रिय भइनन् । २०७४ मा मास्टरी र पत्रकारिता छाडेर फोरममा आवाद्ध भए र चुनाव पनि लडेका थिए । मलाई त्यतिबेला फोरममा प्रदेश सदस्यको जिम्मेवारी दिएको थियो ।
र, नेपालमा राजनीतिक बुझेकाले सहजै पत्रकारिता गर्न सकिन्छ भनि बुझाई रामअशिष यादवको रहेको छ । काँग्रेसमा हुँदा आनन्द ढुङ्गानासँग उहाँको राम्रो सम्बन्ध थियो । राजनीतिक विषयमा वस्तुमा रामअशिष यादवको तर्क हेर्दा आनन्द ढुगांनाले उहाँलाई पत्रकार बन्न सुझाव दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘रामअशिष तिमी राजनीतिमा यति इन्ट्रेष्ट लिन्छौं, बोल्ने र तर्क क्षमता हेर्दा त तिमी पत्रकार बन्नुपर्छ जस्तो लाग्छ तिमी पत्रकार नै बन हैं ।’
त्यसपछि उहाँलाई झन पत्रकारिताप्रति रुची बढ्न थाल्यो । रेडियो सुन्न थाल्नुभयो । पत्रपत्रिका पढ्न थाल्नुभयो । कहिले काही लेख्ने काम पनि गर्नुहुन्थ्यो । २०५२ मा पत्रकार बन्ने मौका आउने बित्तिकै मास्टरी जस्तो पेसा छाडेर त्यसमा लाग्नुभयो । उहाँले केही साथीहरुसँग मिलेर जनकपुर टेलिभिजन र जनकपुर एफएम खोल्नु भएको थियो । उहाँले टेलिभिजन र एफएममा कार्यक्रम चलाउनु हुन्थ्यो ।
प्रदेश सभाको सदस्यमा चयन भएपछि इमेज च्यानेल छाडेपनि जनकपुर टेलिभिजन र जनकपुर एफएम छाड्नु भएन । एउटा सञ्चालकको रुपमा त्यसमा अझै हुनुहुन्छ । उहाँ २०६६ मा नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्ष पनि बन्नुभएको थियो । तीन वर्ष सफलतापूर्वक महासंघलाई चलाउन सफल उहाँले अध्यक्ष बन्नुअघि महासंघको साधारण सदस्य र पछि केन्द्रीय पार्षदसम्म बन्नुभएको थियो ।
जनकपुरका सिनियर पत्रकारहरुले महासंघको अध्यक्षमा आउन भन्नु भएपछि आफू त्यसमा गएको बताउँदै उहाँले महसंघको आफ्नो कार्यकाल पूर्णरुपमा सफल रहेको त्यसमा जनकपुरका हरेक पत्रकारले सहयोग पुर्याउनु भएको बताउनुभयो ।
प्रदेश सभा सदस्य
२०७४ मा धनुषा क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा सदस्यका लागि फोरमबाट टिकट पनि पाउनुभयो । करिब १८ हजार मतले रामअशिष यादव विजय हुनुभयो । उहाँले एमालेका रामचन्द्र मण्डललाई हराउनु भएको थियो । मण्डलको मत नौ हजार मात्र थियो । उहाँले प्रदेश सभा सदस्य पनि सफलतापूर्वक निर्वाह गर्नुभयो ।
समाजिक रुपान्तरणका लागि राजनीति आउनु भएका रामअशिष यादव नेल्सना मण्डेला र भिमराव अम्बेडकरबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएको छ । उहाँ दुईजनाले जीवनमा गर्नुभएको संघर्ष र समाज रुपान्तरका लागि गर्नुभएको कामबाट प्रभावित हुनुभएको छ । उहाँ प्रदेश सभाको पहिलो कार्यकालमा शिक्षा, महिला, पर्यावरण र किसानको क्षेत्रमा काम गर्नुभएको छ । इजोत दलित निशुल्क ट्युशन सेन्टर खोलेर दलित समुदायका बालबालिकालार्य निशुल्क पढाउने गर्नुहुन्थ्यो । विद्यालयको भौतिक पूर्वाधार निर्माणका साथै शिक्षकलाई प्रोत्साहन र प्रशिक्षण दिने काम पनि गर्नुभयो ।
उहाँले वतावरण मैत्री विद्यालय अभियान चलाउनुभयो । आफ्नो चुनावी क्षेत्रको प्रायः विद्यालय तथा अन्य बाहिरको स्कूलमा वृक्षा रोपण गर्नुभयो । उहाँ भन्नुहुन्छ, पाँच वर्षको अवधिमा करिब ५० भन्दा बढी स्कूलमा वृक्षारोपण गरेको छु । विद्यालयबाहेक अन्य ठाउँमा पनि वृक्षरोपण गरेको छु रोडसाइट प्लान्टेशनको काम पनि गरेको छु । त्यो बेला करिब पाँच हजार भन्दा बढी विरुवा रोपे ।’
गर्भवती महिलालाई सम्मान गर्ने काम गर्नुको साथै त्यसको चेक जाँच गराउने काम पनि उहाँले गर्नुभयो । महिललाई समाजमा कसरी चेतना बढाउन सकिन्छ, उसको आफ्नो हक अधिकारको विषयमा प्रशिक्षण दिने काम पनि गर्नुभयो । उसको अधिकार क्षेत्रको बारेमा पनि जानकारी गराएको उहाँले बताउनुभयो । किसानका लागि विज्ञहरु ल्याएर प्रशिक्षण दिलाउने काम गरेको बताउँदै उहाँले कृषिमा आत्मनिर्भर कसरी हुनसक्छ त्यसको बारेमा किसानलाई अभिप्रेरित गर्ने काम पनि गर्नुभयो ।
