सिके राउत कार्यकर्ताको पहुँच उपेन्द्र महतोको ‘किचेन’ सम्म !
२४ श्रावण २०८०, बुधबार २२:५७
जनता समाजवादी पार्टीका तर्फबाट वन तथा वतावरण मन्त्री बन्नुभएका डा.विरेन्द्र महतोको नीजि सचिवालयमा सिके राउत अध्यक्ष रहेको जनमत पार्टीका केन्द्रीय सदस्य रुकेश साह नियुक्त भएपछि पार्टीभित्र विभिन्न टिका टिप्पणी सुरु भएका छन् । जसपाका कतिपय युवाले विद्रोहको चेतावनी दिएका छन् भने कतिपयले वन मन्त्रीका राजिनामा पनि मागेका छन् । तर अहिलेसम्म रुकेश साह कसरी स्वकीय सचिवमा नियुक्त हुनुभयो त्यसको जानकारी पार्टी वा मन्त्री महतोको नीजि सचिवालयले जानकारी गराएको छैन ।
तर सहारा टाइम्सले यसको बारेमा केही तथ्यहरु फेला पारेको छ । रुकेश साह जनमतबाट आएर मन्त्री महतोको स्वीकय सचिव मात्र होइन, डा.उपेन्द्र महतोको किचेनसम्म आफ्नो पहुँच बनाउनु सफल हुनु भएको छ । रुकेश साहले उपेन्द्र महतो परिवारका सबै सदस्यको मन जित्न सफल भएर किचेनदेखि बेडरुमसम्म कसरी पहुँच बनाउन सफल हुनु भएको छ । त्यसको कथा सिरहाका रुकेश साहको घर लिलामीबाट सुरु हुन्छ । विरेन्द्र महतो अध्यक्ष रहेको माछापुच्छ्रे बैकबाट रुकेश साहले ऋण लिनुभएको थियो । तर समयमा सो ऋण चुक्ता नगर्दा घर लिलामी हुने अवस्थामा पुगेको छ ।
बैंकले रुकेश साहलाई पटक पटक ताकेता गरेर हेरान पारेको थियो । तर उहाँले ऋण तिर्न सकिरहनु भएको थिएन । आज भोलीमै लिलामी हुने अवस्थामा पुगिसकेको थियो । रुकेश साहको तनाव सुरु भएको थियो । त्यसपछि उहाँले एउटा उपाय निकाल्नुभयो, उद्योगपती डा.उपेन्द्र महतोका भाइ डा. विरेन्द्र महतो जसपाबाट सिरहा क्षेत्र नम्बर ४ बाट चुनावमा उठ्ने भएपछि त्यसको नजिक हुने र केही समयका लागि भए पनि लिलामी हुनबाट घरलाई जोगाउने ।’ तर विरेन्द्र महतोको नजिक कसरी हुने त्यसको उपायको खोजीमा लाग्नुभयो उहाँ । विरेन्द्र महतोको चुनाव अभियानमा सबभन्दा नजिकको व्यक्ति हुनुहुन्थ्यो विष्णु साह ।
रुकेश साहले विष्णु साहलाई समात्नुभयो । ‘म चुनावमा सहयोग गर्छु, मसँग यति भोट छ, मेरो पकड यहाँ छ, मेरो पकड त्यहाँ छ’ भन्दै विष्णु साहलाई कन्भिन्स गर्न थाल्नुभयो । नेता भएको कारणले पहिलादेखि नै दुवैजनामा चिनजान थियो । तर गहिरो सम्बन्ध थिएन । चुनावमा एउटा भोटका लागि मान्छे कति हैरान हुन्छ, रुकेश जनमत पार्टीका नेता भएको कारण पक्कै पनि उहाँसँग केही न केही भोट होला भनि विष्णु साहले चासो लिन थाल्नुभयो । विरेन्द्र महतोलाई चुनावमा फुली सहयोग गर्छु, त्यसका लागि केही दिन भए पनि घरलाई लिलामीबाट जोगाई दिनु पर्यो, म पैसाको व्यवस्था गरेर ऋण तिरि दिन्छु भनि प्रस्ताव रुकेश साहले विष्णु साह समक्ष राख्नु भएको थियो ।
विष्णु साहले विरेन्द्र महतो र चन्देश्वर पासवानलाई भनेर एक डेढ महिनाका लागि घर लिलामी हुनबाट बचाई दिनुभएको थियो । बैंकले पनि चुनावसम्म ताकेता नगर्ने भनि चुपचाप बस्यो । त्यसपछि रुकेश विरेन्द्र महतोको चुनाव प्रचारमा सक्रिय हुनुभयो । सुरुमा विष्णु साहको सम्पर्कमा बसेर कार्यकर्ताको भेला गर्ने, चुनाव प्रसार गर्ने । विष्णु साहको मार्फत विरेन्द्र महतोलाई कार्यक्रमहरुमा लैजाने काम गर्न थाल्नुभयो । पछि विष्णु साहलाई छाडेर रुकेश साहले सिधै विरेन्द्र महतोलाई सम्पर्क गर्न थाल्नुभयो ।
