पत्रकार यादवलाई कुटपिट, महासंघद्वारा कारवाहीको माग

सप्तरी भदौं २ गते । नयाँ पत्रिकामा कार्यरत सप्तरीका पत्रकार सौरभ यादवमाथि गएराती आक्रमण भएको छ ।
नेपाल पत्रकार महासंंघ सप्तरी शाखाका सचिव आर.एन विश्वासका अनुसार स्थानीय केही युवाले शुक्रवार राती फोन गरेर राजदेवी चौकमा बोलाएर निर्घात कुटपिट गरेर पत्रकार यादवलाई घाइते बनाएका छन् ।
पत्रकार यादवलाई छातीमा चोट लागेको छ । उहाँको उपचार राजविराजको एक अस्पतालमा भइरहेको जनाइएको छ ।
केही दिनदेखि सप्तरीमा पत्रकारमाथि लगातार आक्रमण तथा दुरव्यवहार भइरहेको छ । यी घटनाहरुले गर्दा सप्तरीका पत्रकार असुरक्षित हुन पुगेको सचिव विश्वसले बताउनुभयो ।
सुचनाको माध्यमबाट आमजनतालाई सुचित गराउने जिम्मेवारी बोकेका पत्रकार यादवमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीसँग नेपाल पत्रकार महासंघले जोडदार माग गरेको छ ।
साथै नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग सहितका सम्बद्ध निकायहरुको यसतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै सम्पुर्ण पत्रकारको सुरक्षाको वातावरण बनाउन पनि सरकारसँग पत्रकार महासंघले माग गरेको छ ।
सप्तरीका प्रहरीले घटनामा संलग्न दोषीलाई खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया