काठमाडौँ भदौ १५ गते । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी नयाँ नक्सामा नेपालको पुरानै नक्सा प्रयोगमा गरेकोमा विरोध गरेका छन् ।
आज एक कार्यक्रममा उनीहरुले चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरुको नक्सा जारी गर्दा नेपालको नक्सामा रहेको चुच्चेलाई हटाएकोमा आपत्ति जनाएका छन् ।
चीनले भू–राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई स्वीकार नगर्नु र उक्त भू–भाग भारततर्फ देखाउनु दुई देशबीचको मिलेमत्तोको आशंका उब्जिएको पूर्व सुरक्षाकर्मी परिषद्को ठहर छ ।
चीनद्वारा प्रकाशित त्रुटीपूर्ण नक्साले सम्पूर्ण नेपालीहरुको स्वाभिमान र आत्मसम्मानलाई ठेस पुर्याएको परिषद्को बुझाइ छ ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपालका अध्यक्ष कमल बहादुर राउतले चीन र भारत दुई ठूला देशहरुले नेपाललाई सानो भनेर हेप्ने गरेको बताउनुभयो ।
उहाँले छिमेकी राष्ट्रहरुको बीचमा नेपाल रहेको छ तर तर, बलियो छौं भन्दै सानो भनेर हेप्ने कुरा भइरहेका गुनासो गर्नुभयो ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष खगेन्द्र बस्नेतले गौतम बुद्धको शान्तिको देशमा आफूहरुले शान्तिपूर्वक बस्न चाहेको बताउनुभयो । सरकार र राजनीतिक दलहरुले राष्ट्र र जनताको हितमा काम गर्न नसकेको उहाँको दावी छ ।
उहाँले छिमेकी राष्ट्रहरुलाई छिमेकीको स्थानमा बस्न र सानो भनेर नहेप्नका चेतावनी दिनुभयो ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपाल केन्द्रीय सदस्य एवं चन्द्रागिरि नगर समितिका अध्यक्ष विक्रमबहादुर पाण्डेले चीनले नेपालको पुरानो नक्सा सार्वजनिक गरेर सार्वभौम सत्तामाथि प्रहार गरेको आरोप लगाउनुभयो ।
आफूहरुले बारम्बार राष्ट्र र राष्ट्रियताको लागि खबरदारी गरिरहेको बताउँदै उहाँले राष्ट्र र राष्ट्रियताको लागि गठबन्धन सरकारलाई धेरै झक्झक्याउँदा केही सुन्न नचाहेको बताउनुभयो ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपाल सह–सचिव मोहनसिंह खड्काले चीनले गल्ती गरेको छ भन्ने कुरा कूटनीतिक तरिकाबाट सरकारले महसुस गराउन आवश्यक रहेको बताउनुभयो ।
सीमाविद् एवं पूर्वनापी महानिर्देशक बुद्धिनारायण श्रेष्ठले चीनले जारी गरेको नक्साका सन्दर्भमा नेपालले कूटनीतिक तहबाट सच्याउन लगाउन आवश्यक रहेको बताउनुभयो । नेपाल सरकारले उक्त नक्सा सच्याउन लगाउने सार्थथ्यता नराखेमा सरकारको अकर्मण्यता पुष्टि हुने र नेपाली जनताले सधैं दुत्कारीरहने उहाँले दावी गर्नुभयो ।
तपाईको प्रतिक्रिया