Khadya Bibhag

एक पटक लडेपछि पुनः उठ्नु हुँदैन भनि कहाँ लेख्या छ ?

जनताका लागि राजनीतिक गरेपछि फलानै क्षेत्रबाट चुनाव लड्नुपर्छ भने होइन । जहाँबाट पनि चुनाव लड्न सक्ने क्षमता बनाउनुपर्छ । मेरो लागि सब ठाउँका मतदाता, जनता बाराबर हुन् ।

–उपेन्द्र यादव
अध्यक्ष, जनता समाजवादी पार्टी नेपाल,,  

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव चर्चाको केन्द्रबिन्दुमा रहनुभएको छ । रामसहाय यादव उपराष्ट्रपतिमा चयन भएपछि बारा २ नम्बर क्षेत्र खाली भएको छ । त्यहाँ बैशाख १० गते उपचुनाव हुन गइरहेको छ । त्यहाँ जसपाका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिने चर्चाले राष्ट्रिय–अन्तरराष्ट्रिय रुपमा त्यसले ठाउँ लिएको छ । तर हालसम्म (चैत १३ गते) उपेन्द्र यादव त्यहाँ उम्मेदवारी दिने नदिने विषयमा टुगों लागेको छैन । प्रस्तुत छ, बारा २ को उपचुनाव, अन्य पार्टीसँग गठबन्धन तथा सहकार्यलगायतको विषयमा केन्द्रीत रहेर जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहारा टाइम्सले गरेको कुराकानीको सम्पादीत अंशः

उपराष्ट्रपति रामसहाय यादव बन्नुभयो तर चर्चा तपाईको भइरहेको छ । कारण रामसहाय यादव जितेको क्षेत्रबाट तपाई चुनाव लड्दै हुनुहुन्छ के यो सही हो ?
–जनता समाजवादी पार्टी नेपालले उपराष्ट्रपतिमा रामसहाय यादवलाई उम्मेदवार बनायो । र, उहाँ अत्याधिक मत पाएर उपराष्ट्रपतिमा विजय हुनुभयो । पार्टीको लागि यो धेरै ठूलो उपलब्धी हो र गौरवको कुरा हो । पार्टीका साथै देशकै लागि गौरवको विषय बनेको छ । समावेशी हिसाबले रामसहाय यादव उपराष्ट्रपतिमा देशकै गहनाको रुपमा आउनु भएको छ । त्यसले उहाँको साथै पार्टीको चर्चा हुनु स्वभाविक हो । देशले गर्व गर्ने लायकको काम जसपाले गरेको छ । जहाँसम्म रामसहाय यादव छाडेको क्षेत्रमा मेरो उम्मेदवारीको चर्चा छ । त्यो चर्चाको विषय मात्र हो । पार्टीले हालसम्म त्यसको बारेमा कुनै निर्णय गरेको छैन । मैले पनि त्यसको बारेमा अहिले केही सोचेको छैन कुनै ‘माइन्ड मेकअप’ छैन । पार्टी र पार्टीबाहिरका साथीहरुले चर्चामा ल्याउनु भएको छ । तर पार्टीलाई आवश्यकता महसुस भयो मेरो लागि वा अरु कसैको लागि निर्णय गर्न सक्छ ।

पार्टीले बारा–२ मा तपाईको आवश्यकत छ, तपाईले उम्मेदवारी दिनुपर्छ भनि निर्णय गर्यो भने उम्मेदवारी दिनुहुन्छ किन दिनु हुन्न ?
–पार्टीले के निर्णय गर्छ त्यो हेरौं अनि भनौला । पार्टीको निर्णय आउन बाँकी छ त्यसैले त्यसमा हतार गर्नुहुँदैन । पार्टीमा म मात्रै छैन अरु साथीहरु पनि हुनुहुन्छ उहाँहरुले बारा २ को बारेमा केही निर्णय गर्नुहुन्छ । त्यसपछि यसको बारेमा प्रतिकृया दिउँला ।

