–रेशम चौधरी
मधेसवादी नेताहरूको व्यवहार देखेर मलाई पटक्कै यिनीसँग सहकार्य गर्ने इच्छा थिएन । त्यसैले म जो ठूलो नेता दिल्ली आए पनि दौडेर भेट्न पुगिहाल्थें । निर्वासनको जिन्दगीले मलाई यतिसम्म चिढ्याइसकेको थियो कि जसले हाम्रो मुद्दा मिलाउला उसैको पार्टीमा जानेसम्मको मनस्थिति बनाइसकेको थिएँ । मैले मेरो किताबमा यो सब नलेखे पनि हुन्थ्यो तर केही पनि नलुकाउनाको कारण भावी पुस्ताले राजनीति सोचेर गरोस् भन्ने चाहना मात्रै हो ।
यसैक्रममा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के.पी. ओली दिल्ली आउने भए । म उनलाई भेट्नका लागि लखनउबाट दिल्ली पुगेँ । प्रधानमन्त्री दिल्ली ओर्लिंदा मधेसी स्टुडेण्ट युनाइटेड फोरमले कालो झण्डा देखाउने कार्यक्रम राखेको थियो । के.पी. ओली आउँदा सुरक्षा व्यवस्था कतिसम्म कडा पारिएको थियो भने लुकेर कालो झण्डा देखाउनेहरूले समेत भारतको सबैभन्दा ठूलो कोठरी तिहाड जेलको हावा खानुपर्याे । म पनि नेपाली समाजको लाइनमा लागेर नमस्ते गर्नसम्म भ्याएँ तर उनले मलाई चिनेनन् कि क्या हो मुन्टो हल्लाउँदै अघि बढे, खासै वास्ता गरेनन् । पछि तिहाड जेल पुग्ने डरले मैले पनि उनको पिछा गरिन ।
टिकापुर घटना हुँदा जति एकात्मकवादी मिडियाले मलाई खेदेका थिए, त्यति नै चर्चामा रह्यो प्रधानमन्त्री प्रचण्डलाई भेटेको घटना । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा आउने समाचारले म तरङ्गित भएको थिएँ । जे त होलाहोला भनेर पोकोपकुन्तरो कसेर लखिमपुरबाट दिल्ली हानिएँ ।
प्रचण्डलाई भेट्ने अठोट त थियो तर त्यस्तो कुनै योजना भने थिएन । नेपालबाट प्रचण्डसँग को–को आउँदैछन् भनेर बुझ्न थालें । फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरी पनि सँगै आउने समाचारले भने म उत्साहित भएँ । अरूसँग भेट नभए पनि योगेन्द्रजीलाई त भेटिन्छ भन्ने मलाई आशा थियो । लखिमपुरबाट सञ्जय भाइको डेरा लक्ष्मीनगरमा बिहानै पुगें । म जाँदा सञ्जय सुतिरहेका थिए । उनलाई उठाएर मुख धुन लगनएँ ।
म आफू उनको भान्सामा गएर कालो चिया बनाएँ । उनलाई आफू प्रचण्ड भेट्न आएकोले तिमी पनि सँगै जानुपर्छ भाइ भनेर सम्झाएँ । प्रधानमन्त्री प्रचण्डले भेट्ला र दाइ ? यहाँको सुरक्षा नेपालको जस्तो हुँदैन भने । मैले जसरी पनि प्रचण्डलाई भेट्नैपर्छ, मलाई समातेर लग्यो भने यो समान सबै नेपाल पुरÞ्याउने जिम्मा तिम्रो भनेर सञ्जयलाई आफ्नो सुटकेस देखाएँ । उनले दाइ के चिन्ता गरेको ? हामी दिल्ली नै बन्द गरिदिन्छौं भनेर मलाई ढाडस दिए । हामी दुबैजना नेपालका विशिस्ट पाहुना वा प्रधानमन्त्री दिल्ली आए भने अन्य सरकारी पाहुना राख्ने ताज होटलतर्फ लाग्यौ ।
हामी ताज होटेलमा पुग्दा लवीमै माननीय योगेन्द्र चौधरी र लालबाबु राउत कुराकानी गरेर बसिरहेका थिए । मैले योगेन्द्रजीलाई हलो भन्नेबित्तिकै उनी जुरूक्क उठे र आफ्नो कोठातर्फ लगे । बडो नम्र स्वरले कस्तो हुनुहुन्छ ? के गर्ने बडो नराम्रो घटना घट्यो, सबै मिलेर तपाइँलाई फसाए– एक सासमा उनले भनिसिध्याए । मैले सञ्चो विसञ्चो सोध्नै भ्याएको थिइन । उनले आफ्नो पर्स खोतलेर साढे छ हजार नेपाली रूपैयाँ मलाई दिए । मैले यो किन सांसदजी ? भनेर सोध्दा अहिले मैले हतारमा पैसा ल्याउन पनि पाइन, यति त राख्नुस्, पछि अन्य सहयोग पनि पठाउँला भने । सञ्चो विसञ्चोका बारेमा लामो कुराकानी भयो ।
