Khadya Bibhag

सिके राउतको साथ किन छाड्दैछन् नेताहरु ?

जनमत पार्टीमा पछिल्लो समय तीब्र असन्तुष्टि बढेको छ । जनमत पार्टी संसदीय राजनीतिमा आएपछि पार्टीभित्र अनेक असन्तुष्टिहरु बाहिर आएका छन् । पुराना नेताहरु कतिपय असन्तुष्ट भएर पार्टीको गतिविधिबाट अलग भएका छन् भने कतिपय पार्टी नै छाडेर हिडि सकेका छन् । असन्तुष्टिको पछिल्लो उदाहरण मधेश प्रदेशको सरकारलाई लिन सकिन्छ ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो एक जना मन्त्री र एक जना राज्यमन्त्रीलाई राजिनामा दिन लगाएर त्यस ठाउँमा पार्टीका महासचिव चन्दन सिंहलाई पठाउनु भएको छ । शिक्षा मन्त्रीमा महेश यादव पहिलादेखि नै हुनुहुन्छ । जनमत पार्टीका एक जना केन्द्रीय सदस्यले भन्नुभयो, ‘पार्टीमा योगदान गर्नेको कदर छैन त्यसको पछिल्लो उदाहरण मधेश प्रदेशमा मन्त्री हेरफेर हो ।’ योगदान र लगानीको कुरा गर्ने हो भने महेश यादव र चन्दन सिंहभन्दा वसन्त कुशवाहा र संजय यादवको कम योगदान छैन ।

चन्दन सिंह र महेश यादव यी दुई जनाभन्दा धेरैपछि जनमत पार्टीसँग जोडिनु भएको हो । तर सिके राउतले पुराना नेता तथा कार्यकर्तालाई किनारा लगाउँदै नयाँ नयाँलाई ठाउँ दिएको कारण पार्टीमा असन्तुष्टि बढ्दै गएको हो । अष्ट्रेलियामा रहनु भएका सिरहाका रमेश सिंहले भन्नुभयो, ‘मधेश गठबन्धनमा रहेर सिके राउतका साथमा काम गर्नुभएका अब थोरै नेता कार्यकर्ता उहाँसँग बाँकी रहनु भएको छ, हेर्दै जानु होला विस्तारै उहाँहरुले पनि छाडेर हिड्नु हुन्छ ।’

स्वतन्त्र मधेश गठबन्धनमा रहेर विदेशमा रहेर सिके राउतलाई सहयोग गरिरहेका थुप्रै नेता तथा कार्यकर्ता उहाँबाट असन्तुष्ट भएर बसेका छन् । सिके राउतले विदेशमा गठन गर्नुभएको गैर अवसायीय मधेशी संघमा अवद्ध रहेका अधिकाँश नेता तथा कार्यकर्ताहरु जनमतमा आवद्ध छैनन् । सिके राउतले स्वतन्त्र मधेश गठबन्धन छाडेर जनमत पार्टी बनाएपछि गैर अवसायीय मधेशी संघमा आवद्ध थुप्रै नेताहरु अहिले रुष्ट छन् ।

रमेश सिंह स्वयं गैर अवासीय मधेशी संघमा आवद्ध छन् तर जनमत पार्टीसँग कुनै सम्बन्ध राख्नु भएको छैन । उहाँ भन्नुहुन्छ, ‘विदेशमा गैर अवसायीय मधेशी संघमार्फत हुने कुनै कुनै कार्यक्रमहरुमा आवद्ध हुने गर्छु तर जनमतसँग कुनै सम्बन्ध छैन ।’ अहिले पनि कोही स्वतन्त्र मधेश गठबन्धनलाई ब्युत्याएर अगाडि बढे भने उसलाई आफ्नो साथ रहने बताउँदै उहाँले जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेताहरु अझै अहिले पनि सम्पर्क रहेको बताउनुभयो । उहाँहरुले रमेशलाई भन्नुहुन्छ, ‘लक्ष्य त्यही हो बाटो मात्र फेरिएको हो, त्यसैले मिलेर काम गरौं ।’

उहाँ इन्जिनियरिङ पास गरेर जागिर खाने बेलामा महत्वपूर्ण समय सिके राउतलाई दिनुभएको थियो । स्वतन्त्र मधेश गठबन्धनमा आवद्ध भएर चार वर्ष होलटाइमर भएर काम गर्नुभयो । जब सिके राउतले जनमत बनाउनु भयो । त्यसबाट बिरक्तिएर अध्ययनका लागि अष्ट्रेलिया जानु भयो । अहिले उहाँ दुई विषयमा मास्टर्स गर्नुभएको छ भने पिएचडीको तयारीमा हुनुहुन्छ ।