तपाई संसद बन्नकै लागि बारा २ नम्बर क्षेत्र खाली गराउनु भएको भनि आरोपहरु लागि रहेका छन् नि के भन्नुहुन्छ ?
–त्यस्तो केही छैन । त्यो निराधार आरोप हो । उपराष्ट्रपतिका लागि रामसहाय यादव उपयुुक्त पात्र हुनुहुन्थ्यो र उहाँ सो पदमा जानुभयो । यदि म आफ्नो लागि उहाँलाई उपराष्ट्रपति बनाएको हो भन्नु भनेको उहाँको र उहाँको पदको अपमान हो । उहाँ स्वच्छ छवीका संघर्षशिल व्यक्ति हुनुहुन्छ । पार्टी, संगठन, समाजप्रति जिम्मेवार व्यक्ति हुनुहुन्थ्यो । लामो समयदेखि उहाँ त्याग र बलिदान दिँदै आउनु भएको छ । उहाँको लोभ लाग्दो सादा जीवन छ । लोकतन्त्र, संघीय, गणतन्त्र र धर्मनिरपेक्षताप्रति प्रतिवद्ध हुनुहुन्छ ।

त्यसका लागि उहाँले लामो समय संघर्ष गर्नुभएको छ । उहाँको जीवनशैलीबाट धेरैले धेरै कुरा सिक्नुपर्ने देखिन्छ । त्यसैले उहाँ उपराष्ट्रपतिका लागि उपयुक्त पात्र हुनुहुन्थ्यो त्यही भएर पार्टीले उहाँलाई सिफारि गरेको छ । उपराष्ट्रपति भएपछि त्यहाँ भएको खाली भएको ठाउँमा जानका लागि पार्टीको स्वभाविक दावी रहन्छ तर पार्टीले त्यहाँ कसलाई पठाउँछ त्यसको निर्णय आउन बाँकी छ । तनहुँ–१ बाट चुनाव जित्नु भएका रामचन्द्र पौडेल राष्ट्रपति बन्नुभएको छ । के त्यहाँ अरु कोही जानका लागि उहाँलाई राष्ट्रपति बनाइएको हो त, होइन नि । त्यसरी नै कोई चुनाव लड्न वा संसदमा जान रामसहाय यादवलाई उपराष्ट्रपति बनाइएको होइन । यो हल्ला त विरोधी समूहहरुले मात्र फिजाइ रहेका छन् ।

उपराष्ट्रपति भएपछि त्यहाँ भएको खाली भएको ठाउँमा जानका लागि पार्टीको स्वभाविक दावी रहन्छ तर पार्टीले त्यहाँ कसलाई पठाउँछ त्यसको निर्णय आउन बाँकी छ । तनहुँ–१ बाट चुनाव जित्नु भएका रामचन्द्र पौडेल राष्ट्रपति बन्नुभएको छ ।

फेरि त्यही प्रश्न, तपाईको लागि निर्णय भयो भने उम्मेदवार बन्नुहुन्छ ?
–निर्णय आयोस् न । जनताको भावनालाई म सधै सम्मान गर्छु । जनताले मलाई जहाँबाट चुनाव लड्न भन्छ, म त्यहीबाट चुनाव लड्छु । जनताले नभनेसम्म म चुनाव लड्न जाँदिन । जनताको भावना बुझेर पार्टीले निर्णय गर्छ । पार्टीको निर्णय आउन बाँकी छ । सत्ता गठबन्धनले पनि यसमा निर्णय गर्नुपर्ने हुन्छ । गठबन्धनले के निर्णय गर्छ त्यसको आधारमा पनि पार्टी अगाडि बढ्छ ।

एकपटक तपाई चुनाव हारिसक्नु भएको छ फेरि चुनाव लड्न तपाईलाई किन हतार भयो ?
– व्यक्तिगत रूपमा साथीहरूलाई भन्छु, पाँच वर्ष मलाई पार्टी निर्माणको काम गर्न दिनुस् । त्यो पक्षमा म अझै पनि छु । मैले चुनावका लागि ‘माइन्ड मेकअप’ गर्न बाँकी नै छ । तर राजनीतिमा आवश्यकता अनुसार काम गर्ने हो । भोलि गठबन्धन र पार्टीले आवश्यकता ठान्दा सोच्ने कुरा आउँछ । के एक पटक मान्छे हारेपछि सधैंका लागि हार्छन् त ? एक पटक लडेपछि पुनः उठ्नु हुँदैन भनि लेख्या छ र ? होइन नि । सधै जित्नुपर्छ भन्ने पनि होइन । सधै हारि रहनु पर्छ पनि होइन । जीवनमा हार–जीत एकै सिक्का दुई पाटा हुन् । जो साथसाथ हिडिरहेका हुन्छन् । एक पटक हारेपछि जित्नका लागि फेरि प्रयास गर्नुपर्छ ।