उनी मेरा पुरानो साथी पनि हुन् त्यसैले हामी लामै गफियौं । होटल ताजमहलमा म योभन्दा अगाडि पनि धेरै पटक बसेकोले खाने समयमा उनले यता महङ्गो पर्छ, तपाइँहरू बाहिर खाएर आउनुस् भन्दै तीन सय भारू रूपैयाँ पनि निकालेर दिए । हामी ताजमहल होटेलको बाहिरको सडकमा बेच्ने छोला भटुरा खान गयौं ।
खानापश्चात् पनि आज योगेन्द्रजी आफू कतै नजाने मसँगै समय बिताउने भनेर बसे । उनले थारूहट आन्दोलनलाई धोका दिएर आफ्नो पार्टी सरकारमा गएको गुनासो पनि पोखे । उनैले रामजनम चौधरी वार्ता टोलीको सरकारी सदस्य भएकोमा गम्भीर आपत्ति समेत जनाए । मैले यो कुरा पार्टीमा राख्नु हुन्न ? भनेर सोध्दा पार्टी त गच्छदारको मनपरिले पो चल्छ भनेर उल्टै व्यङ्ग्य गरे । दिउँसो हामी एक जना डिप्लोम्याटलाई भेट्न गयौ । ती डिप्लोम्याटले गच्छदार र रामजनमजीको नामै किटानी गरेर गुनासो गर्दा योगेन्द्रजी कालोनीलो भए ।
योगेन्द्रजीले प्रचण्डलाई भेट्ने मेरो आग्रहलाई गम्भीरतापूर्वक लिए । उनले कांग्रेसका सांसद तथा नेता पद्म नारायण चौधरीसँग पनि भेट गराइदिए । पद्म नारायण प्रेसरका रोगी रहेछन् । उनी आफ्नो कुरा मात्रै सुनाउने तर अर्काको कुरै सुन्न मन पराउँदैन रहेछन् । तर मैले उनको दिमाग नराम्ररी चाटिदिएँ । उनी गमक्कै परेर हेरेको हेर्यै भए । बेलुकी होटल ताजमहलमा भारतीय ब्यापारीहरूसँग डिनर बैठक हुने भएकोले आज जसरी पनि भेट्ने अठोटका साथ दिनभरि नै योगेन्द्रजीको कोठामै बसियो ।
बेलुकी होटेल ताजमहलमा पार्टी चलिरहेको छ । योगेन्द्रजीले डिनर खान आउनुस्, म कोसिस गरिरहन्छु भने । मैले झ्याप्पै दाह्रीजुँगा पालेको थिएँ । होटेलको लवीमा उद्योग वाणिज्य संघकी उपाध्यक्ष भवानी राणासँग भेट भयो । उनले किन डराउने ? तपाइँले गल्ती गरेकै छैन, आउनुस् नेपाल जाऔँ भनिन् । उहाँले आफ्नी नातेदार तथा सांसद प्रतिभा राणासँग पनि परिचय गराइदिन् । प्यासेजमै पत्रकार ऋषि धमला भेटिए ।
उनले तपाईंको अन्तर्वार्ता मैले लिनुपर्छ, यो अन्तर्वार्ताले तपाइँ निर्दोष प्रमाणित हुन्छ भनेर गफ लगाउँदै थिए ्र योगेन्द्रजीले तपाईं आउनुस् भनेर मलाई इसारा गर्नुभयो । म र सञ्जय भाइ गयौं । उहाँले खाना खाँदै गर्नुस् म बोलाएर ल्याउँछु भनेर कार्यक्रममा जानुभयो । मैले थोरै खाना लिएँ किन कि प्रचण्डजी छिटो आउनुभयो भने त बर्बाद भइन्छ । खाना लिएर एक गाँस मुखमा हालेको मात्रै थिएँ नभन्दै प्रधानमन्त्री प्रचण्ड आइपुगे । मेरो गाँस मुखमा भएकोले मैले नदेखेझैँ गरें । उनी हेरेजस्तो गरेर फर्किएर गए । एकैछिनमा सांसद योगेन्द्र आइपुगे ।
अरे यार ! प्रधानमन्त्री तपाइँलाई खोज्दै आउनुभएको थियो, आउनुस् यता बोलाउनु भा’छ भनेर मलाई बोलाउनु भयो । म भारतका प्रसिद्ध ब्यापारी बसेको ठाउमा पुगे । छेउमा मेडम सीता दाहाल बसिरहनु भएको थियो । उहाँले आफ्नी पत्नी सीतालाई उठाएर मलाई छेउमा बसाउनु भयो ।
के छ तपाईंको हालखबर ?
मैले ठीकै छ भनेर मुण्टो हल्लाएँ ।
तपाईं त्यो घटनामा त हुनुहुन्न ?
