Khadya Bibhag

मोबाइलमा म्यासेज पठाएर पार्टी फुटाउन ककसले दिए सुझाव ?

नेपाली काँग्रेसका महामन्त्री गगन थापा मन्त्री नबन्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्रीको दाबेदार भइसकेपछि नैतिकताले पनि अब मन्त्री बन्नु हुन्न भन्दै उहाँले पटक पटक मन्त्री बन्ने लाइनमा नरहेको भन्दै आउनु भएको छ । तर के शेरबहादुर देउवा काँग्रेसको सभापतिमा रहेसम्म गगन थापा प्रधानमन्त्री बन्ने अवस्था आउनसक्छ त ? पक्कै पनि आउँदैन । यो कुरा महासचिव थापाले पनि राम्रोसँग बुझ्नु भएको छ । शेरबहादुर देउवा काँग्रेस पार्टीमा रहेसम्म प्रधानमन्त्री बन्ने चान्स कसैको आउँदैन भन्ने कुरा महासचिव थापालाईं मात्र होइन, सो पार्टीका अन्य नेतालाई पनि थाह छ । त्यही भएर महसचिव थापाले पटक पटक पार्टीमा पुस्तान्तरको कुरा उठाई रहनु भएको छ ।
आगामी १५ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीका साथ गगन थापा अगाडि बढी रहनु भएको छ । तर देउवको सञ्जाल तोड्न त्यति सजिलो छैन थापाको लागि, त्यही भएर अर्को विकल्प भनेको नयाँ पार्टी नै हो । स्रोतका अनुसार उहाँले नयाँ पार्टी बनाउने बारे पार्टी भित्र र बाहिर ‘साइड टक’ गरिरहनु भएको छ तर शेरबहादुर देउवा र आरजु राणा देउवाको हुकुमी शासन चलिरहदासम्म गुट वा समूह बनाउन सम्भव नरहेको कुरा पनि उहाँले बुझ्नु भएको छ । पार्टीबाट गगन थापालाई पार्टी विभाजन वा अर्को पार्टी बनाउने सहयोग नभएपनि उहाँलाई बाहिरबाट निकै सपोर्ट आइरहेको स्रोतले जनाएको छ ।
उहाँको मोवाइल तथा म्यासेन्जर देशका ठूला ठूला व्यक्तिले शेरबहादुर देउवाको साथमा रहेर केही गर्न सकिदैन, तपाई जस्ता युवा जसले देशमा केही गर्न चाहेका छन् त्यो व्यक्तिले त्यहाँ पार्टीमा बसेर केही गर्न सकिदैन त्यसका लागि आफ्नो छुट्टै पार्टी बनाउनुपर्छ, भनि त्यसका लागि जेजस्तो सहयोग गर्नुपर्छ गर्न तयार रहेको जस्ता म्यासेज आइरहेका छन् । एउटा नाम चलेका ठूलै अलनलाईनका सम्पादकले पनि महासचिव गगन थापालाई म्यासेज गरेर गरेर छुट्टै पार्टी बनाउन सुझाव दिनुभएको छ । तपाईले जुन सोच र विचारले पार्टी चलाउन खोज्नु भएको छ, त्यो काँग्रेसमा लागु गराउन गाह्रो छ त्यसका लागि छुट्टै पार्टी चाहिन्छ, अगाडि बढ्नुस् त्यसमा हाम्रो सहयोग रहेने गरी म्यासेज गगन थापाको मोवाइलमा पठाइएको छ ।
महासचिव थापाले पार्टीमा आफ्नो समूह बनाउन सक्नु भएको छैन । अहिले पनि पार्टीका नेताहरु शेरबहादुर देउवा, शेखर कोइराला, रामचन्द्र पौडेल, कृष्ण सिटौलालाई छाडेर अन्त कतै जान चाहेका छैनन् । अहिले गगन थापालाई अर्का महासचिव विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले साथ दिइरहनु भएको छ । अन्य केही नेताले उहाँलाई साथ दिए पनि खुलेर आउन मानेका छैनन् । त्यही भएर नयाँ पार्टी बनाउने आँट गगन थापाले नगरेको उहाँ निकट स्रोतले जनाएको छ ।
‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ । तर, अब त अति भयो’ महासचिव गगन थापाले आफ्नो ट्वीटरमार्फत दिनुभएको यो अभिव्यक्तिले धेरै कुराको बयान गरिरहेको छ ।
