उपेन्द्र यादवले पटक पटक बजाउँछन् प्रमुख सचेतकको घण्टी
१८ जेष्ठ २०८०, बिहीबार २१:२७
आफ्नो पक्षमा सबै परस्थिति अनुकुल भएपछि मात्र मन्त्री पठाउनु भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बाहिर मात्र होइन, आफ्नो पार्टीभित्र पनि आफ्नो विभिन्न चाल चल्नका मोहराहरु तयार गरेर राख्नु भएका हुन्छन् । यो काम गरेपछि त्यसको प्रतिकृया पार्टीमा कस्तो आउँछ त्यसको आँकलन गरेर त्यसको तयारी त्यही बेलादेखि गरिरहनु भएको हुन्छ । र, त्यही भएर उहाँ आजसम्म सफल नेताको रुपमा गिनिनु भएको छ ।
जसरी आफू संसदमा आउनका लागि गठबन्धनमा मुख्यमन्त्री र उपराष्ट्रपतिका लागि बार्गेनिङ गर्नुभयो त्यसरी नै आफ्नो पार्टीमा आफू उपनिर्वाचन जित्न र संसदीय दलको नेता बन्नका लागि एउटा मन्त्री पदका लागि सबै सांसद तथा नेतासँग बार्गेनिङ गर्नुभयो । गठबन्धनबाट दुईटा मन्त्री पाउनु भएका जसपाका अध्यक्ष उपेन्द्र यादवले शिक्षा मन्त्रीमा जसपा संघीय परिषद्का अध्यक्ष अशोक राइलाई पठाउनु भयो तर एक जना मन्त्री मधेशबाट पठाउनु पर्ने मन्त्रीको नाम आफ्नो गोजीमै राख्नुभयो । कारण थियो, बारा–२ को उपनिर्वाचन । सप्तरी–२ बाट चुनाव हार्नुभएका जसपाका अध्यक्ष उपेन्द्र यादव बारा–२ बाट उपनिर्वाचन भाग लिनुभएको थियो त्यहाँ आफ्नै पार्टीबाट धोका नहोस् भनेर उहाँले मधेशबाट कसैलाई मन्त्री बनाउनु भएन ।
सप्तरी–२ मा आफ्नै पार्टीका नेताहरुबाट धोका पाउनु भएका अध्यक्ष यादव बारा–२ मा तर्सिनु भएको थियो । एक जना कसैलाई मन्त्री दिएपछि बाँकी सांसद तथा नेताहरु रिसाउला भनेर उहाँले कसैलाई मन्त्री बनाउनु भएन तर उहाँलाई जो जो भेट्न आउनु हुन्थ्यो सबैलाई तपाईलाई नै मन्त्री बनाउँछु चुनावमा सहयोग गर्नुस्, चुनावबाट फर्के लगतै सपथ ग्रहण हुन्छ भनेर ‘इमोेशनल ब्ल्याकमेलिङ’ गर्नुभएको नेताहरुले अहिले गुनासो गर्नुहुन्छ । ती सबै नेताहरुले ज्यान फ्यालेर चुनावमा सहयोग गर्नुभएको थियो ।
तर चुनाव जितेर आएपछि उहाँलाई संसदीय दलको नेता बन्नु थियो । आफू संसदीय दलको नेता बन्नुअघि एक जनालाई मन्त्री बनाई दियो भने बाँकी सांसदले नेता बन्नमा असहयोग गर्न सक्छ भनि बुझेर उहाँ त्यसमा पनि नेताहरुसँग बार्गेनिङ गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारमा मन्त्री पठाउन पटक पटक जसपाका अध्यक्ष उपेन्द्र यादवालई भन्नुभएको थियो । तर उहाँ आफू संसदीय दलको नेता नभएसम्म मन्त्री नपठाउने निष्कर्ष निकालि सक्नुभएको थियो र यो कुराको जानकारी सञ्चारमाध्यमलाई पनि गराई सक्नुभएको थियो ।