सुरुमा मोरङ, त्यसपछि सुनसरी, अनि सप्तरी अहिले बारा, यस्तो किन ? तपाईलाई बहरिया उम्मेदवारको आरोप लाग्ने गरेको छ नि ?
–जनताका लागि राजनीतिक गरेपछि फलानै क्षेत्रबाट चुनाव लड्नुपर्छ भने होइन । जहाँबाट पनि चुनाव लड्न सक्ने क्षमता बनाउनुपर्छ । मेरो लागि सब ठाउँका मतदाता, जनता बाराबर हुन् । जनताले बोलाएपछि म जहाँबाट पनि चुनाव लड्न सक्छु । नेता एउटा क्षेत्रमा मात्र सिमित हुुनुहुँदैन । जनताले बोलाएपछि जहाँ पनि जानुपर्छ । जसले बहरिया उम्मेदवारको आरोप लगाउँछन, उसको पूर्वाग्रही सोच हो । त्यसको बारेमा म टिप्पणी गर्न चाहन्न ।

सत्ता गठबन्धनले जसपाको उम्मेदवारलाई साझा उम्मेदवार बनाउँछ त ?
–अहिले त्यस विषयमा छलफल सुरु भएको छैन । प्रयास त्यही हुन्छ कि जसपाले सिफारिस गरेको उम्मेदवारलाई साझा उम्मेदवार बनाइयोस् तर हालसम्म गठबन्धनको बैठक बसेको छैन । कुनै छलफल सुरु भएको छैन । छलफल सुरु भएपछि उपचुनावको एजेण्डा प्रवेश हुन्छ ।

तपाईले पछिल्लो समय काँग्रेस, माओवादी, एमालेसँग मिल्नु भएको छ तर मधेश केन्द्रीत दलसँग मिल्न चाहनु भएको छैन भनि गुनासो छ ?
–यो गुनासो कसले गरे थाह छैन । तर जसपा पार्टी जहिले पनि एकता, सहकार्यको पक्षमा छ । जोसँग मुद्दा, विचार, सिद्धान्त मिल्छ उसँग सहकार्य र आवश्यकता पर्यो भने एकता पनि गर्न सक्छ र जसपाले त्यो गरिरहेको पनि छ । चुनावको अघि र पछि पनि जसपाले एकता वा मोर्चाबन्दीका लागि दलहरुसँग छलफल गर्नका लागि वार्ता समिति नै बनाएको थियो । त्यो वार्ता समिति अझै पनि काम गरिरहेको छ । चुनावको बेला पनि हरेक दलसँग छलफल गरेको हो तर कसैको ध्यान गठबन्धनतिर गएन आआफ्नै डम्फु बजाउन थाले । त्यसपछि काँग्रेस, एमाले, माओवादीसँग चुनावी गठबन्धन भयो । समय परस्थिति र आवश्यकता अनुसार जोसँग अनुकुल भयो त्योसँग हामीले सहकार्य गर्यौं । मधेश केन्द्रीत दलसँग पनि सहकार्यका लागि प्रयास भइरहेको छ । आवश्यकता अनुसार सहकार्य हुन्छ ।

जनमत पार्टीसँग सहकार्यको सम्भावना कति छ ?
–अहिले छैन । जनमत पार्टीसँग हाम्रो विचार, सिद्धान्त, उद्देश्य, स्प्रिट मेल खाँदैन । जनमत पार्टी अहिलेसम्म के का लागि राजनीति गरिरहेको छ त्यो नै स्पष्ट छैन । त्यो पार्टीका दस्तावेज तथा नेताहरुले बेलाबेलामा दिइरहनु भएको अभिव्यक्ति सुन्दा राजनीतिक उद्देश्य अझै स्पष्ट छैन ।

जनमत पार्टी त अलग मधेश बनाउनका लागि आन्दोलन गरेर आएको पार्टी हो नि । जसले देश नै टुक्राउने भनि उद्देश्यले लिएर राजनीति सुरुवात गरे त्यसको भविष्य कस्तो हुन्छ अनुमान गर्न सक्नुहुन्छ । जसको उत्पत्ति जे रुपमा हुन्छ त्यही अन्त्यसम्म जान्छ । चाहे रंग जस्तोसुकै फेरे पनि फरक पर्दैन ।