यो अभिव्यक्ति दिएपछि धेरै जनाले भन्न थालेका छन् कि महासचिव थापा पार्टीको क्रियाकलाप प्रति सन्तुष्ट हुनुहुन्न । केही न केही उहाँको दिमागमा चलिरहेको छ । त्यहीबेलादेखि उहाँको म्यासेन्जर तथा मोवाइल एवं ह्वाटरएपहरुमा म्यासेज आउन थालेका छन् ।
पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारमा काँग्रेसबाट मन्त्री पठाउँदा महासचिव थापालाई चित्त बुझेको छैन । उहाँले चाहेका व्यक्तिहरु मन्त्री बन्न पाएका छैनन् । शेखर कोइरालाले पनि चाहेको जति हिस्सा पाउनु भएको छैन । गगन थापाले आफ्नो तर्फबाट एक जना मन्त्री पठाउन सक्नुभएको छैन । बरु राष्ट्रपति रामचन्द्र पौडेलले एक जना मन्त्री बनाउन सफल हुनुभयो तर गगन थापा जो पार्टीका महासचिव हुनुहुन्छ, सरकारमा उहाँको केही चलेको छैन ।
त्यसको एउटै कारण हो, गगन थापाले संसदीय दलको नेताका लागि शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्नुभएको थियो । त्यतिबेला गगन थापालाई सघाएका सांसदलाई शेरबहादुर देउवाले कुनै अवसर दिन खोज्नुभएको छैन, झन मन्त्री बनाउने धेरै टाढाको कुरा हो । अहिले पार्टीबाट मन्त्री पठाउँदा गगन थापाले सिफारिस गरेका कोही पनि पर्नुभएन त्यसपछि दिक्क भएर महासचिव गगन थापाले भन्नुभएको छ, ‘अब त अति भो’ । पार्टीको हरेक बैठकमा उहाँले आफ्ना कुराहरु राख्नुहुन्छ तर त्यसको कुनै सुनुवाइ नै हुँदैन, कतिपय प्रस्ताव त प्रवेश नै पाउँदैनन् ।
कांग्रेसभित्र यसरी असन्तुष्ट भएर पार्टी छाड्नु पर्ने अवस्था अहिलेको मात्र होइन । यस्ता उदाहरणहरु पार्टीकै संस्थापक नेताहरु कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहसम्मको अवस्थालाई हेर्न सकिन्छ । २००८ मा मातृकाप्रसाद कोइरालाले आफ्ना असन्तुष्टी राख्दै पार्टी फुटाउनुभएको थियो । पछि पुनः माउ पार्टीमै फर्किनु भएको थियो । त्यस बीचमा मातृकालाई पार्टी फुटाउन उक्साउनेहरु कतिले माउ पार्टीमा फर्किएपछि आफ्नो अस्तित्व जोगाउनु भयो भने कतिपय राजनीतिबाट ओझेलमा पर्नुभएको छ ।
२००८ मा मातृकाप्रसाद कोइरालाले चलाउनु भएको फुटको शृङ्खला २०५९ सम्म आइपुग्दा शेरबहादुर देउवाले निरन्तरता दिनुभएको थियो । गिरिजाप्रसाद कोइरालाले पार्टीभित्र हुकुमी शासन चलाएकोमा रुष्ट भएर अहिलेको गगन थापा जस्तै हालतमा पुग्नुभएका शेरबहादुर देउवाले पनि त्यतिबेला पार्टीमा रुपान्तरणका लागि बहस चलाउनु भएको थियो । तर गिरीजाप्रसाद कोइरालाले कुरा समेत सुन्न नमानेपछि देउवाले नयाँ पार्टी बनाउनु भएको थियो । अहिले गगन थापा पनि त्यही बिन्दुमा आइपुग्नुभएको छ ।
तर देउवा अलग पार्टी लिएर धेरैसम्म अलग रहन सक्नुभएन । २०६४ मा एकीकरण गर्नुभएको थियो । काँग्रेसमा फर्किनु भएको थियो । फर्केपछि उहाँले पार्टीभित्र ६०–४० को भागबण्डा रहनु भयो । हरेक कुरामा देउवाले ४० प्रतिशतको दावी गर्नथाल्नुभयो । २०५९ अघि पार्टीभित्र देउवा आफ्नो बोलवाला नभएको जस्तै गगन थापाको पनि त्यही हालत रहेको छ । देउवाले जसरी गिरीजाप्रसाद कोइरालाको हुकुमी शासनको विरुद्ध विद्रोह गर्नुभएको थियो, अहिले गगन थापाले देउवाको हुकुमी शासन विरुद्ध विद्रोह गर्न सक्नु हुन्छ छ त भनि धेरैको प्रश्न रहेको छ ।

तपाईको प्रतिक्रिया