उहाँले आफ्नै पार्टीमा आफू कति असुरक्षित छु भनि कुरा यसैबाट पुष्टि हुन्छ, जसपाका एक जना कार्यकारिणी सदस्यले भन्नुभयो, ‘अध्यक्षज्यु पार्टीमा सुरक्षित हुनुहुन्न, उहाँ पाइला पाइलामा नेताहरुमाथि नै शंका गर्नुहुन्छ त्यसैले उहाँले हरेक प्वाइन्टमा एउटा हतियार राखि राख्नु हुन्छ के ठेगान कसलाई कतिबेला के ले प्रहार गर्नुपर्छ ।’
संसदीय दलको नेता बन्नुअघि यदि मन्त्री बनाएको भए पक्कै उहाँ विरुद्ध कसैले न कसैले उम्मेदवारी दिनुहुन्थ्यो, यो कुरा अध्यक्ष यादवलाई राम्रोसँग थाह छ उहाँले त्यही भएर संसदीय दलको नेता बन्नुअघि मन्त्रीमा कसैलाई पठाएर रिक्स लिन चाहनु भएन । जेठ ८ गते संसदीय दलको नेता चयन भएको भोलीपल्ट जेठ ९ गते अध्यक्ष यादवले आफ्नो पार्टीबाट वन मन्त्रीमा डा.विरेन्द्र महतोको नाम सार्वजनिक गर्नुभयो । त्यति मात्र होइन, त्यही दिन उहाँले मधेश प्रदेशमा पनि सरकारको विस्तार गर्नुभयो । आफू सुरक्षित रहेको निश्चित भएपछि मात्र मधेश तथा केन्द्रमा मन्त्रीको टुगों लगाउनु भयो यसले बुझ्न सकिन्छ कि पार्टीमा अन्य नेता तथा सांसदबाट कति असुरक्षित रहनु भएको छ, ती नेताले सहारा टाइम्ससँग भन्नुभयो, ‘प्रदीप यादवलाई मन्त्री बनाउने लगभग निश्चित थियो तर कहाँबाट कसको दबाव आयो रातारात विरेन्द्र महतोलाई मन्त्री बनाउनुभयो । प्रदीप यादवले पार्टीमा विरोध गर्नुहुन्छ कि भनेर हतार हतारमा उहाँलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिइ हाल्नुभयो ।’
यसअघि २०७८ असोजमा मन्त्री पठाउँदा प्रदीप यादवको नाम नगएपछि उहाँले पार्टीमा विरोध गर्नुभएको थियो । उपेन्द्र यादवको पुतलासम्म जलाउनु भएको थियो । यसपटक पनि त्यही गर्नुहुन्छ कि जस्तो लागेर उपेन्द्र यादवले प्रमुख सचेतकमा नियुक्त गरेको स्रोतले दावी गरेको छ । त्यही सरकारमा सरकारमा उपेन्द्र यादवले मन्त्रीको नाम पठाउँदा प्रमोद साहको नाम टुगों लागेको थियो । राष्ट्रपति कार्यालयमा नाम गइसकेको थियो । तर अन्त्यमा महेन्द्र राय यादव कृषि मन्त्री बनेपछि प्रमोद साह रिसाउला कि भन्ने डरले उहाँलाई पनि हतपत प्रमुख संसदीय दलको सचेतकमा नियुक्त गर्नुभएको थियो । यसपटक प्रदीप यादवका लागि त्यस्तै गर्नुभएको पार्टीका नेताहरु बताउनु हुन्छ ।
मन्त्री बन्न नपाएर जो जो असन्तुष्ट छन् ती सबैलाई अगामी सरकारमा मन्त्री बनाउने भनि आश्वासन दिएर उहाँले राख्नुभएको छ । यो सरकार एक वर्ष अझै चल्छ त्यसपछि बन्ने नयाँ सकरारमा मन्त्री बनाउने आश्वासन प्रदीप यादवदेखि राजकिशोर यादव, रेखा यादवदेखि नवकिशोर साहसम्मलाइ दिनुभएको ती नेता निकटका स्रोतहरु बताउँछन् ।
तपाईको प्रतिक्रिया