सिरहा भदौं ११ गते । सामाजिक अभियन्ता एवं शिक्षक रामबालक यादवको निधनको आज चौथो दिनको अवसरमा शब्दश्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय बुद्धिजिवी तथा समाजसेवीले सो कार्यक्रम शिक्षक यादवको इटाटारस्थित निवासमा आयोजना गरेका थियो । समाजसेवी एवं शिक्षक यादवको निधन भदौं ८ गते भएको थियो । चार दिनमै उनको काजक्रिया सम्पन्न गर्ने स्थानीयको सहमति अनुसार आज सो श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको समाजिक अभियन्ता रामरिझन यादवले बताउनुभयो ।
शिक्षक रामबालक यादव आफ्नो आमाबुवाको काजक्रिया पनि चार दिनमै सम्पन्न गरेकाले उहाँको काजक्रिया चार दिनमै सम्पन्न गरिएको उहाँले बताउनुभयो ।
हुन त गाउँलेहरुले शिक्षक एवं समाजसेवी रामबालक यादवको काजक्रिया १३ दिनसम्म गर्ने अडानमा थिए तर अभियानी रामरिझन यादवले त्यहाँका स्थानीयलाई कनभिन्स गरेपछि चार दिनमै काजक्रिया सम्पन्न गरिएको छ ।
रामबालक यादव एउटा कुशल शिक्षक भए जस्तै समाज परिवर्तनका लागि उहाँ एउटा योद्धा नै हुनुहुन्थ्यो । समाजमा देखिएका बिकृति विसंगतीको बारेमा उहाँले जहिले पनि अवाज उठाउनु हुन्थ्यो । मिटरब्याजी विरुद्धको आन्दोलन उहाँकै देन हो । स्थानीय तहमा हुने भ्रष्टाचारको विरुद्धमा अवाज उठाउने अगुवाई उहाँले गर्नुहुन्थ्यो ।
गाउँ गाउँका युवालाई असमानता, अन्याय, भ्रष्टाचारको विरुद्धमा लड्न उहाँले प्रशिक्षित गर्नुहुन्थ्यो । यति हुँदा हुँदै पनि उहाँ कुनै पार्टीको सदस्यता लिनुभएन । समाजवादी विचारधाराका उहाँले आफ्नो जीवनकालमा कहिले पनि कुनै लोभ लालच गर्नुभएन । उहाँ जहिले पनि आफ्नै समाजका लागि केही गर्ने सोचका साथ समाजिक न्यायका लागि संघर्ष गर्नुभयो । र, संघर्ष गर्दा गर्दै अस्ताउनु भयो । आज त्यही रामबालक यादवको बारेमा स्थानीय समाजिक कार्यकर्ता, अभियन्ता, बुद्धिजिवीहरुले चर्चा गर्दै उहाँमाथि श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
तपाईको प्रतिक्रिया