माओवादीको ह्याङओभरले गौर घटना (फरकमत)

–अनिलकुमार कर्ण
परम्परागत शासकइतर समुदायका व्यक्ति नेपाली राजनीतिमा शक्ति र प्रभावधारक बन्नै हुँदैन भन्ने एउटा मुढाग्रह सधैँ देखिको छ । जबजब सत्ता राजनीतिको करिडोरमा मधेशका कुनै नेताले निर्णायक उपस्थिति जनाउँछ, तिनलाई नानाथरीका प्रपञ्च गरेर तेजोबद्ध गर्ने प्रयत्न सुरु हुन्छ ।
दुर्भाग्य, देखिने अस्त्रचाहीं अर्का मधेशी नै बन्न पुग्छन् । गौर घटनाको आवरणमा अहिले भइरहेका कचिङ्गल पनि मधेसी नेतृत्वको सौर्यलाई भुत्ते बनाउने शृंखला विस्तार हो ।
म कुनै पनि निहुँमा हत्या र हिंसाको वकालत गर्दिनँ, गर्नु पनि हुँदैन । तर, गौर घटनालाई वस्तुपरक र पक्षपातविहीन ढङगले बुझ्नु आवश्यक छ । अनि मात्र टिकाटिप्पणी वास्तविक हुनसक्छ । पहिलो कुरा, पहिलो मधेश आन्दोलन वा माघेविद्रोह अगाडि नेपालगञ्जमा भएको दुई समुदाय बीचको हिंसात्मक भिडन्त र त्यसमा प्रशासन प्रहरीले गरेको एउटा खास समुदायप्रतिको पक्षपोषण र अर्का समुदायलाई भित्तोमा टाँस्ने दुस्कार्य सम्झनुपर्छ ।
यथार्थ हो, प्रहरीको आडमा र अझै प्रहरीकै संलग्नतामा नेपालगञ्जमा त्यतिबेला मधेशी समुदायका व्यक्तिलाई निर्घात कुटपिट र तिनका घरपसलमा आगजनी आदि गराइएको थियो । एक व्यक्तिले सहादत पनि प्राप्त गरे । अर्थात् मधेशीलाई हेर्ने प्रहरी प्रशासनको दृष्टि वैरभावपूर्ण थियो ।
अब माघेविद्रोहको कुरा गरौँ, तत्कालीन माओवादी विद्रोहीको सनक र अहंकारका कारण लाहनमा रमेश महतो सहिद भए । अपमानजनक ढङ्गले उनको पार्थिव शरीर बन्धक बनाइयो । र, मधेश आन्दोलन चुलियो । यस घटनाक्रमबाट आन्दोलन तुहाउन खोजेका माओवादी नेताहरूमा हीनताबोध स्वाभाविक थियो । उनीहरूले आन्दोलनको नेतृत्व गरेको र नेपालको राजनीतिक क्षितिजमा एउटा दर्बिलो शक्ति भएर उदाएको तत्कालीन मधेशी जनअधिकार फोरमसँग प्रतिशोध साध्ने तयारी गरिरहेकै थियो ।
तत्कालीन मधेशी जनअधिकार फोरमले गौरको राइसमिलमा आमसभा गर्ने घोषणा गर्यो । आमसभामा अध्यक्ष उपेन्द्र यादवसहित पार्टीका वरिष्ठ नेताहरू आमन्त्रित थिए । मधेश आन्दोलनपछिको यो आमसभामा सहभागी हुनेहरू हर्षित र उत्साहित थिए । आन्दोलनका नायक उपेन्द्रजीलाई हेर्न र सुन्न लालायित थिए । गाउँगाउँबाट हजारौँको सँख्यामा मानिस भेला जम्मा हुने तयारी भइरहेको थियो । आमसभामा आउने व्यक्तिसँग हतियार भनेकै झन्डा फहराउने बाँसका भाटा थिए ।
यता सोही ठाउँमा त्यसै दिन आमसभा गर्ने घोषणा तत्कालीन माओवादी नेता प्रभु साहले गरे । प्रभु साहको व्यक्तिगत स्वाभाव बारे म परिचित छु । माओवादी द्वन्द्वका बेला युद्धविरामको अवधिमा जनकपुरधामस्थित होटल क्रिश्यालमा एउटा पत्रकार सम्मेलनमा मैले अलिक चोटिला प्रश्न गर्दा उनी रनक्क रिसाएका थिए । नाकमै रिस ।
