Khadya Bibhag

काँग्रेसमा श्रीमतीमार्फत छिर्दैछ हिन्दु राष्ट्रको कुरा

नेपाली काँग्रेसमा तीन श्रीमतीको विशेष चर्चा हुने गरेका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवाका श्रीमती आरजु राणा देउवा, जेलमा रहनु भएका काँग्रेसका नेता बालकृष्ण खाँणका श्रीमती मञ्जु खाँण र काँग्रेसका नेता एवं परराष्ट्र मन्त्री एनपी साउदका श्रीमती ज्योत्सना साउद काँग्रेस पार्टीका चर्चित श्रीमतीहरु हुनुहुन्छ । उहाँहरु नेपालको राजनीतिकदेखि समाजिक कार्यमा पनि दख्खल राख्नु भएको हुनाले चर्चामा रहि रहनु हुन्छ ।

तीन जनामध्ये आरजु र मञ्जु नेपाली राजनीतिका चर्चित अनुहार हुनुहुन्छ । उहाँहरु प्रतिनिधि सभाका सदस्य पनि हुनुहुन्छ । ज्योत्सना पनि काँग्रेस पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ । तर राजनीतिमा आरजु र मञ्जु जस्तो हस्तक्षेपकारी भूमिकामा हुनुहुन्न ।

विश्व हिन्दु महासंघमा मधेश प्रदेशबाट उपाध्यक्ष बन्नु भएका ज्योत्सनाले समाजिक काममा विशेष रुची राख्नु हुन्छ । र, त्यसैमार्फत उहाँ विशेष चर्चामा रहदै आउनुभएको छ । भारतका सत्तारुढ दल भारतीय जनता पार्टीसँग विशेष सम्बन्ध राख्नु भएका ज्योत्सनाले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्छ भनि अभियानमा हुनुहुन्छ । हिन्दु राष्ट्रको कुरा काँग्रेस पार्टीमा लैजाने ज्योत्सना नै हुनुहुन्छ । हिन्दु राष्ट्रका लागि आफ्नो श्रीमान एनपी साउदलाई समेत कन्भिनस गरिसक्नु भएका उहाँले नेपाललाई कुनै पनि हालतमा हिन्दु राष्ट्र बनाउनु पर्छ अभियानलाई साथ दिनका लागि नै विश्व हिन्दु महासंघमा आवद्ध हुनुभएको हो ।

नेपाली काँग्रेसका एक जना केन्द्रीय सदस्य भन्नुहुन्छ, ‘हिन्दु राष्ट्रका लागि ज्योत्सना भाउजु जतिको कट्टर एनपी दाजु हुनुहुन्न तर पार्टीमा हिन्दु राष्ट्रको कुरा उठ्यो भने उहाँले नाइ भन्नुहुन्न ।’ डा.शशांक कोइरालालगायत अन्य माध्यमबाट काँग्रेस पार्टीमा हिन्दु राष्ट्रको कुरा उठेकै हो त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष एनपी साउदको समर्थन हुन्छ नै । त्यसको कारण हुनुहुन्छ, ज्योत्सना साउद ।

प्रधानमन्त्री प्रचण्ड जेठमा भारत भ्रमणमा गएको बेला महाकालेश्वरमा भव्य पुजा पाठ गराउनेमा ज्योत्सनाको पनि सुझाव रहेको बुझिएको छ । भ्रमण टोलीमा रहनु भएका एनपी साउद पुजापाठमा त्यति मतलब राख्नु हुन्न । तर ज्योत्सनाको करकापमा उहाँले महाकालेश्वरमा गेरुवावस्त्र धारण गरेर पुजापाठ गर्न तयार हुनुभएको बताइन्छ ।

गेरुवस्त्रमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूले पूजा गरेपछि १०८ किलोग्राम रुद्राक्ष पनि चढाउनु भएको थियो । मन्दिरमा चढाएको सो रुद्राक्ष एनपी साउदले नै लग्नुभएका थियो । महाकालेश्वर मन्दिरमा रुद्राक्ष चढाएको विषयले परराष्ट्र मन्त्री साउद चर्चामा रहनु भयो । र यी सबै काममा ज्योत्सनाको हात रहेको स्रोतहरुको दावी छ । विश्व हिन्दु महासंघले ‘राष्ट्ररक्षा र धर्मरक्षाको महाअभियान, हिन्दू राष्ट्र नेपालको एक मात्र पहिचान’ लाई आत्मसात् गर्दै आएको छ । सन् २०१६ मा स्थापना भएको महासंघको ‘केवल कार्यले हामीलाई परिभाषित गर्नेछ (अस्माकं कार्याणि अस्मान्सावधीकरिष्यंति)’ भन्ने दर्शन रहेको छ । यही दर्शनलाई आत्मसात गर्नुभएका ज्योत्सना हिन्दु राष्ट्र स्थापनाका लागि अभियान चलाई रहनु भएको छ ।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेले जसरी आरजु देउवासँग पारिवारिक सम्बन्ध बनाउन सफल हुनुभएको छ । त्यसरी ज्योत्सनासँग पनि सम्बन्ध बनाउनु भएको छ । हिन्दु धर्मका लागि भाजपाका नेताहरुले ज्योत्सनाको सम्पर्कमा हुन्छन् । सुदुरपश्चिम प्रदेश सरकारको सहयोग र सुदुरपश्चिम विश्वविद्यालयको मूख्य आयोजनामा गत अप्रिलमा भएको मनसखण्ड सम्मेलनलाई सफल बनाउन विश्व हिन्दु महासंघका उपाध्यक्ष रहनु भएका ज्योत्सना साउद पनि लाग्नु भएको थियो ।

त्यतिबेला उहाँले सामाजिक सञ्जाल ट्विटरमा सो सम्मेलनले नेपाल भारत सम्बन्धलाई आध्यात्मिक र सांस्कृतिक रूपमा बलियो पार्ने र धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने बताउनु भएको छ । उहाँले ट्वीटरमा लेख्नु भएको थियो, ‘ सुदुरपश्चिममा आयोजित ‘मानसखण्ड सम्मेलन’ यस क्षेत्रको भौगोलिक, आध्यात्मिक र पर्यटकीय विकासको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण रहेको छ । माननीय डा.आरजु देउवाज्यूको प्रमुख आथित्यता र भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेज्यूको विशिष्ट आथित्यताले सम्मेलनलाई थप गरिमामय र बिशिस्ट बनाएको छ ।’ सो सम्मेलन सम्पन्न भएपछि भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले काठमाडौँ पनि आउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डदेखि परराष्ट्र मन्त्री एनपी साउद, काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर फर्किनु भएको थियो ।

तपाईको प्रतिक्रिया