यसरी उठाउँछन् सिके राउतले वैदेशिक रोजगारमा गएकाहरुबाट करोडौ रकम !
१७ चैत्र २०७९, शुक्रबार २२:०७
–भोला यादव
नेपालमा रहेका साना ठूला सबै दल भन्दा बढी खर्च गर्ने पार्टी डा.सिके राउतले नेतृत्व गरेको जनमत पार्टी देखिएको छ । अन्य पार्टीभन्दा जनमत पार्टीले नै सबैभन्दा बढी कार्यक्रम गरिरहेका हुन्छन् । जनमत पार्टीमा नै सबैभन्दा तडक भडक हुन्छ ।
सो पार्टीले दैनिक रुपमा कुनै नकुनै कार्यक्रम वा आन्दोलन गरि नै रहेका हुन्छन् । त्यसमा लाखौ रुपियाँ खर्च हुन्छ ती सबै कहाँबाट आउँछन् ? जनमत पार्टीका अध्यक्ष सिके राउतको आफ्नै व्यक्तिगत खर्च महिनाको लाखौ रुपियाँ पर्छन् ती कहाँबाट आउँछन् ? यो कुराको जानकारी पार्टीका कुनै पनि सदस्यलाई छैन । ती रकमहरुको कुनै पारदर्शिता नरहेको गुनासो पार्टीभित्र र बाहिर रहेको छ ।
सिके राउतले यत्रो रकम कहाँबाट ल्याउँछन् यो प्रश्न उठ्न थालेपछि सहारा टाइम्सले यसलाई खोत्लने प्रयास गरेको छ । जनमत पार्टीको सबभन्दा ठूला आयस्रोत वैदेशिक रोजगारीमा गएका मधेशीहरु हुन् । वैदेशिक रोजगारमा गएकाहरुबाट सिके राउतले करोडौ रुपियाँ उठाउनु हुन्छ । सिके राउत अमेरिकामा कार्यरत रहँदा उहाँले गैरअवासीय मधेशी संघ भन्ने अन्तराष्ट्रिय संस्था खोल्नु भएको थियो । अमेरिकामा खोलिएको सो संस्था अन्य देशमा पनि विस्तार भयो । सोही संस्थामार्फत राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा गतिविधि बढाउँदै जानु भएका सिके राउत पछि त्यही संस्थामार्फत नेपालमा स्वतन्त्र मधेश गठबन्धन सञ्चालन गर्न थाल्नुभयो ।
सिके राउतले नेपालबाट मधेश अलग गर्ने, मधेशलाई छुट्टै देश बनाउने, मधेशमा आफ्नै शासन, प्रशासन बनाउने, घरघरमा रोजगारी दिलाउने जस्ता नारा दिएर सोही संस्थामार्फत स्वतन्त्र मधेश गठबन्धन सञ्चालन गर्ने भनेपछि मधेश मुक्तिको नाममा वैदेशिक रोजगारमा गएका तथा विदेशमा बसेका मधेशीहरुले लाखौ रुपियाँ सहयोग तथा चन्दा दिन थाले ।
गैरअवासीय मधेशी संघमा आवद्धले आजिवन सदस्यले मासिक १००, पाँच वर्षका लागि सदस्य बनेका मासिक ५० र साधारण सदस्यले मासिक २५ रियाल लेबीको रुमपा बुझाउने गरेको छ । यही अनुपातमा अन्य देशबाट पनि लेबी उठाउने गरेको छ । मधेशको नाममा जति मागेपनि त्यति पैसा विदेशमा रहेका मधेशीहरुले दिन थालेपछि सिके राउतले अमेरिका छाडेर स्वतन्त्र मधेशका नाममा नेपालमा गतिविधि गर्न थाल्नु भएको उहाँका साथमा काम गरेका नेताहरु बताउनु हुन्छ ।
मधेशलाई स्वतन्त्र देश बनाउन जनमतसंग्रहको माग गर्ने, मधेशलाई नेपालबाट अलग गरेर छुट्टै देश बनाउने, आफ्नो छुट्टै देश भएपछि वैदेशिक रोजगारीमा जानुपर्दैन स्वदेशमै काम पाइन्छ, रोजगारीका लागि मधेशमा कारखाना खोल्ने जस्ता काम गर्न करौडो रकम चाहिन्छ, त्यसमा तपाईहरुले सहयोग नगरे केही गर्न सकिदैन भन्दै विदेशमा रहेका मधेशीहरुसँग रकम उठाउने गरेको सिके राउतका साथमा लामो समय काम गरेका जासर यादवले बताउनुभयो ।
