सहारा टाइम्स
काठमाडौँ भदौ १५ गते
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका क्रममा बगेर चितवनसम्म पुगेका र पहिचान खुल्न नसकेका १०३ जनाका शवलाई जिल्ला प्रशासन कार्यालय चितवनले देवघाटस्थित चितवनतर्फको जङ्गल क्षेत्रमा जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरेको छ ।

बाढीपछि चितवन जिल्लाका विभिन्न नदी किनार तथा भूभागबाट हालसम्म कुल २ सय ७२ वटा शव फेला परेका छन् । तीमध्ये १० वटा शवको मात्र सनाखत भई आफन्तले जिम्मा लिएर लगेका छन् । पहिचान हुन नसकेका बाँकी शवमध्ये १०३ वटा शवलाई आवश्यक विवरण, कोड नम्बर र सङ्केत चिन्ह सुरक्षित राख्दै माटोमुनि व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले जानकारी दिनुभएको छ ।

प्रशासनका अनुसार शव व्यवस्थापन गरिए तापनि भविष्यमा पहिचानको ढोका खुला राखिएको छ । सबै शवको डीएनए परीक्षणका लागि नमुना र औँठाछाप सुरक्षित राखिएकाले भविष्यमा डिएनए म्याचिङमार्फत पहिचान खुलेमा आफन्तले प्रशासनसँग समन्वय गरी शव झिकेर लैजान सक्ने व्यवस्था मिलाइएको छ।लगातार शवको सङ्ख्या बढ्दै जाँदा लामो समयसम्म खुला वा होल्डिङ सेन्टरमा राख्दा स्वास्थ्य तथा वातावरणीय जोखिम तीव्र रूपमा बढ्ने भएकाले प्रशासनले आवश्यक कानुनी र प्राविधिक प्रक्रिया पूरा गरी सम्मानपूर्वक अन्त्येष्टि तथा व्यवस्थापन गरेको जनाएको छ ।

हरेक शवको अभिलेख र सङ्केत कोड सुरक्षित रहेकाले आगामी दिनमा आफन्तको खोजी तथा पहिचान प्रक्रियामा सहज हुने विश्वास लिइएको छ।


तपाईको प्रतिक्रिया