कुनै ठाउँमा कार्यकर्ता भेला गरेर सिधै विरेन्द्र महतोलाई फोन गरि कार्यक्रममा सहभागी गराउनु हुन्थ्यो । पछि विरेन्द्र महतोसँग नै हिड्न थाल्नुभयो । त्यति मात्र होइन, चुनावकै लागि रसियाबाट आउनु भएका उपेन्द्र महतोका अर्को भाइ सुरेन्द्र महतोको सम्पर्कमा पनि उहाँ जानुभयो । विदेशबाट आएको कारण सुरेन्द्र महतोलाई पनि चुनावी क्षेत्रमा घुमफिर गर्न एउटा मान्छे चाहिएको थियो । रुकेश साह विस्तारै विस्तारै विरेन्द्र महतोको साथ छाडेर सुरेन्द्र महतोको साथमा घुम्न थाल्नुभयो ।
सुरेन्द्र महतोको माध्यमबाट उपेन्द्र महतोको घरसम्म पुग्नुभयो । घरका सदस्यसँग घुलमिल हुन थाल्नुभयो । सोही क्रममा उहाँले उपेन्द्र महतोका श्रीमती समता महतोसँग पनि चिनजान गर्नुभयो । घरमा आउजाउ गर्न थाल्नु भयो । घरका समानहरु बजारबाट ल्याइ दिने, अह्राएका कामहरु फटाफट गरि दिने, केटाकेटीलाई घुमाउन लैजाने जस्ता कामहरु पनि उहाँले गर्न थाल्नुभयो । विस्तारै विस्तारै घरका सबै सदस्यसँग उहाँले चुनावकै समयमा चिनजान भयो । यहाँसम्म कि उहाँले सिधै उपेन्द्र महतोसँग पनि कुराकानी गर्न थाल्नुभयो ।
विरेन्द्र महतो चुनाव जित्नुभयो । विजय जुलुसहरु हुन थाल्यो । सुरेन्द्र महतो र उपेन्द्र महतो काठमाडौँ फर्केपछि रुकेश पनि पछि पछि काठमाडौँ आइपुग्नुभयो । सुरेन्द्र महतो र उपेन्द्र महतोको वरिपरी देखिन थाल्नुभयो । उहाँहरुको काठमाडौँस्थित घरमा पनि आउजाउ गर्न थाल्नुभयो । घरको काममा उहाँले सहयोग गर्न थाल्नुभयो । बच्चाहरुलाई घुमाउन थाल्नुभयो । विरेन्द्र महतो संसद भएर सपथका लागि काठमाडौँ आएपछि रुकेश सबभन्दा बढी सक्रिय हुनुभएको थियो । सबै कुराको व्यवस्थापन उहाँले नै गर्न थाल्नुभयो । स्रोत भन्छ, रुकेश साह सांसदकै स्वकीय सचिवमा बस्न खोज्नु भएको थियो । तर विरेन्द्र महतोले उहाँलाई लिन मान्नुभएन ।’
स्वकीय सचिवमा नराखे पनि रुकेश साह विरेन्द्र महतोको वरिपरी रहन थाल्नुभयो । विरेन्द्र महतोको बच्चाहरुलाई बजार घुमाउने, बजारबाट समानहरु खरिद गरेर ल्याई दिने जस्ता काम पनि गर्न थाल्नुभयो । उपेन्द्र महतो, सुरेन्द्र महतो, विरेन्द्र महतोको नजिक नजिक देखिन थालेपछि उहाँलाई अरुअरुले पनि मान्न थाले । विरेन्द्र महतो मन्त्रीको सपथ लिँदा त्यहाँ परिवारका सदस्यहरु कसरी लैजाने, कसरी ल्याउने त्यसको सारा व्यवस्थापन रुकेश साहले नै गर्नुभएको थियो । विरेन्द्र महतो मन्त्री भएपछि रुकेश महतो झन सक्रिय हुनुभयो । उहाँको स्वकिय सचिव बन्नका लागि भनसुन गराउन थाल्नुभयो ।
स्रोतका अनुसार, विदेशमा रहेका सुरेन्द्र महतो, विरेन्द्र महतोका श्रीमती समता महतोबाट समेत विरेन्द्र महतोलाई स्वकीय सचिवका लागि फोन गर्न लगाउनुभएको थियो । रुकेशलाई आफ्नो सचिवालयमा राख्ने इच्छा विरेन्द्र महतोको थिएन । तर घरकै सदस्यबाट पटक पटक दबाव आएपछि उहाँले राख्न तयार हुनुभएको स्रोतको दावी छ । र, यसरी विरेन्द्र महतोको स्वीकय सचिवदेखि किचनसम्म रुकेश साहले आफ्नो पहुँच बनाउन सफल हुनुभयो ।
रुकेश साह जनमतबाट आए पनि हालसम्म जसपामा आधिकारीक रुपमा प्रवेश गर्नुभएको छैन । वन मन्त्रालयमा जसपाका नेताहरुभन्दा बढी भिड जनमतका नेता तथा कार्यकर्ताको हुने गर्दछ । रुकेशलाई भेट्न अधिकाँश जनमतका नेताहरु नै मन्त्रालय पुगेका हुन्छन् । जनमतका नेताहरुलाई मन्त्री महतोसँग भेटाउने काम पनि उहाँले गर्नुहुन्छ ।
तपाईको प्रतिक्रिया