उपेन्द्र यादवलाई जिताउन प्रधानमन्त्री प्रचण्डको आग्रह
७ बैशाख २०८०, बिहीबार २१:५२
बारा, वैशाख ७ गते । माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादव देश र मधेशको नेता भएकोले उहाँको जीत हिमाल, पहाड र मधेशको जीत हुने बताउनु भएको छ ।
बाराको गढीमाइमा विहीबार आयोजित पाँच दलीय गठबन्धनको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनका उम्मेदवार उपेन्द्रलाई भारी मतले जिताउन आग्रह गर्नुभएको छ । ‘उपेन्द्र यादव देश र मधेशको नेता हो, समग्र विकास निर्माण कार्य अगाडि बढाउन उहाँको ठूलो योगदान छ, नेपालको राजनीतिक आन्दोलनहरुमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ, अहिले धेरै लडाई लड्नु छ, मधेश, हिमाल र पहाडले जित्दैछ ।’
संसद बिघटनकारी विरुद्ध पाँच दलीय गठबन्धन निर्माण भएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले उपेन्द्रलाई जितेर आउन आफूहरुले नै बारा २ मा पठाएको समेत बताउनुभयो ।
‘उपेन्द्रजीलाई बधाई छ, उहाँको विजयीले देश र मधेशको परिवर्तन र अग्रगमनको विजय हुनेछ’ उहाँले भन्नुभयो ‘निजगढ विमानस्थलको शिलान्यास गरि निर्माण प्रक्रिया अगाडि बढाईनेछ, गढीमाइको विकासका लागि अन्तर्राष्ट्रियस्तरको विकास कोष स्थापना गर्न अगाडि बढ्ने छौं, नागरिकता समस्यालाई गम्भीरताका साथ लिएका छौं, चाडै प्रमाणिकरण हुन्छ, रोक्ने राष्ट्रपति हैन फुकाउने राष्ट्रपति आउनुभएको छ ।’
बन्द रहेको कबै भन्सार खुलाउने पहल आफै गर्ने प्रतिवद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विद्युतीय सिंचाई प्रणालीमार्फत तराई मधेशमा सिंचाई समस्या समाधान गरिने बताउनुभयो । ‘देशको अर्थतन्त्रमा क्रमिक रुपले सुधार हुँदै गएको छ, राजश्व बढ्दै गएको छ, विदेशी मुद्रा संचिति भएको छ’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘भ्रष्टाचार, सुशासन र बेथिति अन्त्य गर्नेछौं, सुशासन, समाजिक न्यायलाई बगाडि बढाउनेछौं, पाँच वर्षमा देशमै रोजगारी दिनेछौं ।’ उपेन्द्रजीलाई जिताउन आग्रह गर्दै उहाँले यहाँहरुको समस्या समाधान गर्न पाँच दल उपेन्द्रजीको साथमा रहेको बताउनुभयो ।
वृहत आमसभामा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपेन्द्र यादव देशकै योग्य नेता भएकोले जनताको सेवा गर्न जिताउन आग्रह गर्नुभयो । ‘उपेन्द्र यादव देश र मधेशको नेता हो, मधेश र मधेशी जनताको अधिकारका लागि पटक पटक उहाँले मसँग झगडा गर्नु भएको छ’ उहाँले भन्नुभयो, ‘उहाँलाई भारी मत अन्तरले जिताउन आग्रह गर्दछु ।’
नेकपा एसका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देश बनाउन, संविधानको रक्षा र जनताको समस्या समाधान गर्न पाँचदलीय गठबन्धन थप मजबुत हुनुपर्ने बताउनुभयो । उपेन्द्र यादव देश र मधेशको नेता भएकोले सबैले अत्यधिक मत दिएर जिताउनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘सबै समुदायको समस्या समाधान गर्न पाँच दलीय गठबन्धन प्रतिवद्ध छ ।’
लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनलले पाँच दलीय गठबन्धनले संविधान संशोधन, नागरिकता सम्बोधन, सामाजिक न्याय, विकास र समृद्धि ल्याउने विश्वास व्यक्त गर्नुभयो । संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा र बारा २ को समग्र विकासका लागि उपेन्द्र यादवलाई जिताउन उहाँले जनतासँग आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस बाराका जिल्ला सभापति राजेश राय यादवको अध्यक्षतामा आयोजित सभामा कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।
तपाईको प्रतिक्रिया