Khadya Bibhag

सिंहदरवारमा अजित डोभालको नक्कल

भारतको ‘जेम्स बोण्ड’ को रुपमा चर्चित राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको नक्कल सिंहदरवामा पनि भएको छ । प्रधानमन्त्री प्रचण्डले अजित डोभालको जस्तै राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागीलाई नियुक्त गरेको छ । तीन महिनापछि अवकाश पाउन लाग्नु भएका बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो । भनिन्छ, भारतका डोभाल जतिकै शक्तिशाली बैरागीलाई पनि बनाउन लागेको हो ।
अन्य देशमा राष्ट्रिय सुुरक्षा सल्लाहकार हुने गरे पनि नेपालमा पहिलो पटक यस्तो नियुक्त गरिएको हो । अर्थात बैरागी पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत बन्न सफल हुनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ । त्यस्तै रक्षा मन्त्रालयका सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य–सचिवको जिम्मेवारीमा हुन्छन् । त्यस्तै परिषद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सरकारका मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने गर्छन् ।
भारतमा डोभाललाई उहाँको क्षमता देखेर प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्नुभएको थियो । तर बैरागीको क्षमता सुरक्षा क्षेत्रमा त्यति सन्तोषजनक छैन । उहाँले आफ्नो सम्पूर्ण सेवाकालिन समय कुटनीतिक क्षेत्रमा बिताउनु भएको छ ।
उहाँसँग सुरक्षा क्षेत्रको विषयमा कुनै अनुभव नरहेको एक सुरक्षा विज्ञले बताउनुभयो । लामो समय परराष्ट्र सचिव भएर काम गर्नुभएका बैरागी पहुँचकै आधारमा मुख्य सचिव हुनुभयो र पहुँचकै आधारमा रिटायर्ड हुनुभन्दा पहिले नै राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त हुनुभयो, उहाँले कहिले सुरक्षाको क्षेत्रमा काम गर्नुभएको छैन अनि उहाँ कसरी सल्लाहकार हुनुभयो बुझ्न नसकेको टिप्पणी त्यो विज्ञको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला मुख्यसचिव बन्नुभएका बैरागी परराष्ट्र सेवाबाट अवकाश पाउन एक हप्ता मात्र बाँकी थियो । त्यतिबेला नै तत्कालिन प्रधानमन्त्री ओलीलाई उहाँलाई मुख्यसचिव बनाउनु भएको थियो । त्यही मुख्यसचिव बैरागीको कार्यकाल सकिन लाग्दा प्रधानमन्त्री प्रचण्डले उहाँलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गर्नुभएको छ । डोभाल जसरी भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको मातहतमा रहेर विशेष सल्लाहकारको रुपमा काम गरिरहनु भएको छ त्यसरी नै बैरागी पनि प्रधानमन्त्री प्रचण्डको राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा काम गर्ने बताइएको छ ।
तर डोभाल जस्तो अनुभवी नभएको कारण त्यो क्षेत्रमा सफल हुनेमा धेरैले अशंका व्यक्त गरेका छन् । डोभाललाई इन्टलिजेन्सको क्षेत्रमा सबभन्दा खतरा खेलाडी मानिन्छ । उहाँले भारतका लागि धेरै ठूला ठूला मिसन सफल पार्नुभएको छ । भारतका लागि डोभलले गरेका जासुसीका बारेमा कथा जस्तो सुनाइन्छ । उहाँको बारेमा भारतमा फिल्म पनि बनेको छ ।
