चार वटा पार्टी मिलेर समाजवादी मोर्चा बनेपछि अहिले सबभन्दा बढी चर्चा पार्टी एकीकरणको भइरहेको छ । मोर्चामा रहेका नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा (विप्लव)मध्ये कुन दलले कुन दलसँग एकीकरण गर्ने विषयमा चर्चा हुने गरेको छ ।
अहिले यीमध्ये जुनसुकै पार्टीको कार्यालयमा जाँदा चर्चाको विषय यही नै हुने गरेको छ । माओवादी केन्द्रको पेरिसडाँडा होस् या प्रधानमन्त्री निवास बालुवाटार, त्यहाँ जसपा र माओवादीबीच एकीकरण भइरहेको चर्चा सुन्नमा पाइन्छ । नेताहरुका चर्चा र चासोको विषय बनेको छ माओवादी–जसपा एकीकरण । माओवादी केन्द्रमा सबभन्दा बढी बिग्रेको संगठन मधेश प्रदेशको रहेको छ । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले स्वयंले पनि त्यसलाई सपार्नका लागि निकै महनत गर्नुभयो तर सक्नु भएन ।
प्रधानमन्त्री प्रचण्डले अब त्यो ठाउँ उपेन्द्र यादवका लागि छोड्नु भएको पार्टीकै नेताहरु बताउँछन् । अहिले पनि लगभग माओवादीले मधेश प्रदेश जसपालाई नै सुम्पि सकेको छ । माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भन्नुभयो, ‘मधेशका बारेमा प्रधानमन्त्रीज्युसँग कुरा गर्दा उहाँले मधेशलाई हामी बनाउन सक्दैनौ अब त्यो ठाउँ उपेन्द्रजीलाई छोड दिनुपर्छ उहाँ पार्टीमा आएपछि सबै व्यवस्थित हुन्छ भन्नुभयो ।’ माओवादीका अध्यक्ष प्रचण्डले उपेन्द्र यादवलाई पार्टीमा ल्याएपछि आफू पछिको नेता मान्न तयार हुनुभएको स्रोतले दावी गरेको छ ।
उपेन्द्र यादवलाई वरिष्ठ उपाध्यक्ष दिएर मधेश प्रदेशको पुरै जिम्मेवारी दिएर पार्टीलाई अगाडि बढाउने गरी कुराकानी भइरहेको त्यो स्रोतको दावी छ । तर भोली, पर्सी नै एकता हुन्छ भने होइन, एक–दुई वर्ष वा त्यो भन्दा पनि बढी समय लाग्न सक्छ, यद्यपी प्रचण्ड र उपेन्द्र यादवबीच एक दिन एकीकरण हुन्छ । हुन त समाजवादी मोर्चा बन्नुभन्दा पहिला पनि पार्टी एकीकरणका लागि प्रचण्ड र उपेन्द्र यादवको बीचमा पटक पटक कुराकानी भएकै हो । एकीकरण प्रकृयालाई अगाडि बढाउनका लागि दुवै पार्टीमा कार्यदल गठन भएकै हो तर चुनाव र त्यसपछि सरकार निर्माणका कामहरु अगाडि आएपछि तत्कालका लागि वार्ता र संवाद स्थगित गरिएको थियो ।
अहिले समाजवादी मोर्चा बनेपछि पुनः एकताको कुरा अगाडि बढेको माओवादी केन्द्रका नेताहरु बताउँछन् । मोर्चा नै पार्टीको रुप लिदैन, कुनै कुनै दलको बीचमा एकता हुनसक्छ भन्ने कुरा उपेन्द्र यादवले स्वयंले समाजवादी मोर्चा गठन भएकै दिन पनि भन्नुभएको थियो । तर कुन पार्टीसँग एकता हुन्छ भन्ने कुरा उहाँले खुलाउनु भएको थिएन । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले पार्टी एकीकरणका लागि डा.बाबुराम भट्टराई भन्दा उपेन्द्र यादवसँग सकारात्मक हुनुहुन्छ ।
त्यही कुराको संकेत पाएर प्रधानमन्त्री प्रचण्डले बाबुराम भट्टराई मोर्चामा ल्याउनु भएन । एक टिभीलाई अन्तरवार्ता दिँदै प्रधानमन्त्री प्रचण्डले उपेन्द्र यादवका कारण बाबुरामलाई मोर्चामा ल्याउन नसकिएको प्रष्ट पार्नुभएको थियो । माओवादी केन्द्रसँग एकीकरण नै गर्न लागेको अवस्थामा उपेन्द्र यादवले बाबुरामलाई मोर्चामा सामेल नगराउन अडान लिनु प्रचण्डका लागि कुनै आश्चर्यको विषय होइन । मोर्चामा नल्याउनु उपेन्द्र यादवको यो माग प्रचण्डका लागि मामुली हो, माओवादी केन्द्रका ती नेताले भन्नुभयो, ‘जहाँ उपेन्द्र यादव स्वयं नै पार्टी एकीकरणका लागि तयार हुनुभएको छ त्यहाँ त्यस्ता कति बाबुरामलाई छाड्न प्रचण्डजी तयार हुनुहुन्छ ।’
तर मोर्चामा रहेका कुनै पनि दलसँग एकीकरणको सम्भावना नरहेको जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीले बताउनुभयो । उहाँले सहारा टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘फरक फरक विचार समूहको भएपनि एउटा विषेश एजेण्डाका साथ मोर्चाबन्दी गर्नु भनेको एकीकरणको प्रकृया होइन विगतमा पनि कम्युनिष्ट पार्टी र गैरकम्युनिष्ट पार्टीबीच मोर्चाबन्दी भएको थियो अहिले पनि त्यस्तै भएको हो एकीकरणको कुनै सम्भावना छैन ।’
माओवादी केन्द्रका नेता रामकुमार शर्माले पनि तत्काल पार्टी एकीकरणको कुनै सम्भावना नरहेको बताउनुभयो । अहिले यो मोर्चामार्फत काम कारवाही अगाडि बढाउँछन्, चुनावका नजिक गएर अवस्था कस्तो सृजना हुन्छ त्यसको आधारमा थप निर्णय लिन सक्ने अवस्था बन्न सक्छ तर अहिले नै एकताको विषयमा कुनै चर्चा नरहेको दावी गर्नुभयो । जसपाका अध्यक्ष उपेन्द्र यादवले कम्युनिष्ट पार्टी वा माओवादी पार्टीलाई कुनै पनि हालतमा स्विकार गर्ने पक्षमा नरहेको कुरा आफ्नो बुझाई रहेको बताउँदै उहाँले माओवादीले नै आफ्नो नाम परिवर्तन गर्यो भने भविष्यमा त्यो अवस्था आउनसक्छ तर अहिले आफूले त्यस्तो कुनै सम्भावना नदेखेको बताउनुभयो ।
तपाईको प्रतिक्रिया