आँप रोेपेपछि आँपै फल्छ नि कि त्यसमा कटहर फल्छ ? कहिले काही आँप न फल्न सक्छ, पतझर हुन्छ, डढेलो लाग्छ, बाँझो हुन्छ, रुख मर्न सक्छ तर त्यसको अरिजन जे छ त्यही रहिरहन्छ । त्यसैले हाम्रो पार्टीसँग जनमत पार्टीको उद्देश्य, विचार मेल खाँदैन, अहिले सहकार्यका लागि सम्भव छैन । अन्य पार्टीहरुसँग पहिला पनि पटक पटक सहकार्य भएको हो । धेरै हदसम्म हाम्रो विचार र मुद्दा मिल्छ । आवश्यकता अनुसार हामी सहकार्य गर्नसक्छौं । अनौपचारिक रुपमा ती दलहरुसँग कुराकानी चलिरहेको छ ।

जनमत पार्टीबाट तपाई त्यस्तो आरोप लगाउनुभयो तर जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीबीच गठबन्धन नै बनेको छ नि ?
–कस्तो गठबन्धन बनेको छ, त्यो सबैलाई थाह छ । मैले पनि सञ्चारमाध्यमबाट थाह पाएको हो । गठबन्धन त बनेको छ तर आजसम्म एकपटक बैठक पनि बसेको छैन । कुनै एजेण्डामा सहकार्य भएको छैन । उपराष्ट्रपतिको चुनावमा लोसपा र नागरिक उन्मुक्ति पार्टी एकातिर र जनमत पार्टी अर्कोतिर लागे । यसैबाट बुझ्नुस् कि त्यो कस्तो गठबन्धन बनेको हो । म कुनै गठबन्धनको विरोधी होइन । गठबन्धन बन्नुपर्छ तर कम से कमन मिनिमम धारणा त मेल खानु पर्यो नि । कमन कुराहरु पनि मिल्दैन भने त्यस्तो सहकार्य र गठबन्धनको कुनै अर्थ राख्दैन ।

माओवादी, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाबीच समाजवादी केन्द्र बनाउने कुरा चलेको थियो त्यो कहाँ पुग्यो ?
–त्यसमा छलफल चलिरहेको छ । समाजवादी केन्द्रको आवश्यकता छ कि छैन जस्ता विषयमा विचार विमर्श चलिरहेको छ । यदि त्यसको आवश्यकता भयो भने समाजवादी केन्द्र पनि बन्छ नभए सहकार्य वा एकता पनि हुनसक्छ । तर तत्काल एकता सम्भव छैन । अहिले समाजवादी मोर्चा बनाएर सहकार्य गर्दै जाउँ, सहकार्य गर्दै जाँदा मुलुकको हितमा कति काम गर्न सकिन्छ । एक आपसमा विश्वास, एक अर्कालाई बुझ्ने, वैचारिक, सैद्धान्तिक रूपमा पनि छलफल गर्दै जाने भनेर एउटा समाजवादी मोर्चा निर्माण गर्ने कुरा चलिरहेको छ ।

नेकपा एकिकृत समाजवादी पार्टीसँग एकताकै लागि प्रयास भइरहेको छ । एकताका लागि दुवै पार्टीमा वार्ता समिति बनेको छ नि त्यसको प्रकृया कहाँ पुग्यो ?
–वार्ता समितिले त्यसको बारेमा गृहकार्य गरिरहेको छ । एक अर्काको दस्तावेज तथा राजनीतिक प्रतिवेदन अध्ययन गर्ने काम साथीहरुले सकाउनु भएको छ । त्यसको प्रतिवेदन तयार हुँदैछ । प्रतिवेदन कस्तो आउँछ त्यसको आधारमा अगाडि बढ्ने कार्य हुन्छ । एकता नभए मोर्चाबन्दी वा सहकार्यका लागि छलफल हुन्छ । सबै अप्सनमा कुराकानी भइरहेको छ ।

अन्त्यमा भन्दिनुस् न बैशाख १० हुने बारा–२ को उपचुनावमा जसपा नेपाल विजय हुन्छ त ?
–१०० प्रतिशत । जसपाको त्यो गढ हो । त्यहाँ पटक पटक जित्दै आएको छ । त्यहाँ राम्रो संगठन छ । जसपाप्रति त्यहाँ आकर्षण छ । हाम्रो पार्टीबाट जित्नु भएका रामसहाय यादव उपराष्ट्रपति बनेपछि त्यो क्षेत्र खाली भएको छ । स्वभाविक रुपमा त्यहाँ हाम्रो पहिलो दावी रहनेछ । तर त्यस विषयमा गठबन्धनको निर्णय आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया