‘पाँच सय÷हजारमा हामी भोट बेच्छौं, हामीले भोट बिक्री गरेका होइनौं, आफ्नो भविष्य बेचेका हुन्छौं । त्यसैले हामी बारम्बार धोका खाइरहेका छौं, बालबच्चाको टाउकोमा हात राखेर कसम खानुस् कि आउने चुनावमा लाउडस्पिकर छापमै मोहर मार्छौ, जनमत पार्टीलाई नै जिताउँछौं ।’ महोत्तरीको बर्दिबासस्थित किसान नगरमा २०७८ कात्तिक ६ गते जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आमसभालाई सम्बोधन गर्दै दिनुभएको अभिव्यक्ति हो ।
उहाँ त्यतिकैमा रोक्नु भएको थिएन, उहाँले त्यहाँ भन्नुभएको थियो, ‘जुन दिन जनमत पार्टी सत्तामा आउँछ, त्यो दिन जनताको घरघरमा एउटा एउटा सिमकार्ड दिन्छौं, हामी केही गर्नुभन्दा पहिला जनतालाई सोध्छौं, मोबाइलबाट जनताको अभिमत लिन्छौं । के काम गर्ने, न गर्ने जनताले निर्धारण गर्छ, नेता ठेकेदारले होइन् ।’ यस्ता अभिव्यक्ति दिएको झण्डै दुई वर्ष भइसकेको छ । जनमत पार्टी तीनटै तहको सरकारमा सहभागी छ । कति जनाले सीम पाए भनि जनताले प्रश्न गर्न थालेका छन् । छोराछोरीको कसम खुवाएर मत माग्नुभएका सिके राउतले आफैले गर्नुभएको एक–एक प्रतिवद्धता बिर्सिन थालेको भनि गुनासो हुन थालेका छन् ।
त्यही कार्यक्रममा उहाँले आफ्नो खल्तीबाट औषधी निकालेर देखाउँदै भन्नु भएको थियो, ‘यो दवाईको म्याद गुज्रियो भने दवाइले काम गर्छ त ? यो दवाइ खाइयो भने उल्टै हानी गर्छ । पुरानो सबै पार्टी सबै डेट एक्सपायर भएको पार्टी हो । जनमत पार्टी नयाँ टेबलेट (दवाइ) निकालेको छ, जुन बारबार टेस्ट भएर आएको छ । यहि टेबलेट खानुपर्छ । लाउडस्पिकर छापमै मोहर लाउनुपर्छ, मधेशको इलाज (उपचार) जनमत पार्टीले मात्रै गर्न सक्छ ।’ जनतालाई आकर्षित गर्न, मतदाता तान्न यस्ता अभिव्यक्ति उहाँले कति दिनुभयो कति । तर उहाँको भाषण गराई र कार्यान्वयमा आकाश जमिनको फरक छ । उहाँले भन्नुभयो एकथरी गरिरहनु भएको छ अर्कोथरी । जसपा संघ, मधेश प्रदेश र लुम्बनी प्रदेश सरकारमा सहभागी छ । तर वाचा गरे अनुसार जनताले जनमत सरकारको अनुभूति गर्न नसकेका गुनासो भइरहेको छ ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतका सबभन्दा बढी चर्चामा रहेको नारा ‘१० लाख युवालाई रोजगारी’ थियो । निर्वाचनको समयमा गाउँगाउँ, घरघर गएर मत माग्दा यो नारालाई सबभन्दा ‘हाइलाइट’ उहाँले गर्नुभएको थियो । प्रत्येक घरमा एउटा रोजगार दिने र अब विदेशमा काम गर्नै पर्दैन, वैदेशिक रोजगारमा जानै पर्दैन, वैदेशिक रोजगारमा रहेकालाई पनि फिर्ता बोलाउने जस्ता नारा दिएर मत माग्नु भएको थियो । तर चुनाव जितेर आएको यात्रो भइसक्दा पनि एक जनालाई पनि रोजगारी दिलाउन नसक्नु भएको गुनासा भइरहेको छ । कही एउटा सानो उद्योग खोलाउन सक्नुभएको छैन । उद्योग खोलेर युवालाई रोजगारी दिने तयारी सिके राउतको थियो । त्यसका लागि उहाँले उद्योग मन्त्रालय माग गर्नुभएको थियो ।
किसानलाई मल तथा बीउ उपलब्ध गराउने, मल कारखाना खोल्ने वाचा पुरा गर्नका लागि उहाँले कृषि मन्त्रालय माग्नुभएको थियो । तर यी दुई मन्त्रालयमध्ये कुनै पाउनुभएको छैन । अब उहाँले जनतालाई दिनुभएको आश्वासन कसरी पुरा गर्ने भनि टिप्पणीहरु भइरहेका छन् । उद्योग वा कृषि मन्त्रालयमध्ये एउटा कुनै मन्त्रालय पाउनुपर्ने माग सिके राउतको थियो तर सुरुमै खानेपानी मन्त्रालय पाउनु भएको थियो । उद्योग मन्त्रालय वा कृषि मन्त्रालय नपाएको भन्दै खानेपानी मन्त्रालय अस्विकार गर्नुभएको थियो । पछि खानेपानी मन्त्रालय साटि दिने आश्वासन प्रधामन्त्री प्रचण्डबाट पाएपछि केही समय खानेपानी मन्त्रालयमा पठाउनुभयो । पछि आश्वासन अनुसार मन्त्रालय नपाएपछि मन्त्री नै फिर्ता पठाउनुभयो । लामो बार्गेनिङपछि उहाँले अहिले समान्य प्रशासन मन्त्रालय पाउनुभयो ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले गरेको वाचा यो मन्त्रालयले पुरा गर्ला त भनि प्रश्न उठेको छ । सरकारसँग विकासे मन्त्रालय माग गर्दा गर्दै भएको खानेपानी मन्त्रालय गुमाउनु भएको थियो उहाँले । अहिले समान्य प्रशासन मन्त्रालयमा चित्त बुझाउनु परेको छ । के यो मन्त्रालयले युवालाई रोजगारी दिन सक्छ, किसानलाई मल र बीउ दिन सक्छ, प्रत्येक घरमा सीम दिनसक्छ भनि प्रश्न सिके राउतका लागि तेर्सिएको छ । उपाध्यक्ष वसन्त कुशवाहा भन्नुहुन्छ, ‘हामीले मागेको विकासे मन्त्रालय नै हो, दिए पो लिनु, विकासे मन्त्रालयको प्रतिक्षामा बसियो भने पाएको मन्त्रालय पनि गुमाउने अवस्था आउनसक्छ त्यसैले हामीले पाएको मन्त्रालयबाट नै जनताको हितमा काम गर्नुपर्छ ।’ (भदौं १ गतेको सहारा टाइम्सबाट)
तपाईको प्रतिक्रिया