रमेश जस्ता थुपै्रै नेता कार्यकर्ताहरु छन् जो सिके राउतका लागि आफ्नो ज्यान दिन पनि तयार थिए तर आज उहाँको साथ छाडेका छन् । र अझै थुपै्रै नेता कार्यकर्ताहरु साथ छाड्ने क्रममा छन् । स्रोतका अुनसार सिके राउतको क्रियाकलापबाट असन्तुष्ट भएर इन्द्रजित यादव, डा.सूर्यनारायण यादव पनि विदेश फर्कि सक्नु भएको छ ।

सिके राउतका साथमा रहेर जनमत पार्टीमा सक्रिय राजनीति गर्दै आउनु भएका उहाँहरु विदेशका जागिर छाडेर नेपाल फर्किनु भएको थियो । चुनावमा खट्नु भयो । पार्टीका रकम पनि खर्च गर्नुभयो । तर चुनावपछि पार्टीको अध्यक्ष राउतको गतिविधि फरक देख्न थालेपछि उहाँहरु असन्तुष्ट भएर नेपाल छाडेर विदेश फर्किसक्नु भएको छ ।

त्यस्तै, विदेशमा रहेर सिके राउतका लागि काम गरेका डा.रविन्द्र यादवले पनि उहाँको साथ छाडि सक्नुभएको छ । जनमत पार्टी बनाएपछि डा.यादवले उहाँको साथ छाड्नु भएको हो । रविन्द्र यादवले पनि सिके राउतले पुरै मधेशलाई धोका दिनुभएको छ, उहाँका कारण थुप्रैै युवाको जीवन बर्बाद भएको छ । सिके राउतले मधेशको मुद्दा मात्र छाड्नु भएको छ, मधेशका थुप्रै युवाको जीवनसँग खेलबाड गर्नुभएको उहाँले दावी गर्नुभयो ।

सिके राउतको काँधमा काँध मिलाएर हिड्ने कैलाश महतो (महोत्तरी), जासर यादव (महोत्तरी), रामबाबु यादव (सर्लाही) लगायतले उहिले उहाँको साथ छाडेर हिडिसक्नु भएको छ । त्यस्तै, स्रोतका अनुसार सिरहाका विपिन्न यादव, बैद्यनाथ सिंह, अशोक कामती, सकिला यादव, धनुषाका राममणी साह, उपेन्द्र रोहिता, सुरेन्द्र रोहिता, सुरेन्द्र रोहितालगायतले सिके राउतको साथ छाडेका छन् । त्यसैगरि राजकुमार यादव (महोत्तरी), सुजित कुशवाहा (बारा), जमुना पुरी (बारा), संजय साह (पर्सा), प्रविण महतो (मोरङ), श्रीराम चौधरी (मोरङ), मञ्जरी थारु (मोरङ), राजकुमार मुखियाले पनि सिके राउतका साथ छाडि सक्नु भएको छ । उहाँहरु स्वतन्त्र मधेश गठबन्धनमा रहेर लामो समय सिके राउतका साथमा रहेर संघर्ष गर्नुभएको थियो ।

सुनसरीका देवराम मधेशी, अशोक मेहता, सर्लाहीका नगेन्द्र सिंह, रौतहटका विरेन्द्र यादव, बाँकेका इरफान शेख, जाविर हलुवाई, नवलपरासीका ध्रुव गौण, प्रकाश पासवना, दुर्गादेवी चौहान, सारा खातुन, विजय यादव, मदन यादव, कन्हैया भर, श्रीकृष्ण यादव, अमेरिका हरिजन, मनोज हरिजन, बेचु गौण, रुपन्देहीका संजय मिश्रा, दिलिप यादव, कपिलवस्तुका हकिकुँला खान, मनोज यादव, प्रकाश पाण्डेलगायतले पनि सिके राउतको साथ छाड्नु भएको हो । उहाँहरु सिके राउतका लागि लडाकु जस्तै हुनुहुन्थ्यो । एक इसारामा उहाँहरु जहाँ पनि हाम फाल्नु हुन्थ्यो । सिके राउतमाथि निकै भरोस गर्नुहुन्थ्यो तर आज सिके राउतका लागि ती सबै बेकार भएको इरफान अहमद शेखले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि त्यहाँ पुराना साथीहरु हुनुहुन्छ तर सिके राउतले कसैलाई रुचाउनु हुन्न ।’ सांसददेखि मन्त्रीसम्म केन्द्रीय समिति विस्तारदेखि विभिन्न जिम्मेवारी बाँडफाँडमा नयाँ नयाँहरुको हाली मुहाली छ, त्यो देखेर पनि पुराना नेता तथा कार्यकर्ताहरु विस्तारै विस्तारै साथ छाडि रहेको बताउनुभयो । पछिल्लो समय पाँच जनालाई पार्टीबाट कारवाही गरिएको छ । त्यसमध्ये एक जना शिवचन्द्र कुशवाह नयाँ हुनुहुन्थ्यो त्यसबाहेक सबै पुरानो हुनुहुन्छ । उहाँहरु स्वतन्त्र मधेश गठबन्धनदेखि सिके राउतलाई साथ दिँदै आउनु भएको थियो ।

