नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा १० दिनपछि असार ८ गते सिंगापुरबाट उपचार गराएर फर्किनु भएको छ । उहाँ सिंगापुर उड्नु अघिदेखि नै सभापति देउवा सिंगापुर जान लाग्नु भएको छ, अब यहाँको राजनीतिमा परिवर्तन आउँछ, गठबन्धन भत्किन्छ, सरकार ढल्छ आदि इत्यादी विषयले चर्चा पाएका थिए ।
यो क्रम उहाँ सिंगापुर गइसकेपछि र फर्केसम्म चल्यो । सिगांपुरबाट फर्केको एक हप्ता भएको छ । नेपाली राजनीतिमा सिगांपुर भ्रमणको कुनै ‘रियाक्सन’ नदेखेपछि त्यो चर्चा सलाएको छ । यसरी सिगांपुरको भ्रमण देउवाले मात्र गर्नुभएको छैन । यसअघि पनि थुप्रै शीर्ष नेताहरुको पनि भ्रमण भएको थियो । नेपालमा जब कुनै राजनीतिक चलखेल सुरु हुन्छ अनि नेताहरुको सिंगापुरको दौडा हुन्छ । भनिन्छ, त्यहाँ उपचारको बहानामा विदेशी प्रतिनिधिहरुसँग भेटघाट हुनुको साथै ठूला ठूला ‘डिल’ हुने गरेका छन् ।
उपचारबाट फर्केपछि नेताको स्वास्थ्य मात्र होइन, देशको राजनीतिक स्वास्थ्य पनि निको हुन्छ । देउवा पनि फर्किनु भएको छ । उहाँको स्वास्थ्य ठिक छ तर देशको राजनीतिक स्वास्थ्य कहिले ठिक हुन्छ हेर्न बाँकी छ । उपचारका लागि मात्र होइन अरु पनि भेटघाट तथा मिसनमा गएको कुराको जिज्ञासा सर्वसाधारणमा मात्र होइन, देशको प्रधानमन्त्री भइसका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमा पनि देखियो । प्रधानमन्त्री प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवमा पनि देखियो ।
अध्यक्ष माधवकुमार नेपालले समेत सभापति देउवालाई सिंगापुरमा उपचार मात्र गराउनुभयो केही भेटघाट गरेर पनि आउनुभयो भनि सोध्नु भएको थियो । सिंगापुरबाट फर्केपछि बजेटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठकमा नेकपा (एस)का अध्यक्ष नेपालले यो जिज्ञासा राख्नुभएको थियो । अध्यक्ष नेपाल गठबन्धनको बैठक सुरु हुनुभन्दा केही पहिले नै बालुवाटार पुगेर बैठक कक्षमा बसिरहनु भएको थियो ।
त्यही बेला सभापति देउवा बैठक कक्षमा प्रवेश गर्न लाग्दा उहाँलाई अध्यक्ष नेपालले त्यस्तो प्रश्न गर्नुभएको थियो । अध्यक्ष नेपालले यस्तो प्रश्न गरेपछि प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादवले के जवाफ आउँछन् भनि देउवाको मुखतिरै हेर्र्दै रहनु भयो । देउवा सोफामा नबस्दै भन्नुभयो, ‘कसैसँग केही कुरा भएन, म कुरा गर्न वा भेटघाटका लागि त्यहाँ गएको होइन उपचारका लागि गएको थिए तपाईहरु कुरा किन बुझ्नु हुन्न ।’
तपाई सिंगापुर गएपछि यहाँ त्यस्तै चर्चा भइरह्यो, त्यो कुरा तपाईलाई पनि थाह छ नि त्यही भएर सोधेको नेपालले हाँस्दै भनेपछि सभापति देउवा पड्किएर उनले भने, ‘होइन, होइन त्यस्तो केही भेटघाटहरु थिएन यी सब बेकारका कुरा हुन्, तपाईहरु यसको पछाडी लाग्नु हुन्छ यो राम्रो होइन ।’ गठबन्धनको केही हुँदैन अझै बलियो भएर अगाडि बढ्छ, पाँच वर्ष मात्र होइन त्यो भन्दा बढी समय यो गठबन्धन चल्छ भनि आश्वस्त पार्दै बेकारमा तपाईहरु शंका गर्नुभएको भनि देउवाले प्रतिकृया दिनुभएको थियो ।
‘म भन्छु यो सरकार र गठबन्धनको केही हुँदैन अनि अरुको कुरा किन सुन्नुहुन्छ भनि पड्किदै उहाँले भन्नुभयो, ‘ओलीजीले मलाई बोलाएको बोलायै हुनुहुन्छ, कहिले बालकोट आउनुस् भन्नुहुन्छ कहिले पार्टी अफिस आइजा भन्नुहुन्छ कहिले तपाईकै घर आउँछु भन्नुहुन्छ तर म भेट्न गएकै छैन अनि कसरी तपाईहरु ममाथि शंका गर्नुहुन्छ ।’
केही दिन पहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि यसैगरि एउटा कुरामा यो कुरा स्पष्ट पार्नुभएको थियो । सभापति देउवा सिगांपुर भ्रमणमा गएपछि उहाँको पार्टीका कोही पनि भेट्न आउनु भएको छैन । आफूले नै देउवासँग पटक पटक भेट्न चाहदा भेट भइरहेको छैन भनि स्पष्ट पार्नुभएको थियो । काँग्र्रेसका एक नेताले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘यसरी दुवै पक्षबाट कुरा आइसकेपछि अब स्पष्ट हुन्छ कि पूर्वप्रधानमन्त्री समेत रहनु भएका सभापति देउवा सिगांपुरबाट फर्केपछि सरकार र गठबन्धन झन बलियो भएको छ ।’
तपाईको प्रतिक्रिया