पाकिस्तानमा सात वर्षसम्म जासुसी गरेर बस्नु भएका डोभाले आफ्नो जीवनमा थुप्रै चुनौतीको सामना गर्नुभएको छ । बैरागी जस्तो सिंहदरवारमा शक्ति केन्द्रको वरिपरी बसेर मात्र समय काट्नु भएको छैन । डोभालको नाम सुन्नै बित्तिकै कतिपय देश थर्कमान हुन्छ ।
डोभाल भारत उत्तराखण्डका हुनुहुन्छ । उहाँको बुवा पनि आर्मीमा हुनुहुन्थ्यो । उहाँको पढाई लेखाई समेत आर्मी स्कूलमा भएको हो । सन् १९६८ मा आइपीएस बन्नुभएका डोभाल चार वर्षसम्म प्रहरी सेवामा काम गर्नुभयो । सन् १९७२ मा इन्टलिजेन्स ब्युरो (आइबी) मा ज्वाइन गर्नुभएका उहाँ २००५ मा आइबीको डाइरेक्टरबाट रिटायर्ड हुनुभएको थियो । रिटायर्ड भएपनि उहाँ आज पनि सुरक्षाकै क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । त्यहीं डोभालको नक्कल गर्नुभएका बैरागी विसं २०४४ मा परराष्ट्र सेवामा प्रवेश गर्दा बैरागी सुब्बा तहका कर्मचारी हुनुहुन्थ्यो ।
केही वर्षपछि लोकसेवाको प्रतिस्पर्धाबाट परराष्ट्र सेवाको अधिकृतमा नाम निकाल्न सफल बैरागी उपसचिव र सहसचिवम्म पुग्नु भएको थियो । जेनेभा (स्विट्जरल्यान्ड) स्थित संयुक्त राष्ट्रसंघीय नियोगमा नेपालको तर्फबाट केही राजदूत पनि बन्नुभएका परराष्ट्र सेवामा वरिष्ठतम् सहसचिव बैरागी नै रहेकाले राजदूतको कार्यकाल पूरा नहुँदै उहाँ मन्त्रालय फर्किनु भएको थियो । दुई वर्ष ‘कामु सचिव’ मा काम गर्नुभयो । २०७३ मा परराष्ट्र सचिवमा बढुवा भएपछि करिब चार वर्षपछि उहाँ मुख्यसचिव बन्नुभएको थियो ।
अहिले सुरक्षा सल्लाहकार नियक्त हुनुभएको छ । सुरक्षा र परराष्ट्र सम्बन्धी कुनै वार्ता वा छलफल गर्नु पर्दा भारतका प्रधानमन्त्री मोदीले डोभाललाई अघि सार्ने गर्नुहुन्छ । डोभालले नेपाल मामिला पनि हेर्नुहुन्छ । नेपालसँग रहेका कतिपय असमझदारीलाई सल्टाउने काम डोभालले गर्नु भएको छ । भारतसँग कुनै कुटनीति मामिलामा छलफल गर्नुपर्दा प्रधानमन्त्री होस् वा कुनै मन्त्री वा कुनै उच्च पदस्था अधिकारी अथवा कुनै शीर्ष नेता नै किन नहोस् पहिलो छलफल डोभालसँग नै गर्नुपरेको हुन्छ ।
किनभने त्यस तहको अध्ययन वा त्यो पदको मान्छे नेपालमा नभएको कारण प्रधानमन्त्रीले समेत डोभालसँग छलफल गर्नुपरेका कारण परराष्ट्रमा लामो अनुभव बनाउनु भएका बैरागीलाई राष्ट्रि सुरक्षा सल्लाहकार बनाएको स्रोतले दावी गरेको छ । अब भारतसँग कुनै वार्ता वा संवाद गर्नुपर्दा बैरागीले सिधै डोभालसँग गर्नुहुनेछ । सुरक्षा क्षेत्रमा अनुभवै नभएका व्यक्ति कसरी बन्नुभयो सुरक्षा सल्लाहकार भनि जिज्ञासामा बैरागीले सुरक्षा सल्लाहकारको उदाहारण दिँदै अहिले त्यहाँ सुरक्षा सम्बद्ध व्यक्ति छन् त्यहाँ पनि पहिलो सुरक्षा सल्लाहकार पूर्व परराष्ट्र सचिव शिवशंकर मेनन रहेको प्रतिकृया दिनुभयो ।
त्यसअघि सुरक्षाकै व्यक्ति भए पनि पहिलो र दोस्रो सल्लाहकार परराष्ट्र मन्त्रालयका पूर्वसचिव रहेको बताउँदै उहाँले रक्षा कूटनीति पनि समग्र कूटनीतिकै एक पाटो रहेको हुनाले सरकारले मलाई त्यहाँ राखेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया