अप्रेशन गर्दा पेटमै कपडा: भतिजो बचाउन डाक्टरले पोल्यो अर्का डाक्टरको नाम
४ असार २०८०, सोमबार १९:२१
रिंकुकुमारी सिंहले ६४ लाख क्षतिपूर्ती मागसहित प्रादेशिक अस्पताल सिरहाका डाक्टरबिरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दिनुभएको छ । महोत्तरी घर भएकी रिंकु कुमारी सिंहले प्रादेशिक अस्पताल सिरहामा कार्यरत डा.तेजशंकर यादवविरुद्ध जाहेरी दरखास्त दर्ता गराउनु भएको हो । रिंकुले मुलुकी अपराध संहिता २०७४ अनुसार इलाज सम्बन्धी कसुरअन्तर्गत लापरबाही तथा हेलचक्राइ गरेको कसुरको दावी गर्नुभएको हो ।
रिंकु सिंहले आफू गर्भवती अवस्थामा गत २०७९ मंसीर २० गते प्रादेशिक अस्पताले सिरहामा भर्ना भएको र प्रसुती गराउन अप्रेशन गर्ने क्रममा गाइनोलोजिष्ट डा.तेजशंकर यादवले कपडा जस्तो देखिने वस्तु पेटमै छोड्नु भएको थियो । आन्द्रामा समेत असर परेपछि वीर अस्पतालमा भर्ना हुँदा डाक्टरले आन्द्रा काटेर बाहिर निकालिएको छ तर अहिले प्लास्टिकको ब्यागमा दिसापिसाब गर्ने बाध्य भएको ब्यहोरा रिंकुले दिएकी जाहेरीमा उल्लेख छ ।
हालसम्म १४ लाख रुपियाँ उपचारमा खर्च भइसकेको छ । रिंकुले क्षतिपूर्तिवापत ५० लाख थप उपचार गराउन खर्च भएको १४ लाख रुपियाँसहित ६४ लाख उपलब्ध गराइ डाक्टरमाथि कारवाहीको माग गर्नुभएको हो ।
रिंकुको जाहेरीका अनुसार आरोपित डाक्टर तेजशंकर प्रादेशिक अस्पताल सिरहाका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवको आफ्नै सहोदर भतिजा हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाको अपराध अनुसन्धान शाखाले रिंकु कुमारी सिंहको शल्यक्रिया कुनकुन चिकित्सकको निगरानीमा भएको हो भन्ने व्यहोराको जानकारी गराउन गरिएको पत्राचारको जवाफमा प्रादेशिक अस्पताल सिरहाका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवले रिंकु कुमारी यादवको शल्यक्रिया डा.राकेशकुमार सिंहले गर्नुभएको र अप्रेशनको समयमा आन्द्रा स्वस्थ्य रहेको दावीसहितको जानकारी प्रहरीलाई पठाउनु भएको छ ।
शल्यक्रिया गर्नु अगाडि र शल्यक्रिया गरिसकेपछि औजार उपकरण, लगायतको भौतिक सामाग्री गणना गर्दा सबै समान ठिक रहेको विवरण उहाँले प्रहरीमा पठाउनु भएको डा.राकेशकुमार सिंहले बताउनुभयो । यता, डा.राकेशले रिंकुको शल्यक्रियामा आफ्नो कुनै किसिमको संलग्नता नरहेको दावी गर्नुभएको छ ।
डा.नागेन्द्रले आफ्नो भतिजो बचाउनका लागि आफूलाई फँसाउन लागि परेको दावी डा.राकेशले गर्नुभएको छ । उहाँले अप्रेशनको क्रममा प्रयोग हुने ओटी नोट शल्यक्रिया रेकर्ड रजिष्टर र मातृ तथा नवजात शिशु सेवा रजिष्टर हेर्न सञ्चारकर्मीलाई आग्रह पनि गर्नुभएको छ ।
सो रजिष्टरहरु झिकाउन सिरहा प्रहरीको नाममा आदेश जारी गर्न जिल्ला प्रशासन कार्यालय सिरहामा उहाँले निवेदन पनि दर्ता गराउनु भएको छ । जाहेरीवालाको जाहेरीले आरोपित डा.तेजशंकर यादव प्रादेशिक अस्पताल सिरहाका सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवको आफ्नै सहोदर भतिजा नाताका रहेकोले निजको बचाउ गर्न र आफूलाई फँसाउन झुठा विवरण पेस गरेको प्रसाशनमा डा.राकेशले दिएको निवेदनमा उल्लेख छ ।
यस विषयमा जान्नका लागि प्रादेशिक अस्पताल सिरहाका मेडिकल सुपरिटेन्डेन्ट डा.नागेन्द्र यादवलाई फोनमा पटक पटक सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।
तपाईको प्रतिक्रिया