उसो त प्रायः माओवादी नेतामा क्रान्तिको आवेग र उत्तेजना त्यतिबेला शिखरमै थियो । फोरमले गर्ने आमसभा बिथोल्नेगरी माओवादीले आमसभा गर्ने घोषणा गरेपछि मधेश विद्रोहबाट ऊर्जा प्राप्त गरेका मधेशीहरूले सम्भावित खतराको आँकलन गरे । र, माओवादीले सभास्थलमा आक्रमण गरेमा प्रतिकार गर्ने तयारी पनि उनीहरूले थाले । तर, त्यो प्रतिकार भाटा प्रहारकै तहमा थियो ।
यता प्रभुजीले आमसभाका दिन अघिबाटै निकै भड्काउ अभिव्यक्ति दिन थालेका थिए । सरकार तथा स्थानीय प्रशासनले परिस्थितिको संवेदनशीलता र अवश्यम्भावी दुर्घटनाबारे सटिक विश्लेषण गर्न सकेन वा गर्न चाहेन । अर्थात् प्रशासनको भूमिका हस्तक्षेपकारी बन्न सकेन । सम्भावित भिडन्तलार्ई रोक्न प्रशासनको गृहकार्य फितलो देखियो । माओवादी द्वन्द्वकालझैँ सामानान्तर सत्ताको अभ्यास गर्ने हयाङ्गओभरबाट निस्केको थिएन ।
सभास्थलभन्दा अलिक पर क्याम्प गरिरहेका प्रभुजीले क्यान्टोनमेन्टबाट ल्याइएका सशस्त्र माओवादी लडाकुलाई मञ्च तयारी आदि गर्न गौरको सभास्थलमा पठाए । जहाँ विवाद बढ्दै जाँदा द्विपक्षीय भिडन्त आरम्भ भएको थियो । परिणाम सबैलाई थाहा छ ।
त्यसैले गौर घटनालाई नरसंहार भन्नु भनेको सही नरसंहारको विभत्सतालाई फिक्का बनाउनु हो । यो एउटा आक्रमणविरुद्धको प्रतिरक्षा अझ् बढी मानवीय बन्दा प्रत्याक्रमण थियो । जसको कारण फोरमले गर्ने आमसभास्थलमै आमसभा गर्ने माओवादीको केट्यौली निर्णय थियो ।
आमसभा स्थलमा उपेन्द्रजी थिएनन् । प्रभु साह पनि आफ्ना लडाकुलाई जोगाउन त्यहाँ पुग्न सकेनन् । माओवादी सभास्थलमा कमजोर देखिए र तितरबितर हुँदा विभिन्न ठाउँमा मारिए । यदि माओवादी त्यस दिन सभास्थलमा बलियोबाङ्गो भएको भए साँच्चिकै नरसंहार हुन्थ्यो । गौर घटनामा मारिएका व्यक्ति दोषी थिए भन्न खोजेको होइन । उनीहरू अबोध थिए । माओवादी मूलधारमा आइसकेपछि पनि अवश्यम्भावी हिँसात्मक घटनामा बलात् संलग्न गराउन पठाइएका आज्ञाकारीहरू थिए । फरक भूगोल र पृथक भाषासँगै छुट्टै मनोविज्ञान भएकाहरू ।
आज आएर गौर घटनाका नाममा जसरी उपेन्द्र यादवलाई सिद्ध्याउने खेल भइरहेको छ यसले माओवादीलाई पनि डाम्न बेर लगाउँदैन । र, उपेन्द्रजीसँग व्यक्तिगत पूर्वाग्रह र रीसराग राख्नेहरूले पनि तथ्यहीन तथा घृणास्पद अभिव्यक्ति राख्नबाट बच्नुपर्छ । सोच्नुस्, तपाईँको चुप्पी वा नकारात्मक धारणाले अर्को खाल्डो खनिनेछ । त्यो तपाईँका लागि हुनेछ ।
(लेखक अनिलकुमार कर्ण सञ्चारकर्मी हुनुहुन्छ)

तपाईको प्रतिक्रिया