Khadya Bibhag

जयकृष्ण गोइतलाई मुलधारमा ल्याउन प्रचण्डको पहल

२०७७ फागुन २० गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग ३ बुँदे सम्झौता गर्दै भन्नुभएको थियो, ‘अब कोही पनि बिद्रोही समूह छैन, पृथकतावादी आन्दोलन गर्ने पनि कोही बाँकी छैन ।’
उहाँले यो कुरा भनेपछि चैत ९ गते सिरहाको लहानमा बम विस्फोट गराएर जयकृष्ण गोइतले आफ्नो उपस्थितिको ‘दस्तक’ दिनुभएको थियो । ओलीले त्यो अभिव्यक्ति दिँदा नेकपा विभाजन भएको थिएन तर चिरा परिसकेको थियो, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बोलचाल बन्द भइसकेको थियो । उहाँलाई नै साइजमा ल्याउनका लागि ओलीले माओवादीका बिद्रोही समूह विप्लवसँग वार्ता गरेर मुलधारमा ल्याउनु भएको थियो ।
अहिले त्यही विप्लव एमालेका अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेर प्रचण्डको साथमा ‘इन्जोए’ गरिरहनु भएको छ । पार्टी एकतादेखि समाजवादी मोर्चासम्मको योजना बनाइरहनु भएको छ । त्यस्तै, एमालेका अध्यक्ष ओलीले तत्कालिन नेकपाको अध्यक्ष हुँदा प्रधानमन्त्री भएको बेला उहाँले डा.सिके राउतलाई पनि मुलधारमा ल्याउनु भएको थियो तर अहिले उहाँ पनि अ‍ोलीसँग हुनुहुन्न । राउत पनि प्रचण्डको ‘फ्यान’ हुनुभएको छ ।
अब प्रचण्डले एक मात्र भुमीगत सशस्त्र आन्दोलनमा रहनु भएका जयकृष्ण गोइतलाई मुलधारको राजनीतिमा ल्याउन पहल थाल्नुभएको छ । माओवादी केन्द्रकै एक जना मधेशी नेताले त्यसको अगुवाई गर्नुभएको छ । माओवादी केन्द्रका ती नेता जयकृष्ण गोइतसँग भेटेर त्यो माहोल बनाएको स्रोतले जनाएको छ ।
माओवादी केन्द्रका ती मधेशी नेताले पार्टीका प्रवक्ता समेत रहनु भएका कृष्णबहादुर महरामार्फत प्रधानमन्त्री प्रचण्ड समक्ष यो कुरा राख्नुभएको थियो । नेता महराले प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरेर यो प्रकृया अगाडि बढाउनु भएको हो । जयकृष्ण गोइतसँग कुराकानी गरेर उहाँलाई मूलधार ल्याउनेमा प्रधानमन्त्री प्रचण्ड पनि सकारात्मक हुनुहुन्छ ।
त्यसका लागि माओवादीका नेता कृष्ण बहादुर महाराले जयकृष्ण गोइतसँग भेट्न चाहनु भएको छ । नेता महराले गोइतसँग एक चरण भेटेर कुराकानी अगाडि बढाउन चाहनु भएको छ । त्यसका लागि पहल भइरहेको बुझिएको छ । स्रोतले भन्यो, जयकृष्णसँग सम्पर्क गर्ने कोशिस भइरहेको छ, सम्पर्क भएपछि महरालाई भेट गराएर वार्ताको प्रकृया अगाडि बढाउने भएको छ ।
को हुन् गोइत ?
सप्तरी क्षेत्र नम्बर ३ मा २०४८ र २०५१ मा एमालेका तर्फबाट दुई पटक चुनाव हार्नुभएका जयकृष्ण गोइत माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो । तर, त्यहाँ राष्ट्रिय मधेशी मुक्ति मोर्चामा अध्यक्ष पदका लागि भएको विवादका कारण माओवादी केन्द्र छाडेर भुमीगत राजनीति सुरु गर्नुभयो ।
माओवादीले गोइतको नेतृत्वमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको थियो । पछि सो मोर्चाबाट गोइतलाई हटाएर मातृका यादवलाई संयोजक बनाएर उहाँलाई जिल्ला कमिटीमा सिमित गरेको थियो । त्यसपछि उहाँ २०६१ साउन १० गतेदेखि भुमीगत हुनुभएको थियो । जनतान्त्रिक तराई मुक्ति मोर्चा बनाएर सशस्त्र आन्दोलनमा लाग्नुभएको थियो । सुरुमा भुमीगत हुँदा त्यतिबेला माओवादीका थुप्रै नेता–कार्यकर्ता गोइतको निशानामा परेका थिए ।
माओवादीले उहाँमाथि जे व्यवहार गर्यो, त्यसले गर्दा उहाँले बाध्य भएर बन्दुक उठाएको उहाँ निकट नेताहरु बताउनु हुन्छ ।
१९ वर्षदेखि भुमीगत रहनु भएका गोइत विद्यार्थी कालदेखि नै वामपन्थी विचारका हुनुहुन्थ्यो तर उहाँलाई कम्युनिष्ट पार्टीले नै धोका दिएको थियो । वामपन्थीका विभिन्न पार्टी तथा विचार समूह हुँदै माले, त्यसपछि एमाले अनि माओवादी र माओवादी छाडेर सशस्त्र आन्दोलनमा लाग्नुभएका गोइतले कम्युनिष्ट नेताहरुसँग सम्पर्क गर्न पनि रुचाउनु भएको छैन । भारतमा भुमीगत जीवन बिताइ रहनु भएका गोइतलाई उमेर पनि साथ दिइरहेको छैन ।
पटक पटक अस्वस्थ्य भइरहने गोइतका सहयोगीहरुले पनि यो भुमीगत राजनीति छाडेर मुलधारको राजनीतिमा आएर आफ्नो बाँकी जीवन आफ्नै भुमीमा बिताउँदा राम्रो हुने भनिरहेका छन् । गोइत सप्तरीका हुनुहुन्छ । सरकारसँग वार्ता गर्ने तर यूएनको मध्यस्थतामा गर्ने कुरा गोइतले पटक–पटक उठाउँदै आउनु भएको छ । तर सरकारले कसैको मध्यस्थता चाहेको छैन । गोइतसँग सिधै वार्ता गर्न चाहन्छ ।

तपाईको प्रतिक्रिया