सिके राउत मुलधारको राजनीतिमा आएपछि उहाँको साथ छाड्नु भएका महोत्तरीका जासर यादव स्वतन्त्र मधेश गठबन्धनमा भएको बेला विभिन्न खाडी मुलुकमा आफै गएर पैसा उठाएर ल्याउनु हुन्थ्यो । उहाँले भन्नुभयो, ‘सिके राउतले भनेको आधारमा साउदी, कतार, मलेसिया, ओमान जस्ता देशमा गएर मधेशी लेबरहरु बस्ने क्याम्पमा गएर सिके राउतको योजनाहरु सुनाउँथे र सदस्य बनाएर लेवीवापतको रकम लिएर आउँथे ।’
सिके राउतले कहिले के नाममा त कहिले के नाममा वैदेशिक रोजगारमा गएकाहरुबाट लाखौ रुपियाँ असुल गर्न लगाउनु हुन्थ्यो र नेपालमा विभिन्न व्यक्तिको नाममा रहेको खातामा पठाउन लगाउनु हुन्थ्यो । जासर यादव भन्नुहुन्छ, ‘अहिले पनि मसँग त्यस्ता ती बील र चेकका फोटोहरु सुरक्षित छन्, सिके राउतले कहिले आफ्नो खातामा त कहिले आफन्तको खातामा त कहिले कसको खातामा पैसा पठाउन लगाउनु हुन्थ्यो जब उहाँमाथि राजद्रोहको मुद्दा लाग्यो र खाताहरु रोक्का भएपछि आफन्तहरुको खातामा पैसा मगाउनु हुन्थ्यो ।’
वैदेशिक रोजगारमा गएकाहरुबाट यति रकम उठाएर नेपाल ल्याउनु भएको छ कि सिके राउतलाई तीन पुस्ता पुग्ने गरि पैसा जम्मा भएको जासर यादवको दावी छ । जासर यादव अहिले लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध हुनुहुन्छ ।
गैरअवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष शम्भुनाथ साहले बहराइन, चीन, फ्रान्स, भारत, आइल्याण्ड, इटली, जपान, जोर्डन, कुवेत, मलेसिया, माल्दिभ्स, ओमान, पोल्याण्ड, पोर्चुगल, कतार, रोमानिया, साउदी, साउथ कोरिया, स्विडेन, युएइ, युके, युएसए, बंगलादेशलगायत विश्वका ४२ देशमा आफूहरुको संगठन रहेको दावी गर्दै त्यसमा आवद्ध सबै सदस्यहरुले संगठनका लागि लेबी तिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।
अहिले त्यसमा करिब दुईदेखि तीनलाख सदस्य आवद्ध छन् । ती सबैका लागि लेबी तोकिएको छ तर अनिवार्य छैन, उहाँले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘ गैरअवासीय मधेशी संघमा अवद्ध सबै सदस्यले लेबी तिर्नुपर्ने व्यवस्था गरिएको छ तर अनिवार्य छैन, महिनाको करिब तीनदेखि चार लाख रुपियाँ उठ्छन् ।’ पहिला अनिवार्य जस्तै थियो तर अहिले त्यस्तो अनिवार्य छैन, जसलाई मन लाग्छ दिन्छन्, जसलाई मन लाग्दैन दिँदैन, कसैलाई करकाप नगरिएको उहाँले बताउनुभयो ।
देशको त्यहाँको रुपियाँ अनुसार लेबीको व्यवस्था गरिएको छ । गैरअवासीय मधेशी संघ अहिले सिके राउत अध्यक्ष रहेको जनमत पार्टीका भातृ संगठन बनेको छ । गैर नाफा मुलक संस्था भनिएको छ । तर यो एउटा भातृ संगठनको रुपमा काम गरिरहेको छ ।
जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले पनि विदेशबाट जनमत पार्टीले लेबी उठाउने गरेको स्विकार गर्नुभयो । विभिन्न देशबाट मासिक रुपमा २५ देखि १०० रियाल उठाउने गरेको बताउँदै उहाँले भन्नुभयो, ‘विदेशबाट मासिक रुपमा कति रुपियाँ आउँछ त्यो भन्न मिल्दैन तर यति भन्नसक्छु विदेशमा गैरअवासीय मधेशी संघसँग आवद्ध रहेका सदस्यहरुले मासिक रुपमा लेवी बुझाउँछन् ।’