शेखले भन्नुभयो, ‘सिके राउतले मधेशलाई धोका दिएको कुरा सबैले अनुभूती गरेका छन्, मधेशका एजेण्डा छाडेर सरकारी एजेण्डामा काम गरिरहेको हुनाले अब मधेशका खास मुद्दामा हामीले काम गर्ने गरि तयार भइरहेका छौं ।’ आफूले राष्ट्रिय स्वराज पार्टी पनि बनाएको र त्यसमार्फत मधेशमा संगठन बनाउनुको साथै मधेशको मुद्दामा बहस गर्ने काम पनि भइरहेको बताउँदै उहाँले सिके राउतका साथ छाडेका साथीहरुले आआफ्नो संगठन बनाएर क्रियाशिल छन् ती सबै संगठनलाई जोडेर एउटा साझा मञ्च बनाएर अगाडि बढ्ने तयारी भइरहेको बताउनुभयो । सिके राउतको एकलौटी निर्णयका कारण पार्टीमा असन्तुष्टि बढेको छ । मधेश प्रदेश सरकारबाट एकजना मन्त्री र एक जना राज्यमन्त्रीलाई फर्काएर अर्को मन्त्री र राज्यमन्त्री पठाउनेमा उहाँले कसैसँग सल्लाह पनि लिनुभएको थिएन । त्यसले गर्दा पार्टीभित्र असन्तुष्टि बढेका छ ।

त्यस्तै, संघीय सरकारका लागि अनिता साहको नाम प्रधानमन्त्रीलाई उहाँले बुझाउनु भएको छ । त्यसपछि विषयमा पनि पार्टीमा कुनै छलफल थिएन र छैन पनि । त्यस्तै, केन्द्रिय समिति सिके राउतले विस्तार गर्नुभएको छ तर त्यस विषयमा पनि कसैसँग छलफल नगर्ने कारण पार्टीभित्र असन्तुष्टि छ र नेता तथा कार्यकर्ताहरु आआफ्नो बाटो लाग्न थालेका छन् ।
जो जो सिके राउतको साथ छाडेका छन् ती सबै एक जुट हुन थालेका छन् । एक मधेश प्रदेश, समानुपातिक निर्वाचन प्रणाली, राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व, सेनामा समूहिक प्रवेश, रोजगारी सृजनालगायतका एजेण्डा अगाडि बढ्ने गरि उहाँहरु तयारी थालेका छन् ।

सिके राउतबाट अलग भएर स्वाधिन मधेश अभियान चलाई रहनु भएका कैलाश महतो, राष्ट्रिय स्वराज पार्टी चलाई रहेका इरफान अहमद शेख, नागरिक कर्जा मुक्त अभियान चलाई रहनुका अशेश्वर कामत, मधेश एकता समाज चलाई रहेका डा.रवीन्द्र यादवलगायत नेताहरु संगठित हुन थाल्नु भएको छ ।

स्वाधिन मधेश अभियानका संयोजक कैलाश महतोले सिके राउतबाट अलग भएका नेताहरु एक ठाउँमा संगठित हुने प्रयास भइरहेको बताउनुभयो । पछिल्लो जनमत पार्टीले बनाएको केन्द्रीय समितिका कारण पनि पार्टीमा असन्तुष्टि बढेको छ । नयाँलाई ठाउँ दिएको र पुरानालाई किनारा लगाएको भन्दै नेताहरु असन्तुष्ट छन् ।
(सहारा टाइम्स पत्रिकाबाट)

तपाईको प्रतिक्रिया