– थिइन, म बर्दियामा थिएँ ।
–ए त्यसो भए ठीक छ । अब यो एक हप्ता जति लाग्छ । सबै ठीक होला । बडो मिठो मुस्कान छोड्दै प्रधानमन्त्रीजीले भन्नुभयो । मैले आफूहरू निर्दोष भएकोले न्याय पाउनुपर्छ भने ।
भएको सम्बाद यत्ति हो । त्यसपछि उहाँले मेरो फोन नम्बर टिप्न छोरा प्रकाशलाई अह्राउनु भयो, म विदावारी भएँ । प्रधानमन्त्रीलाई भेटेर म हलबाहिर निस्किएको मात्रै थिएँ, मैले कान्तिपुर टेलिभिजनका क्यामरामेन श्याम श्रेष्ठलाई देखें । मैले दाइ नमस्कार भनें । उहाँले नमस्ते भन्नुभयो ।
चिन्नुभएन ?
ए रेशमजी ! अघि प्रधानमन्त्रीजीलाई भेट्ने तपाइँ पो हो ? हो त, म नै हुँ भनें ।
मैले फोटो खिचेको छु यार, अरूलाई फोटो खिच्ने अनुमति हुन्न । मलाईचाहिं प्रकाशले विश्वास गरेर खिच्न दिनुहुन्छ, भन्नुभयो ।
खै खै फोटो हेरौ
उहाँले खिचेको दुइटा फोटो देखाउनु भयो ।
मेरो मोबाइलमा सारिदिनुस् न ।
हामीले धेरै कोसिस गर्यो तर मेरो एप्पलको मोबाइल भएकोले सार्न सकिएन । उहाँले मेरो ईमेल आइडी माग्नुभयो
र त्यसमा पठाइदिने बाचा गर्नुभयो । उहाँसँग गफ गरिरहँदा अरू पत्रकार साथीहरू आउनुभयो । त्यसबेला
दिल्लीमा त सबैले सहानुभूति प्रकट गर्नुभयो । निर्दोष रेशमजीलाई छुटाउन हामीले सहयोग गर्नुपर्छ भनेर पनि सबैले भनेकै हुन् । पत्रकार ऋषि धमलाले त झन् लौ–लौ अन्तर्वार्ता दिनुपर्यो भनेर भन्नुभयो । मेरै सामुन्नेमा नेपालमा खोइ कसलाई हो फोन गरेर भर्खरै रेशमजीलाई प्रधानमन्त्रीसँग भेट गराइदिएँ, म सबै प्रहरी प्रमुखहरूलाई भनेर पनि तपाईंलाई निकाल्छु भनेर गफ दिनुभयो ।
नयाँ पत्रिकाका परशुराम काफ्ले भाइसँग पनि कुराकानी भयो । म अन्तर्वार्ता दिने मुडमै थिएँ । तर योगेन्द्रजीले अहिले दिनुहुँदैन भनेर इसारा गरेपछि चुपचाप योगेन्द्रजीको रूमतर्फ लाग्यौं । रूममा गएर योगेन्द्रजीले अरु के–के समस्या छन् तपाईंलाई भनेर आफ्नो बचेखुचेको कर्तव्य पनि निर्वाह गर्नुभयो ।
मैले आफ्नो सबै दुःखका कहानी बताएँ । प्रधानमन्त्री भेटाइदिने साथीले दुःख सोध्दा भन्नु आफ्नो कर्तव्य पनि सम्झें । ऋण दिन दुःखसुखका कुराकानी भए । छोराले साइकल माग्दा किनि दिन नसकेको विवशता पोखें । उहाँले काठमाडौं गएर छोरालाई साइकल किनिदिने बाचा गर्नुभयो । उहाँहरू भोलिपल्ट काठमाडौँ जानुभयो । म पनि आफ्नो बसोबासस्थल लखिमपुरतर्फ लागे ।
लखिमपुर आएपछिको तेस्रो दिनमा अनलाइनमा अन्नपूर्ण पोस्ट पत्रिका पढिरहेको थिएँ । ठूलोठूलो अक्षरमा प्रधानमन्त्री प्रचण्डले भारतमा टिकापुरका मुख्य अपराधी रेशम चौधरीलाई भेटे भन्ने शीर्षकमा मुख्य समाचार छापिएको थियो ।
भए नभएका समाचारलाई बड्याइटिङ्याई छापेको देख्दा मन कुँडिएर आयो । अन्य देशमा गएर प्रधानमन्त्रीले मृत्युदण्ड पाएका अपराधीलाई समेत छुटाउने बाचा गर्दै वार्ता समेत गरेर आउँछन् तर आफ्नो देशको राजनैतिक घटनामा जवर्जस्ती अभियुक्त बनाइएको मैले प्रधानमन्त्री भेट्दा भने यत्रो आपत्ति ? यो फोटो कसरी त्यहाँ पुग्यो भनेर दिनभरि नै इन्टरनेटबाट श्याम श्रेष्ठलाई पछ्याइरहें ।
(रेशम चौधरीले लेख्नु भएको ‘टिकापुर घटनाको चिरफार’ पुस्तकबाट केही अंश सभार गरिएको हो)
तपाईको प्रतिक्रिया