विदेशबाट आउने पैसाले पार्टी सञ्चालनमा खर्च हुने गरेको छ । पार्टी सञ्चालन गर्न मासिक लाखौ रुपियाँ खर्च हुन्छ ती सबै त्यहीको लेबीबाट हुने गरेको बताउँदै उहाँले मासिक कति रुपियाँ त्यहाँबाट आउँछन् त्यो बताउन चाहनु भएन । उहाँले भन्नुभयो, ‘म पहिला विदेशमा हुँदा त्यसको व्यवस्थापन हेर्थे म अहिले त्यहाँ छैन नेपाल बस्न लागेको छु, अब त्यहीका साथीहरु ती रकमहरुको व्यवस्थापन गरिरहेका छन् कति उठाउँछन् कति पठाउँछन् उहाँहरुलाई नै थाह छ ।’
गैरअवासीय मधेशी संघका अन्तराष्ट्रिय अध्यक्ष शुम्भुनाथ साहले विभिन्न देशबाट उठेने रकम संघमा जम्मा हुन्छ, त्यसबाट केही प्रतिशत रकम काटेर अरु बाँकी जनमत पार्टीलाई पठाउने गरेको बताउनुभयो ।
यसरी रकम उठाएको कुरा पार्टी तथा संगठनभित्रै धेरैलाई मन परेको थिएन । संगठनभित्र यो कुरा पटक पटक उठ्ने गरेको थियो । देशमा रोजगार नपाएर मधेशका विभिन्न जिल्लाबाट खाडी मुलुक लगायतका अन्य मुलुकमा गएर मेहनत गरेर दुई चार पैसा कमाएका हुन्छन् तर उहाँहरुलाई विभिन्न आश्वासन दिएर रकम उठाउनु गैर जिम्मेवार काम रहेको भन्दै धेरैले यसको विरोध पनि गरेको थियो ।
त्यसमध्येको एक हुनुहुन्छ डा.रविन्द्र यादव । दुवईमा रहनु भएका रविन्द्र यादव गैरअवासीय मधेशी संघमा महासचिव भएर काम गरिसक्नु भएको छ । यस्तै यस्तै विषयमा सिके राउतसँग कुरा नमिलेमा उहाँ सो संगठन छाड्नु भएको छ । मधेशबाट ऋण लिएर विदेशमा आएर लेबरका काम गर्ने मजदुरसँग पैसा उठाउनु पाप हो, त्यस्तो काम गर्नुहुँदैन बरु कति चाहिन्छ हामी आफै आफैमा चन्दा लगाएर काम चलाऔं तर यी गरिबहरुबाट रकम नउठायौं भनि रविन्द्र यादवले पटक पटक भन्नुभएको थियो तर सिके राउतले मान्नुभएको थिएन । रविन्द्र यादवले विदेशमा स्थापना गर्नुभएको मधेशी एकता समाजको अन्तराष्ट्रिय अध्यक्ष हुनुहुन्छ ।
सिके राउतका साथमा लामो समय काम गर्नुभएका कैलाश महतोले विदेशबाट पैसा उठाउने कार्यलाई आफू पनि पटक पटक विरोध गरेको दावी गर्नुभयो । विभिन्न आन्तरिक बैठकहरुमा आफूलगायत अन्य नेताहरुले पनि सिके राउतको यो कदमको विरोध गर्नुहुन्थ्यो तर उहाँले कसैको कुरा सुन्नु हुन्थेन ।
विदेशबाट लेबीको रुपमा आउने रकमको ठिक ढंगले कहिले हिसाब पनि दिनुभएन, उहाँले भन्नुभयो, ‘स्वतन्त्र मधेश गठनदेखि जनमत पार्टीसम्म आउँदा सिके राउतले आजसम्म कसैलाई कुनै हिसाब दिनुभएको छैन ।’ गैरअवासीय मधेशी संघमा दुई लाखभन्दा बढी सदस्य आवद्ध छन्, हरेकबाट २५ रियालदेखि १०० रियालसम्म उठाउने गर्नुभएको छ, जुन महिनाको नेपाली रुपियाँ १० करोड भन्दा बढी हुने गरेको नेता महतोले दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो काम सिके राउतले करिब १२ बर्षदेखि गर्दै आउनु भएको छ, १२ वर्षमा विदेशबाट कति रुपियाँ उठाईसक्नु भएको होला आफै अनुमान गर्नुस् ।’
विदेशमा काम गर्ने लेबरहरुबाट लेबी उठाएर सिके राउत अर्बपति भइसक्नु भएको छ, तर वैदेशिक रोजगारमा रहेकाहरुलाई दिएको आश्वासन आजसम्म पुरा नगरेको धेरैको गुनासो रहेको छ ।
तपाईको प्रतिक्रिया