नेपाली काँग्रेसका नेतृ आरजु राणा देउवा मधेशतिर ‘मुभ’ गर्नुभएको छ । सर्लाही क्षेत्र नम्बर ४ मा भएको कार्यकर्ताको भेलामा मुख्य अतिथी भएर जानु भएका आरजु राणा देउवा आफ्नो राजनीतिक कर्मभूमी मधेशलाई बनाउन चाहनु भएको छ । सुदुरपश्चिको कैलालीबाट चुनाव हार्नुभएका आरजु आफ्नो चुनावी क्षेत्र मधेशलाई बनाउने सोचका साथ पटक पटक मधेशतिर ध्यान दौडाउनु भएको छ ।
२०७४ मा कैलाली–५ बाट चुनाव हारेपछि २०७९ मा पुनः त्यहाँबाट चुनाव लड्ने चर्चा थियो । उहाँले आफै पनि घोषणा गर्नुभएको थियो तर पछि त्यहाँबाट चुनाव जित्ने अवस्था नदेखेपछि पछाडि हट्नु भएको थियो । समानुपातिकबाट प्रतिनिधि सभा सदस्य बन्नुभयो । सभापतिको श्रीमती भएकै कारण समानुपातिक सदस्य बन्न सफल भएको भन्दै पार्टीका उहाँको आलोचना हुने गरेको छ ।
सोही आलोचनाका कारण उहाँले अहिलेदेखि नै आफ्नो चुनावी क्षेत्र सुरक्षित बनाउन दौडधुपमा लाग्नुभएको छ । अगामी चुनाव जसरी पनि जित्ने गरी उहाँ गृहकार्यमा लाग्नुभएको छ । त्यसमा उहाँको पहिलो रोजाई मधेश परेको छ । मधेशमा पनि कुन जिल्लाबाट चुनाव लड्ने अहिले यकिन भएको छैन । कतिपय कार्यकर्ताले उहाँलाई सर्लाहीबाट चुनाव लड्न सुझाव दिइरहेका छन् भने कतिपयले धनुषा त कतिपयले महोत्तरीबाट चुनाव लड्न सुझाव दिइरहेका छन् । तर आरजुले हालसम्म त्यसको बारेमा मुख खोल्नुभएको छैन ।
मधेश प्रदेश काँग्रेसका एक नेताले भन्नुभयो, ‘आरजु म्यामले मधेशबाट चुनावै लड्छु भनि खुलेर भन्नुभएको छैन तर उहाँको उपस्थिति र क्रियाशिलता हेर्दा चुनावकै तयारीमा लाग्नुभएको छ जस्तो लाग्छ ।’ त्यसैका लागि उहाँ पटक पटक मधेश गइरहनु हुन्छ । नेपाली राजनीतिमा सक्रिय हुनुभन्दा पहिले उहाँ समाजिक कार्यक्रममा व्यस्त हुनुहुन्थ्यो । महिलाको हकहितमा उहाँले विभिन्न कार्यक्रमहरु गर्दै आउनु भएको थियो । शेरबहादुर देउवा गृहमन्त्री भएको बेला आरजुले विहे गर्नुभएको थियो । त्यतिबेला पनि उहाँले राजनीतिसँग मतलब राख्नुहुन्थेन । देउवा प्रधानमन्त्री भएपछि पनि उहाँलाई राजनीतिमा चासो बढी रहेको थिएन ।
प्रधानमन्त्री पत्नी भएको कारणले राज्य संयन्त्रमा आफ्नो बर्चस्व राख्नुहुन्थ्यो, हस्तक्षेप गर्नुहुन्थ्यो तर राजनीतिमा उहाँले कहिले हस्तक्षेप गर्नुभएन । जब पार्टीमा गुटबन्दी बढ्यो । शेरबहादुर देउवा आत्मरक्षाको अवस्थामा पुग्नुभयो अनि उहाँ पार्टीमा सक्रिय हुनुभयो । २०७८ मा भएको १४ औं महाधिवेशनबाट लोकप्रिय मतले केन्द्रीय सदस्यमा विजय भएपछि उहाँ पार्टीमा थप सक्रिय हुनुभयो ।
शेरबहादुर देउवाले पनि आरजुलाई आफ्नो उत्तराधिकारीको रुपमा प्रस्तुत गर्न थाल्नुभयो । तर आरजुका लागि संसदीय राजनीति त्यति फलदायी भएन । उहाँले कहिले पनि चुनाव जित्न सक्नुभएन । दुवै संविधान सभामा समानुपातिकबाट सदस्य बन्नुभएका उहाँ २०७४ मा चुनाव हार्नुभएको थियो । यसपटक उहाँ पुनः समानुपातिकबाट नै प्रतिनिधि सभा सदस्य बन्नुभएको छ ।
डडेलधुरा, असीग्राम स्थायी ठेगाना भई काठमाडौंं, बुढानीलकण्ठ निवासी आरजु भारतबाट मनोविज्ञानमा विद्यावारिधि (पीएचडी) गर्नुभएको छ । राप्रपा नेत्री आफ्नी आमा प्रतिभा राणा लामो समयदेखि राजनीतिमा क्रियाशील रहेकाले समेत राजनीतिप्रति आफ्नो चासो बढेको आरजुले बताउने गर्नुहुन्छ । राजनीति बाहेक एनजिओ, आईएनजिओ, शिक्षा र स्वास्थ्य जस्ता सामाजिक क्षेत्रका दर्जनौं संघ संस्थाहरुमा उहाँको प्रत्यक्ष अप्रत्यक्ष सहभागीता रहने गरेको छ ।
एक छोराकी आमा देउवा सुरक्षित मातृत्व संजालुको संचालनमा समेत सक्रिय रहनुभएको छ । देशमा कुनै बिपत आइलाग्यो भने सययोग गर्न उहाँ अघि बढ्नु हुन्छ । र मधेश जाँदा उहाँले यो कुराको पनि उजागर गर्नुहुन्छ । मधेश महिलाको विकासका लागि आफूले केही गर्न चाहेको कुरा उहाँले पटक पटक भन्दै आउनु भएको छ ।
(सहारा टाइम्स पत्रिकाबाट)


तपाईको प्रतिक्रिया