प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरर्गत सञ्चालित योजनामा काम गरेको श्रमिकलाई भगवानपुर गाउँपालिकाले पारिश्रमिक भुक्तानी नदिएको बिरुद्धमा श्रमिकहरु आन्दोलित भएका छन् । पारिश्रमिकका लागी उनीहरुले श्रमिक जितनी पासमानको अध्यक्षतामा १७ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।
सिरहाको भगवानपुर गाउँपालिका वडा नम्बर २ मा सञ्चालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरर्गतका योजनामा काम गरेका श्रमिकमध्ये ७५ प्रतिशतले पारिश्रमिक नपाएको आरोप श्रमिकहरुको रहेको छ । प्रधानमन्त्री स्वरोजगारअन्तरर्गत १७ लाख रुपियाँको कार्यक्रम थियो । एक सय दिन काम गरेपछि ती सबै रकम मजदुरहरुले नै पाउने सहमति भएको थियो । १७ जना मजदुरले त्यहाँ सय दिन काम पनि गरे । तर सहमति अनुसार उहाँहरुको खातामा रकम गएको छैन । सो कार्यक्रमका संयोजक डम्बर यादवले हालसम्म तीन लाख ४५ हजार रुपियाँ मात्र भुक्तानी दिनुभएको काम गरेका मजदुरले बताए ।
भगवानपुरका स्थानीय शिक्षक महेश यादवका अनुसार सहमति अनुसार दैनिक ६५० रुपियाँको दरले एक जना श्रमिकले सय दिनको ६५ हजार रुपियाँ पाउनुपर्ने हो तर प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले मजदुरको पुरा रकम नदिएको गोलमाल गरेको छ ।
१७ जनामध्ये ११ जनामा अलिअलि रकम गएका छन् बाँकी ६ जनाको खातामा सुको रकम पनि गएको छैन । १३ लाख रुपियाँमध्ये हामीलाई तीन साढे तीन लाख रुपियाँ मात्र दिएको छ, अरु पैसा त्यहाँका कर्मचारीले आफै खाएका छन् । हामीले मेहनत गरे अनुसार रकम पाउनुपर्छ त्यसका लागि हामी आन्दोलन गरिरहेका छौ, आन्दोलनमा उत्रिनु भएका कपुर कुमारी चौधरीले भन्नुभयो, ‘हामी सय दिनभन्दा बढी नै काम गरेका छौं नभए हाजिर चेक गरोस्, हामी त्यति माग्दैनौ सिर्फ हाम्रो १०० दिन बराबरको पारिश्रमिक दियोस् ।’
यो कार्यक्रम गत आर्थिक वर्षको नै हो । रकम भुक्तानी गरेर खाता पनि क्लोज भइसकेको छ । कार्यक्रमका संयोजक डम्बर यादवले उनीहरुले पाउनुपर्ने रकम आफूहरुले दिइसकेको र बाँकी रकम फ्रिज भइसकेकोे दावी गर्नुभयो । मजदुरहरुले आफ्नो खातबाट रकम झिकेका छैनन् । सबै रकम नपाएसम्म रकम पनि नझिक्ने आन्दोलन पनि नरोकिने उनीहरुको अडान छ ।
तपाईको प्रतिक्रिया