Khadya Bibhag

पत्रकारविरुद्ध जिल्ला अदालतमा मुद्दा

पत्रकारले फेसबुकमा लेखेर आफ्नो चरित्र हत्या गरेको दावी सहित सिरहा नवराज गाउँपालिकाका अध्यक्ष शिवउदगार यादवलले सिरहाका पत्रकार बिटु सिंह विरुद्ध जिल्ला अदालत सिरहामा रीट निवेदन दर्ता गराउनु भएको छ ।

सिरहाको गोलबजारमा सञ्चालित एमस्टार टेलिभिजनका संचालक बिटु सिंहले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरी आफ्नो चरित्र हत्या गरेको तथा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हकवाट बञ्चित गरेको आरोप अध्यक्ष यादवले लगाउनु भएको छ । उहाँले समाज, घरपरिवार, छोराछोरी र आफन्तको नजरमा कलङ्कित गरेर चरित्र हत्या हुने गरी स्टाट्स लेख्नु भएका पत्रकार सिंह बिरुद्ध रीट निवेदन दर्ता गराइएको गाउँपालिकाका अध्यक्ष यादवले बताउनुभयो ।

पत्रकार बिटु सिंहले आफूले फेसबूकमा चरित्र हत्या गर्ने मनसायले नलेखेको बताउनुभयो । गाउँपालिका अध्यक्षको दावी सही भयो भने पत्रकार सिंहलाई ३ वर्ष कैद ,३० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने गाउँपालिकाका अध्यक्षको कानून व्यवसायीले दावी गरेका छन् । पालिका अध्यक्ष यादवले, चार लाख ५० हजार क्षतिपूर्ति र एक लाख मुद्दा खर्च समेतको दावी गर्नुभएको छ ।

पालिकाका अध्यक्ष स्वयम्ले सगरमाथा चौधरी आँखा अस्पतालसँग मोतियाबिन्दु बिरामीको लागी निःशुल्क शल्यक्रिया अप्रेसन कार्यक्रममा सम्झौता गरेको विषयलाई लिएर पत्रकार बिटुले २५ सयका दरले पैसा उठाई भ्रष्टाचार गरेको आशयसहितको फेसबुकमा स्टाट्स लेख्नुभएको थियो ।

सोही विषयलाई लिएर पालिकाका अध्यक्ष यादवले प्रेस काउन्सिल ऐन,२०४८ र उत्तरदायी पत्रकारिताको ख्यालै नगरी झुठो आरोप लगाएर गाली बेज्जती तथा अपमान गरेकोले न्यायका लागि अदालत गएको बुझिएको छ ।

केही दिनदेखि सिरहाका पत्रकारहरु फेसबुके पत्रकार बनेको जन गुनासो बढिरहेको बेला गाउँपालिकाका अध्यक्ष यादवले यो मुद्दा दायर गरेको कुरा बाहिर आएको हो । फेसबुक विचार पोख्ने प्लेटफर्म हो भन्दै सिरहाका केही पत्रकारले बीना आधार प्रमाण स्टाट्स लेखि थ्रेट गर्ने गरेको गुनासो बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया