लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर गत जेठ २८ गते भारत जानुअघि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई भन्नु भएको थियो, ‘भारतबाट फर्केपछि कार्यबाहक अध्यक्ष बनाउछु ।’ भारतबाट फर्केको चार महिना भइसक्यो तर नेता महतोलाई कार्यवाहक अध्यक्ष अझै बनाउनु भएको छैन ।
अस्वस्थ्य भएको कारण पार्टीलाई गति दिन सकिरहेको छैन, भारतबाट उपचार गराएर फर्केपछि कार्यबाहक अध्यक्ष बनाउने आश्वासन दिएपछि नेता महतो आश गरेर बस्नुभएको थियो । तर भारतबाट फर्केपछि कार्यबाहकको बारेमा चर्चा समेत गर्नुभएन । बरु आफ्नै तरिकाले पार्टीको केन्द्रीय सदस्य, पदाधिकारी, कार्यकारिणीलगायतका समिति बनाउनतिर लाग्नुभयो । कहिले काहीँ नेतालाई बोलाएर सुझाव लिने गर्नुहुन्थ्यो ।
कार्यबाहक अध्यक्षको बारेमा नेता महतोले पटक पटक अध्यक्ष ठाकुरलाई जानकारी गराउनु भएको थियो । भारत जानुअघि गरेको प्रतिवद्धता पुरा गर्नुपर्ने अडानमा नेता महतो बसेपछि पार्टीको केन्द्रीय कमिटीलगायत समितिहरु घोषणा गर्न ढिलो भइरहेको थियो । लोसपा अध्यक्ष महन्थ ठाकुर निकट एक नेताले भन्नुभयो, ‘राजेन्द्र महतोजीले कार्यबाहक अध्यक्ष चाहियो भन्दै पार्टीका सबै गतिविधि ठप्प पार्नुभएको थियो । महन्थजीले केन्द्रीय कमिटी फल्यास गर्न खोज्दा उहाँले त्यसमा ब्रेक लगाउनुभएको थियो ।’ नेता महतोको कारण सबै कुरामा ढिलाई भइरहेको महन्थ पक्षधर नेताहरुको दावी छ ।
तर नेता महतो पक्षका नेताहरु भन्छन्, ‘महतोजीले कही कुनै अवरोध गर्नुभएको थिएन, महन्थजीको सबै बहाना मात्र थियो, उहाँ भारत जानुअघि आफैले भन्नुभएको थियो कि फर्केपछि कार्यबाहक अध्यक्ष दिन्छु, भनेको कुरा लागु नगरेपछि जसको पनि मन अमिलो हुन्छ नि ।’ स्रोतका अनुसार भदौं १० गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नुअघि अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोबीच एक्ला एक्लै छलफल भएको थियो ।
छलफलमा केही समय अझै आफूलाई नै अध्यक्ष रहन दिनुस्, कमिटीहरु बनाउँछु, सबै ठिका ठाक पारेर उपयुक्त समयमा तपाईलाई कार्यबाहक बनाउँछु भनि अध्यक्ष ठाकुरले आश्वासत पार्नुभएको थियो । नेता महतोले पनि अध्यक्ष ठाकुरको कुरा स्विकार गरेर केही समय कुर्न तयार भएको बताइएको छ । केही समयका लागि लोसपाको समस्या टरेको हो तर समाधान भएको छैन । पार्टीलाई गतिशिल बनाउन आवश्यक छ, त्यसका लागि नेतृत्व परिवर्तन, जिम्मेवारी हेरफेरको प्रस्ताव नेता महतोको रहेको छ ।
बैठकमा पनि बोल्ने अधिकाँश नेताले पार्टीलाई अगाडि बढाउन ढिलो भइरहेको छ । पार्टीमा भएका नेताहरु पनि अरु अरु पार्टीमा गइरहेका छन्, केन्द्रीय कमिटीलगायत अन्य कमिटी बनाउन जति ढिलो हुन्छ त्यति नै पार्टीलाई क्षति हुने कुरा पार्टीका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले राख्नुभएको थियो । पार्टीलाई बन्धक बनाउने काम भएको छ, पार्टी विघटनको अवस्थामा पुगेको छ, यसको जिम्मेवारी नेतृत्व पक्ष लिने कि नलिने प्रश्न गर्दै नेता कर्णले पार्टीमा नेताहरु जोगाउन गाह्रो भइरहेका धारणा राख्नुभयो ।
लोसपाको नेता छु जस्तो लाग्दैन, कुनै कामै छैन, कुनै जिम्मेवारी नै छैन, पार्टीका लागि के गर्ने, के नगर्ने जस्तो अवस्था सृजना भएको भन्दै अब पनि ढिलो भयो भने पार्टीले धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ र यसको जिम्मेवारी नेतृत्व पक्षले लिनुपर्ने धारणा राख्नुभएको थियो ।
अर्का कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले पार्टी कमिटी फर्मेशन चुनावअघि नै हुनुपर्ने थियो, त्यो नगरेर धेरै ठूलो गल्ती भएको छ र त्यसको जिम्मेवारी सबैले लिनुपर्ने धारणा राख्नुभयो । उहाँले अब पनि ढिलो भयो भने पार्टीमा कोही पनि बाँकी रहदैन, जिल्लामा भएका नेता तथा कार्यकर्ताहरु अरु अरु पार्टीमा गइरहेका छन् जोगाउन निकै मुश्किल भइरहेको छ त्यसैले ढिलो नगरी चाँडै भन्दा चाँडै केन्द्रीय समितिलगायत अन्य समितिहरु चयन गरेर धोषणा गर्न उहाँले आग्रह गर्नुभयो । त्यस्तै, धारणा कार्यकारिणी सदस्य जितेन्द्र सोनल, अकवाल अहमदलगायतको थियो ।
अध्यक्ष ठाकुरले ३२४ जनाको केन्द्रीय समिति चयन गरेको र त्यसमा १०८ जना महिला राखेको जानकारी बैठकलाई गराउनु भएको थियो । पदाधिकारी, कार्यकारिणी समितिलगायत अन्य समिति पनि चाँडै तयार गरेर सार्वजनिक गर्ने प्रतिवद्धता उहाँले जनाउनु भएको थियो । बैठक बसेको पाँच दिन भइसक्यो तर हालसम्म गर्नुभएको छैन ।
तपाईको प्रतिक्रिया