अभियानका नेता पूर्वेमाथि आक्रमण

काठमाडौँ जेठ ८ गते । राष्ट्रिय एकता अभियानका नेता मनिष पूर्वेमाथि आईतवार राती जनकपुर जाने क्रममा अज्ञात समुहले आक्रमण गरेको छ। अभियानका अध्यक्ष विनय यादवका अनुसार बर्दिवासबाट जनकपुर जाँदै गरेका पूर्वेलाई राती करिव ८ वजे गुडिरहेको सार्वजनिक गाडीमा चारजनाको अज्ञात समुहले विषालु ग्याँस सुँघाएर बहोस बनाई नियन्त्रणमा लिएको थियो ।
उहाँलाई निर्मम कुटपिट गरी मरणासन्न अबस्थामा नजिकैको खोलामा फ्याँकिएको पाईएको अध्यक्ष यादवले जानकारी गराउनु भएको छ ।
होसमा आउँदा आफू खोला किनारमा भएको पूर्वेले बताउनुभयो । उहाँलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। पूर्वेको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको जनाईएको छ।
अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सोमवार विज्ञप्ति जारी गर्दै हिन्दू समाजको सेवामा आफूलाई समर्पित गरेका व्यक्तिमाथिको आक्रमण निर्लज्जताको पराकाष्ठा भएको बताउनुभएको छ । उहाँले स्तब्ध पार्ने यस घटनाको गहिरो र निष्पक्ष छानबिन गर्न सुरक्षा निकायसँग माग गर्नुभएको छ ।
‘यस जघन्य कार्यमा संलग्न अपराधीहरुलाई छिट्टै पहिचान गरी पक्राउ गरी कानुनी दायरामा ल्याउन जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हामी कुनै पनि प्रभाव वा पूर्वाग्रहरहित निष्पक्ष छानबिनको माग गर्दछौं’ ‘हामी स्थानीय समुदाय, कानून ब्यवसायी र आम नागरिकहरूलाई सहयोग गर्न र अनुसन्धानमा मद्दत गर्न सक्ने कुनै पनि जानकारी भए उपलब्ध गराएर सहयोग गर्न पनि अपिल गर्दछौं ।’

तपाईको प्रतिक्रिया