उपेन्द्र यादवले भन्नुभयो, ‘मधेशको नागरिकता समस्याको समाधान अ‍ोलीले हुनु दिनुभएन’

बारा बैशाख ७ गते । बाराका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समग्र विकासकालागि निजगढ विमास्थल निर्माण, स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, सिंचाई, मलखाद, विपन्नलाई आवास लगायतका कामहरु पुरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

बाराको गढीमाइमा विहीबार आयोजित पाँच दलीय गठबन्धनको वृहत चुनावी सभालाई सम्बोधन गर्दै उहाँले निजगढ विमानस्थल निर्माण कार्य अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

मुआब्जा दिएर व्यवस्थित बसोबास गराउनुपर्ने तथा कबैको छोटी भन्सार कोरोना समयमा बन्द रहेकोले चालु गराउन प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराउनुभयो । चुनावी अभियानका क्रममा जनताको घरदैलोमा जाँदा बारा जिल्लामा अत्यन्तै सम्भावना रहँदारहँदै पनि दुःख र अभाव रहेको अनुभूति गर्न पाएको अध्यक्ष यादवले चर्चा गर्नुभयो ।

बारामा धेरै कामहरु गर्न बाँकी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘राजमागदेखि बोर्डर सिमासम्म चार लेनको पक्की सडक जोड्ने, नागरिकताका लागि लडाई लडेकै कारण लाखौंले नागरिकता पाएको हो, राष्ट्रपतिबाट प्रमाणिकरण भईसकेपछि नागरिकता समस्या पनि समाधान हुनेछ ।’

गठबन्धनको यसअघिको सरकारले नागरिकता विधेयक संसदबाट पारित गराएर तत्कालिन राष्ट्रपति विद्यादेवी भाण्डरीसमक्ष प्रस्तुत गरेको तर एमालेका अध्यक्ष केपी शर्मा ओलीको इसारामा त्यसलाई तत्कालिन राष्ट्रपति भण्डारीले प्रमाणिकरण नगरेको दावी गर्नुभयो ।

गढीमाइलाई ऐतिहासिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न गढीमाई विकास कोष स्थापना गरी अन्तरराष्ट्रिय स्तरमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै उम्मेदवार यादवले भने ‘सिंचाई समस्या समाधान गर्न विद्युतीय सिंचाई प्रणाली, किसानलाई मलखाद, घरबारविहिन परिवारलाई जनता आवास योजना तहत घर निर्माण कार्य अगाडि बढाउनु जरुरी छ ।’

गाउँसम्म पुग्ने सडकहरु निर्माण, विद्यालयमा गुणस्तरीय शिक्षा, अस्पताल एवम् हेल्थपोष्टहरुमा गुणस्तरीय सेवालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने जसपा अध्यक्ष समेत रहेका उम्मेदवार उपेन्द्र यादवले बताउनुभयो । जनताले अनुभूति हुने गरी बाराको समग्र विकास र समृद्धिको पथमा अगाडि बढाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता दोहोर्याउनुभयो ।

प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यमा आयोजित वृहत चुनावी सभामा नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल, लोकतान्त्रिक समाजवादी पार्टीका बारा २ का संयोजक मोतीलाल कुशवाहा लगायतले सम्बोधन गर्नुभयो ।

तपाईको प्रतिक्रिया