चित्रलेखाको दरवारमा चिनियाँ क्याम्प

पूर्व पश्चिम महेन्द्र राजमार्ग चिनियाँ कम्पनीले विस्तार गरिरहेको छ । चीनको एक कम्पनीले सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म सो रागमार्गलाई विस्तार गर्ने ठेक्का पाएको छ । लगभग ९५ देखि १०० किलोमिटरको त्यो सडक विस्तार गर्नका लागि चिनियाँ कम्पनी तीन वर्षका लागि ठेक्का लिएको थियो तर तोकिएको सीमाभन्दा बढी समय गइसकेको छ तर अझै काम सम्पन्न हुने छाँटकाट देखिएको छैन ।
सिरहाको लहानस्थित पुरै दरवार होटल भाडामा लिएर चाइनिजहरुले त्यहाँ काम गरिरहेका छन् तर जुन गतिमा काम गरिरहेका छन् सायद तीन चार वर्ष अझै लाग्ने स्थानीयहरु बताउँछन् । जनता समाजवादी पार्टी निकट लहानका एक नेताले भन्नुभयो, ‘चिनियाँहरुको काम हेर्दा उनीहरुको सोच मधेशीमै बस्ने जस्तो देखिएको छ, यो गतिले त कहिले काम नसकिएला जस्तो देखिन्छ ।’
यही सडक निर्माणको नाममा चाइनिजहरुले मधेशमा आफ्नो सम्बन्ध बनाउने प्रयासमा छन् । चाइनिजहरुले लहानमा दुईटा क्याम्प बनाएका छन् । दुई क्याम्पमा चाइनिजहरु भरिभराउ छन् । हेर्दा सबैजना सोही सकड निर्माणका लागि आएको होइन, लहानका एक व्यपारीले भने, ‘दिनभर क्याम्पमै बसेका हुन्छन् निस्कियो भने गाडीमा मात्र निस्किन्छन् कहाँ जान्छन् थाह हुँदैन ।’
लहानमा रहेको त्यो दरवार होटल नेपाली काँग्रेसका नेतृ चित्रलेखा यादवको हो । त्यो दरवार होटल उहँले चाइनिजहरुलाई भाडामा दिनुभएको छ । साढे आठ कठ्ठामा बनेको सो दरवार होटलमा जम्मा २२ वटा रुमहरु छन् । त्यसमध्ये १५ वटा स्वीटस रुम छन् भने एउटा ठूलो हल छ भने ४–५ वटा साना साना हलहरु पनि छन् । एउटा जीम हल पनि छ ।
सो होटल सुरुमा लहानका रोशन गुप्ता, विरेन्द्र साह र चित्रलेखा यादवले खोल्नुभएको थियो । जमिन चित्रलेखा यादवको हो भने त्यसमा भवन निर्माणको काम संयुक्त रुपमा भएको थियो । तीन जनाको सेयरमा त्यो होटल केही दिन निकै राम्रो चल्यो । राम्रो फाइदा पनि भए । २०७४ मा रोशन गुप्ता लहान नगरपालिकाको वडामा जितेपछि समय अभावको कारण देखाउँदै होटलबाट आफनो सेयर झिक्नुभएको थियो ।
त्यसपछि सो होटल दुईजनाले मात्र चलाउनु भएको थियो । केही समयपछि विरेन्द्र साहका छोरा त्यही होटेलमा रेफकेसमा फँसेपछि विरेन्द्र साहले पनि आफ्नो सेयर झिक्नुभयो । त्यसपछि चित्रलेखा यादव एक्लै हुनुभयो । केही दिन उहाँले एक्लै पनि चलाउनुभयो । एक्लै भएको कारण त्यसको व्यवस्थापनमा समस्या भइरहेको थियो । त्यतिकैमा चाइनिजहरु कहाँबाट त्यो होटलको बारेमा थाह पाए चित्रलेखा यादवलाई भेटेर पुरै होटल नै भाडामा लिए ।
