‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिश भएको छ, पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो । हाम्रो पार्टीको उपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो । हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन । विष्णु पौडेलजीले मात्रै होइन मैले पनि कुरा गरेको छु । अरूले पनि कुरा गर्नुभएको छ । यस्तो कुरा गरेको विषयलाई कार्ड छपाएर लिएर जानुभयो रे, पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्न भन्ने यो खालका प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ ।’
साउन २८ गते च्यासलस्थित एमाले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको प्रतिकृया हो यो । यो प्रतिकृयाबाट प्रष्ट हुन्छ कि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबाट अध्यक्ष ओली कति तर्सिनु भएको छ । २०७९ फागुनमा राष्ट्रपतिबाट हट्नु भएका भण्डारी पुनः राजनीतिमा सक्रिय हुने विषयलाई लिएर एमाले पार्टीभित्र गरमागरम बहस भइरहेको छ । एमालेका नेताहरु भण्डारीको निवास बुढानिलकण्ठमा गएर यस विषयमा पटक पटक छलफल चलाइ रहनुभएको छ । पूर्वराष्ट्रपति भण्डारी पनि आफू एमालेमा पुनः सक्रिय हुने इच्छा देखाउनुभएको उहाँसँग भेटेका नेताहरुले बताउनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारी एमालेमा फर्केपछि त्यसको सिधा असर एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्ने निश्चित छ । उहाँ एमालेमा फर्केपछि सिधै पार्टीको कार्यकारी भूमिकामा जाने अर्थात पार्टीको अध्यक्ष नै बन्नुहुन्छ । र, अहिले एमाले पार्टीमा ओलीको विकल्प पनि खोजी भइरहेको रहेको छ । ओलीकै कारण एमाले कमजोर हुँदै गइरहेको निष्कर्ष कतिपय नेताको छ तर उहाँको डरले नेताहरुले मुख खोल्न सकिरहेका छैनन् । ओलीलाई जवाफ दिने एक जना नेता हुनुहुन्थ्यो भिम राउवलाई उहाँलाई पार्टीबाट लगभग अलग जस्तै गर्नुभएको थियो । अहिले पुनः छलफल गरेर ल्याउने प्रयास गरिरहनु भएका छ । त्यस्तै, घनश्याम भुसालले पनि ओलीको कतिपय कुराप्रति असहमति जनाउनु हुन्थ्यो उहाँलाई पनि पार्टीबाट निकाल्नु भएको छ । अर्थात ओलीलाई जजसले चुनौती दिनुभयो सबैलाई किनारा लगाउनुभएको छ ।
सुरुदेखि ओलीका लागि चुनौतीको रुपमा रहेको विद्यादेवी भण्डारी पुनः पार्टीमा फर्किने थाह पाएर चिन्तित हुनु स्वभाविक हो । त्यसैले त्यो दिनको पत्रकार सम्मेलनमा पत्रकारमाथि पनि भड्किनु भएको थियो । उहाँ अझै एमाले पार्टीको अध्यक्षमै रहन चाहनु भएको छ । त्यसैले त ७० वर्षे उमेरहदको प्रावधान हटाएर पार्टीको ‘आजीवन अध्यक्ष’ बन्ने बाटोमा उहाँ लाग्नुभएको छ । राष्ट्रपति बन्नुअघि भण्डारी पार्टीको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ सुरुदेखि पार्टीकै कार्यकारी भूमिकामा रहन मन पराउनुभएको थियो । उहाँलाई पार्टीले सभामुख बनाउन खोज्दा पनि अस्विकार गर्नुभएको थियो । पार्टीमा काम गर्ने इच्छा रहेको भन्दै उहाँ त्यतिबेला सभामुख लिन इन्कार गर्नुभएको थियो तर अध्यक्ष ओलीले आफ्नो बाटोबाट हटाउनका लागि विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउनु भएको थियो ।
राष्ट्रपति भएपछि सक्रिय राजनीतिमा आउनु हुँदैन भनि कतै लेखिएको छैन तर प्रतिष्ठित पद भएको कारण राजनीतिमा नआउँदा नै बेस हुने एउटा मान्यता रहेको छ । तर त्यो मान्यतालाई खारेज गर्दै भण्डारी राजनीतिमा पुनः सक्रिय हुने मन बनाई रहनुभएको स्रोतको दावी छ । सायद त्यही कारणले सरकारले दिएका कुनै सुविधा लिनुभएको छैन । भण्डारी एमाले पार्टीमा फर्किने सुरसार गरिरहेको थाह पाएर एमालेका अध्यक्ष अोलीले पार्टीका अर्का उपाध्यक्ष भिम रावलसँग संवाद अगाडि बढाउनुभएको छ । ओलीको क्रियाकलापबाट असन्तुष्ट भएर रावल अलगथलग बस्नुभएको थियो । ओलीको पक्षबाट भण्डारीलाई कसैले काउण्टर दिनसक्छ भने त्यो हुन् भीम रावल । (भदौं १ गतेको सहारा टाइम्सबाट)
तपाईको प्रतिक्रिया