गंगा आरती र सरसफाइ
रामअशिष यादव मास्टरी र पत्रकारिताका साथै राजनीतिलाई पनि साथ साथै लाग्नुभएको थियो, त्यसबाहेक उहाँले पोखरीहरुलाई सरसफाई गर्ने कार्यमा पनि लाग्नुभयो । त्यतिबेला उहाँले आफ्नो मेडिया पनि सञ्चालन गर्नभएको थियो । सबै काम भ्याएर समाज सेवामा पनि त्यतिकै सक्रिय हुनुहुन्थ्यो । भारतका नरेन्द्र मोदी प्रधानमन्त्री नभएको बेला गंगा सफाई अभियान चलाउनु भएको थियो । त्यो अभियानबाट रामअशिष यादव प्रभावित हुनुभएको थियो ।
त्यो अभियानबाट प्रभावित भएर २०७० फागुन ११ गते जनकपुरको गंगा सागर सफाई अभियान चलाउनु भयो । ५–६ महिनलाई गंगा सागर सफाई गर्नुभयो । त्यहाँ घाट निर्माण गरेर २०७१ जेठ २५ गतेदेखि गंगा आर्तीको सुरुवात गर्नुभएको थियो । त्यो बेलादेखि निरन्तर त्यो आरती कार्यक्रम चलिरहेको छ । सेभ हिस्टोरिकल जनकपुरधाम नामको संस्था गठन गरेर सरसफाई तथा आरतीको अभियान सञ्चालनमा आएको हो । उहाँले जनकपुरबाहेक अन्य ठाउँमा पनि पोखरीको सरसफाई गर्नुको साथै आरतीको कार्यक्रम उहाँले सञ्चालन गर्नुभएको छ ।
उहाँका अनुसार हालसम्म १२ भन्दा बढी पोखरीलाई सरसफाई गरिएको छ । महोत्तरीको लक्ष्मी सागर पोखरी सफाई गराइएको छ । त्यहाँका मेयर हरीप्रसाद मण्डलले आरतीको कार्यक्रमको सुरुवात गर्नुभएको छ । त्यस्तै जलेश्वर नाथमा पनि आरतीको सुरुवात उहाँले गराउनुभएको छ । हलेसी महादेव स्थानमा पनि उहाँको अगुवाईमा आरतीको सुरुवात भएको छ । उहाँले यी सबै काम प्रकृति र संस्कृति संरक्षणका लागि गरिरहनु भएको छ । पोखरी सरसफाई तथा आरती गराउने अभियान जारी रहेको छ । उहाँ प्रदेश सांसद भएपनि यो अभियानलाई निरन्तर चलाई रहनुभयो ।
प्रदेश सासद भएर उहाँले गरेका समाजिक काम तथा प्रदेश सभामा उहाँको लगनशिलता देखेर प्रदेश सभाले उहाँलाई उत्कृष्ट प्रदेश सभा सदस्यको रुपमा सम्मान गरेको छ ।
२०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा चुनावमा पनि उहाँले सोही क्षेत्रबाट चुनाव जित्नुभयो । ११ हजार ६१४ मत ल्याएर उहाँले जित्नुभयो । उहाँका प्रतिद्वन्दी श्यामकुमार यादव पराजित हुनुभयो । उहाँले नौ हजार मत ल्याउनुभएको छ । पहिलो चुनाव भन्दा करिब ६ हजार मत काम ल्याउनु भएको छ रामअशिष यादवले । उहाँले भन्नुभयो, ‘श्याम यादवजी माओवादी–काँग्रेस गठबन्धनको साझा उम्मेदवार हुनुहुुन्थ्यो उहाँले मेरो मत खासै काट्नुभयो विगतभन्दा ६ हजार मत कम आएको त्यो मत जनमत पार्टीले काटेको छ ।’
रामअशिष यादव यसपटक मधेश प्रदेशको मुख्यमन्त्रीका लागि प्रयास गर्नुभएको थियो तर पार्टीले उहाँलाई यसपटक सरोजकुमार यादवालाई सहयोग गर्न भनेको थियो र उहाँले त्यस्तै गर्नुभयो । उहाँले भन्नुभयो, ‘वेटिङ सीएम’ को रुपमा छु ।’ पार्टीका सीपाही भएको कारणले पार्टीको निर्देशन र कार्यक्रम अनुसार आफू अगाडि बढेको उहाँले बताउनुभयो । पार्टीले जे निर्देशन दिन्छ त्यही गर्ने बताउँदै उहाँले राजनीतिमा हतार गर्नुभन्दा पनि धैर्य गर्न सिक्नुपर्ने बताउनुभयो । यदि आफूले राजनीतिमा धैर्य नगरेको भए जनताले दुईपटक लगातार पत्याउनु हुन्थेन, जनताको शक्तिले टिकेको बताउनुभयो ।
परिवार
बुवा स्वर्गीय रामलखन यादव र आमा स्वर्गीय दौलतीया देवी यादवका कान्छो छोरा रामअशिष यादवका नौ जना दाजु र एकजना दिदी हुनुहुन्छ । रामअशिष यादवको विहे भारत विहार सोनपुरका उषा यादवसँग भएको हो । उहाँका दुईजना छोरा र दुईजना छोरी छन् ।

तपाईको प्रतिक्रिया