‘सानालाई ऐन, ठूलालाई चयन’ भनाई अहिले कुनै पार्टीसँग मेल खान्छ भने त्यो हो जनता समाजवादी पार्टी नेपाल । जसपाका कार्यकर्ताहरुले भन्न थालेका छन्, नियम कानुन त सानाका लागि मात्र हो, ठूलाका लागि त त्यो हतियार हो चाहिएको बेला जो माथि पनि चलाउन सक्छन् । जसपामा तल्लो तहका नेता तथा कार्यकर्ताहरु यतिखेर दुखि र चिन्तित देखिएका छन् ।
२०७४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीभित्र अन्तर्घात गरेको भन्दै पार्टीले छानविन गरी दोषीलाई कारवाही गरेको छ । तर कारवाही सबै सानो तहका नेता तथा कार्यकर्तालाई भएको छ । सोझा सिधा निमुखालाई भएको छ, जसले पार्टीका अन्तरर्घात गर्न हिम्मत नै गर्दैनन् । जसपाका एकजना केन्द्रिय सदस्यले भन्नुभयो, ‘चुनावमा अन्तरर्घात गरेको नाममा कारवाही गरेको नामावली हेर्नुस् र त्यसको ब्याकग्राउण्ड पत्ता लगाउनुस् कुन हैसियतका नेता हुनुहुन्छ, अन्तरर्घात गरेर आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्छ कि सक्दैन त्यो स्पष्ट हुन्छ ।’
चुनावमा अन्तरर्घात गरेर पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेताहरुलाई ककसले कसरी चुनाव हराए ती सबै कुरा प्रतिवेदनमा उल्लेख छ । त्यो प्रतिवेदनमा सबैको बयान छ । गलत गरेकाहरुको विरुद्धमा प्रमाणसहित उजुरी परेका चिठी पत्र छन् ती सबै अध्ययन गर्दा सबै कुरा स्पष्ट हुन्छ । ठूला नेताहरुलाई बचाउने काम भएको छ । उपेन्द्र यादवलाई कसले हराउनमा भूमिका खेले सञ्चारमाध्यममा मात्र आएको होइन यो कुरा अध्यक्ष उपेन्द्र यादवलाई पनि थाह छ, पार्टीबाट निष्काशनमा परेका एक केन्द्रीय सदस्यले सहारा टाइम्ससँग भन्नुभयो, ‘पार्टीका अध्यक्ष उपेन्द्र यादवजीले शैलेन्द्र साह, मनिष सुमन, मृगेन्द्रकुमार सिंह, रेणु यादव, दिनेश कार्तुसलगायतलाई कारवाही गर्न किन आँट गर्न सक्नु भएको छैन सबैतिर प्रश्न उठेको छ ।’
यदि उहाँहरु दोषी होइन भने पार्टीले विस्तृत प्रतिवेदन मिडिया सामु सार्वजनिक गरोस् दुधका दुध पानीका पानी हुन्छ भन्दै उहाँले को दोषी छन् त्यसका सबै प्रमाण उपेन्द्र यादवले आफ्नो दराजमा थन्काएर राख्नु भएको छ, पार्टीभित्रका कसैलाई हेर्न पनि दिनुभएको छैन । त्यो पोकामा के छन् त्यो कुरा छानविन समितिका सदस्य र उपेन्द्र यादवबाहेक कसैलाई थाह छैन ।
पार्टीमा कसैलाई कारवाही गर्नुभन्दा पहिले त्यसलाई स्पष्टिकरण दिने मौका दिनुपर्छ । फाँसी दिनुभन्दा पहिले उसको इच्छा सोधिन्छ तर यहाँ जसपामा सिधै एकैपटक फाँसी नै दिएको गुनासो एक नेताले गर्नुभयो । विगतमा पनि चुनावमा अन्तर्घात भएको भन्दै छानविन समिति बनेको थियो । तर त्यो कहिले सार्वजनिक भएन, न कसैलाई कारवाही भए । यसपटक पार्टीका अध्यक्ष उपेन्द्र यादव आफू स्वयं परेपछि प्रतिवेदनलाई कार्यान्वयमा ल्याउनु भएको हो ।
कार्यान्वयनमा ल्याउनु राम्रो कुरा हो तर सत्य तथ्यका आधारमा प्रतिवेदन सार्वजनिक गर्नुपथ्र्यो । सानालाई कारवाही गरेर ठूलालाई तर्साउने काम पार्टीले गरेको छ । कतिपयको संलग्नता नै छैन तर त्यतिकै कसैले उजुरीमा नाम हालिएको आधारमा दोषी देखाएर कारवाही गरेको कारण धेरैको चित्त दुखेको ती नेताले बताउनुभयो । असार ९ गते केन्द्रीय समिति बैठकबाट पाँच जनालाई कारवाहीको घोषणा गर्दा बैठक स्थलमै होहल्ला भएको थियो । त्यसपछि बाध्य भएर उपेन्द्र यादवले कारवाहीप्रति जजसको चित्त बुझेको छैन उसलाई १५ दिनभित्र पुरनारवेदन गर्न भन्नुभएको छ तर जसले जति पुनरावेदन गरेपनि कुनै सुनुवाई हुनेबाला छैन किनभने ठूलालाई बचाउनका लागि यी प्रपञ्च भएको बताइन्छ ।
जसरी प्रहरीहरुले कुनै भिआइपीलाई बचाउनका लागि कुनै कमजोर मान्छे, तल्लो तहका मान्छेलाई समातेर सार्वजनिक गरेका हुन्छन् त्यसरी जसपा नेपालमा पनि भएको छ, ठूलालाई बचाउनका लागि सानालाई कारवाही गरेको गुनासो पार्टीभित्र भइरहेको छ ।
तपाईको प्रतिक्रिया