सिरहा क्याम्पस धारासायी हुनेमा जिम्मेवार को ?

ढिलै भएपनि स्वतन्त्र विद्यार्थी युनियन सिरहाले सिरहा क्याम्पसको बारेमा चिन्ता र चासो लिएर बहस र पैरवी गराएको छ । क्याम्पसको समस्याको पहिचान र समाधानका उपाय बिषयमा सरोकारबालाहरुलाई राखेर बहस गराउनु आफैमा सकारात्मक कुरा हो तर त्यो अनुसारको सुधार हुनु पनि आवश्यक छ । स्वतन्त्र विद्यार्थी यूनियन,सिरहाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले, मास्टर डिग्रीसम्म पढाइ हुने सूर्यनारायण सत्यनारायण नारायण मोरवैता यादव बहुमुखी क्याम्पस, सिरहाको पुस्तकालयमा पुराना पुस्तकहरु मात्र बाँकी छन् ।
करिब २० वर्षदेखि नयाँ पुस्तकहरु त्यहाँ राखिएको छैन । पुराना पुस्तकहरु भएको कारणले त्यहाँ पाठक तथा विद्यार्थीहरु जान छाडेका छन् । क्याम्पसमा अभावै अभाव छ । तराई मधेशको शिक्षाको हब जस्तै परिचित त्यो क्याम्पसको अवस्था हेर्दा जो कोहीको मन रुन्छ तर त्यहाँका व्यवस्थापन कानमा तेल हालेर बसेको गुनासो अन्तरक्रियामा भयो । उदयपुर, धनुषा, महोत्तरी, सप्तरी, सुनसरीसम्मका विद्यार्थी यो क्याम्पसमा पढ्न आउँथे । यो क्याम्पसको पठन पाठनको चर्चा देशैभर हुन्थ्यो तर व्यवस्थापनको लापरवाहीको कारण क्याम्पस भुतघरको रुपमा परिणत भइरहेको गुनासो सरोकारबालाहरुले गरेका छन् ।
प्राध्यापकको अभावको कारण नियमित पठन पाठन हुँदैन, भएका प्राध्यापकहरु पनि कक्षामा जाँदैनन्, शाखाहरुमा कर्मचारीको अभाव छ, भएका कर्मचारीहरु पनि आआफ्नो शाखामा बस्दैनन् । यस्ता समस्याहरु प्रतिक क्याम्पस प्रशासन संबेदनशिल नरहेको आरोप सहभागीहरुले लगाएका छन् । क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी र विद्यार्थीलगायतको सहभागितमा भएको सो कार्यक्रमको अध्यक्षता स्वतन्त्र विद्यार्थी युनियन, सिरहाका सभापति दिपेन्द्र यादवले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सिरहा क्याम्पसका प्रमुख रामहीत यादवले लामो समय सम्म स्वतन्त्र विद्यार्थी युनियनमा पदाधिकारी रिक्त रहेको र क्याम्पसमा अनावश्यक राजनीतिक हस्तक्षेपका कारण कामकाज गर्न गाह्रो भएको भन्दै आफ्नो जिम्मेवारी र उत्तरदायित्वबाट पन्छिने काम गर्नुभयो । क्याम्पस प्रशासन र विद्यार्थी युनियन बीचको समन्वय र सहकार्य बीना यस्ता समस्याहरुको समाधान नहुने भन्दै उहाँले समस्या समाधानका लागी आफुले स्ववियुसँग सहकार्य गरी अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
लामो समयदेखि धारासायी बनेको सिरहा क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको सभापतिमा दिपेन्द्र यादवसहितको पदाधिकारी आएपछि क्याम्पसको अवस्थामा परिवर्तन आउने विश्वास सिरहावासीले गरेको छ ।

तपाईको प्रतिक्रिया