काठमाडौँ असार ३१ गते । भारतीय राजदूतावासले विभिन्न विभिन्न संघ संस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।
भारतीय दूतावासमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री अशोक कुमार राईको उपस्थितिमा भएको कार्यक्रमा सो एम्बुलेन्स तथा स्कूल बसका चाबी हस्तान्तरण गरेको दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा शिक्षा मन्त्री राइले भारत सरकारको सहयोगमा नेपालमा जारी विकास परियोजनाको चर्चा गर्नुभयो । ती परियोजनाले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउदै लैजाने बताउँदै उहाँले नेपालको हिमालदेखि तराईसम्मका विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग गरेकोमा भारत सरकारको प्रशंसा गर्नुभयो ।
भारतीय राजदूत नविन श्रीवस्तवले यो एम्बुलेन्स तथा स्कूल बसको हस्तान्तरणले स्वास्थ्य तथा शिक्षाको क्षेत्रको विकासमा थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारत सरकारको लामो समयदेखिको परम्परा रहेको बताउनुभयो ।
उहाँले यो कार्यक्रम भारत र नेपालबीचको बलियो विकास साझेदारीकै एक अंशको रुपमा रहेको जानकारी दिनुभयो । लामो इतिहास र विरासत बोकेको र नेपालका धेरै जसो भूभागमा फैलिएको यस कार्यक्रमले जनजीवनलाई सहज बनाउनुका साथै नेपालको विकास यात्रामा मूर्त प्रगति ल्याउन मद्दत गरेको पनि हाँले बताउनुभयो ।
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्रको उच्च प्राथमिकतालाई ध्यानमा राख्दै भारतले सन् १९९४ यता भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न संघ संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।
सन् १९९४ यता भारतले आजको सहित हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ ।
यो सहयोग स्वास्थ्य तथा शिक्षा सुविधालाई सुदृढ बनाउन नेपालले गरेको प्रयासमा बल पुर्याउन र यस्ता सुविधाको सहज भौतिक पहुँचलाई सहजीकरण गर्न भारत सरकारले गदै आएको निरन्तर सहयोगको एक हिस्साको रुपमा रहेको छ ।
तपाईको प्रतिक्रिया