काठमाडौँको बबरमहलस्थित नेपाल मधेशी निजामती कर्मचारी मञ्चको भवनमा रहेको लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालय सर्ने तयारी भइरहेको छ । विगत ६ वर्षदेखि त्यो भवनमा लोसपा (त्यसअघि राजपा) बस्दै आएको छ तर मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले कार्यालय सार्न पटक पटक ताकेता गर्दा त्यहाँबाट सर्ने तयारी भइरहेको सो पार्टीका नेताहरु बताउनुहुन्छ । तर लोसपाका अध्यक्ष महन्थ ठाकुरले मञ्चलाई दिएको एक करोड ७० लाख रुपियाँ खोइ त भनि त्यसको हिसाब किताब पनि खोजी भइरहेको छ ।
स्रोतका अनुसार मञ्चका अध्यक्ष चौधरीले लोसपाका अध्यक्ष ठाकुरलाई भेटेर या त भवनमा बसेको भाडा तिर्नुस् नभए खाली गर्नुस् भनि आग्रह गर्नुभएको छ । त्यसको जवाफमा अध्यक्ष ठाकुरले आफूले मञ्चलाई पटक पटक गरी एक करोड ७० लाख रुपियाँ भन्दा बढी रकम दिइसकेको र त्यसको हिसाब अझै आफूले नपाएको जवाफ अध्यक्ष चौधरीलाई दिनुभएको स्रोतले जनाएको छ । त्यसपछि मञ्चका अध्यक्ष चौधरीले तपाईले दिनुभएको रकम मञ्चलाई प्राप्त भएको छैन, मञ्चलाई थाह पनि छैन भनि अध्यक्ष ठाकुरलाई भन्नुभएको थियो । मञ्चको भवन कर्मचारीबाट चन्दा उठाएर बनाएको हो । लोसपाले दिएको भनिएको एक पैसा पनि भवन निर्माणमा खर्च भएको अध्यक्ष भुवनेश्वर चौधरीको भनाई रहेको लोसपाका एक जना कार्यकारीणी समितिका सदस्यको बताउनुभयो ।
लोसपाका अध्यक्ष ठाकुरले कसलाई कति रकम दिनु भयो मलाई थाह छैन, यदि मञ्चलाई रकम दिएको भए त्यसको हिसाब किताब हुन्थ्यो, बैंकको खातामा हुन्थ्यो त्यो रकमको हिसाब किताब कतै नदेखिएको गुनासो पार्टी कार्यालयमा गर्दै सुनिएको ती नेताले सहारा टाइम्सलाई बताउनुभयो । यस विषयमा सहारा टाइम्सले मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीसँग सम्पर्क गर्दा लोसपालाई भवन खाली गर्न भनेको स्विकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले अध्यक्षजीलाई भेटेर भवन खालीका लागि आग्रह गरेको हुँ उहाँले कार्यालयका लागि भवन खोज्दै गरेको भन्नुभएको छ हेरौं कहिले सर्नुहुन्छ तर रकमको बारेमा मसँग कुनै कुरा भएको छैन ।’ मञ्चले लोसपासँग भाडा माग्न मिल्दैन, केही समयका लागि बस्न दिएको मात्र थियो, अब कार्यालयको व्यवस्था गर्नुपर्ने हुन्छ त्यही कुरा आफूले अध्यक्ष ठाकुरलाई भनेको उहाँले बताउनुभयो ।
लोसपाका अध्यक्ष ठाकुरले मञ्चका तत्कालिन अध्यक्ष विनोद सिंहलाई एक करोड ७० लाख रुपियाँ दिएको भनिन्छ नि भन्ने जिज्ञासामा त्यो रकमको बारेमा उहाँ (विनोद)लाई नै थाह होला मञ्चमा त्यसको बारेमा कुनै जानकारी नआएका प्रतिकृया दिनुभयो । विनोदजीमार्फत रकम आएको भए मञ्चमा त्यसको हिसाब देखिन्थ्यो नि तर हामीले त्यसको हिसाब कतै फेला पारेका छैनौं, उहाँले भन्नुभयो, ‘लोसपाका अध्यक्षजीले त्यो पैसा किन दिनुभयो त्यो पनि थाह छैन ।’ तर मञ्चका तत्कालिन अध्यक्ष विनोद सिंहले आफू लोसपाबाट एक पैसा पनि नलिएको दावी गर्नुभयो । लोसपाका नेता समेत रहनु भएका उहाँले भन्नुभयो, ‘लोसपाका अध्यक्षजीले मलाई कुनै रकम दिनुभएको छैन, हामीले रकम मागेको पनि छैन ।’ तत्कालिन राजपालाई केही समयका लागि बस्न दिएको उपयुक्त समयमा सर्नुहुन्छ होला तर त्यसबापत आफूले वा मञ्चले कुनै रकम नलिएको उहाँले दावी गर्नुभयो ।
नेपाल सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर २०६८ सालमा निजामती कर्मचारीका तीनवटै राष्ट्रिय संगठनहरुलाई बबरमहलमा एक–एक रोपनी जग्गा भोगाधिकार दिएको थियो । एमाले सम्बद्ध निजामती कर्मचारी संगठन, कांग्रेस सम्बद्ध कर्मचारी युनियन र मधेसी मोर्चा आबद्ध कर्मचारी मञ्चले सरकारी जग्गा पाएका थिए । सो जग्गामा निजामती कर्मचारीका पेशागत संगठनबाहेक अरु कार्यालय राख्न नपाउने र व्यवसायिक प्रयोजनमा लगाउन पनि नपाइने शर्त छ । तर मञ्चले छ वर्षदेखि लोसपालाई त्यो भवनमा बस्न दिएको छ र त्यसबापत मञ्चले मोटो रकम पनि बुझेको पार्टीका नेताहरु बताउनुहुन्छ । २०६९ मा भवन निर्माणको शिलान्यास लोसपाका अध्यक्ष ठाकुरले नै गर्नुभएको थियो । (भदौं १ गतेको सहारा टाइम्सबाट)
तपाईको प्रतिक्रिया