चाइनिजहरुले त्यो होटलको वार्षिक ६ लाख रुपियाँ तिरिरहेको छ । होटलको मर्मत सम्भार, रंग रोगन, विजुली पानी सबै चाइनिजहरुले नै व्यहोरिरहेका छन् । त्यति मात्र होइन, लहान बलानमा रहेको सात विघाको खेल मैदान पनि उनीहरु कब्जामा लिएका छन् । त्यहाँ पनि दुईटा भवन बनाएका छन् । स्रोतका अनुसार त्यो भवनमा २०–२५ वटा कोठा रहेका छन् । त्यहाँ नेपाली र चिनियाँ कामदारहरु मिलेर बसेका छन् ।
सो जमिन जिल्ला खेलकुद विकास समिति सिरहको नाममा रहेको छ । र, त्यो खेलकुद मैदानमा रहनका लागि चाइनिजहरुले राष्ट्रिय खेलकुद परिषद् तत्कालिन सदस्य सचिव रमेश सिलवालसँग सम्झौता गरेर बसेका छन् । सम्झौताअनुसार खेलकुद मैदानमा चारैतिर पर्खाल लगाई दिने, कभड हल बनाई दिने, रंगरोगन गरिदिने, पार्केटिङ गरिदिने, जानेबेलामा त्यहाँ बनाइएको भवनहरु समितिको नाममा छाडेर जाने र क्रिकेट र फुटबल खेलकुद मैदान बनाई दिने रहेको छ । यी सम्झौतामध्ये अहिलेसम्म कभड हल बनाएर रंगरोगन गरि दिएको छ । सम्झौता अनुसार अन्य कुनै काम गरेको छैन ।
सम्झौता कार्यान्वयन नभएको कारण सिरहाका खेलाडीहरुले बलानमा रहेको त्यो चाइना क्याम्पमा ताल्चा लगाई दिएका थिए । त्यसपछि चाइनिजहरु सबै काम गर्नका लागि थप एक महिनाको समय माग गरेको छ । एक महिनाभित्र पर्खाल लगाउन सुरु गर्ने प्रतिवद्धता जनाएको छ । यदि पर्खाल लगाएन भने पुन तालबन्दी गर्ने एक खेलाडीले सहारा टाइम्सलाई बताए । तीन वर्षका लागि सम्झौता गरिएको थियो । त्यसको म्याद सकिएपछि पुनः पाँच वर्षका लागि सम्झौता गरेको छ ।
यसबाट पुष्टि हुन्छ कि चाइनिजहरु अझै पाँच वर्ष त्यहाँ रहने निश्चित छ । सकड विस्तारको म्याद सकिएको छ । त्यसको म्याद पनि थपिएको स्रोतले जनाएको छ । तर कति वर्षका लागि थपिएको त्यो बताउन चाहेन । त्यहाँबाट भारतीय सीमा २० किलोमिटर मात्र टाढा छ । बोर्डरमा भारतविरोधी गतिविधि हुनेमा लहानवासीले पनि शंका गरेको छ । तराई मधेशका मधेशीहरुसँग सम्बन्ध बढाउँदै सीमा क्षेत्रहरुमा पनि उनीहरु घुम्न गइरहेका हुन्छन् । चित्रलेखा यादवले त्यो क्याम्पमा आफ्नो एक जना मान्छे जागिरमा राख्नु भएको छ । सुशिल साह नामका ती व्यक्ति पहिला पनि त्यही होटलमा काम गर्नुहुन्थ्यो । चाइनिजहरु सो होटल भाडामा लिएपछि सुशिल पनि त्यही क्याम्पमा काम गरिरहनु भएको छ । स्रोत भन्छन्, ‘स्थानीय स्तरमा सम्बन्ध बनाई दिनेमा सुशिलले पनि सहयोग गरिरहनु भएको छ ।
(भदौं १ गतेको सहारा टाइम्सबाट)

तपाईको प्रतिक्रिया