काँग्रेसका महासचिव समूहका नेता महासचिव गगन थापाले सरकार छाड्नका लागि पार्टीभित्र निरन्तर दबाव दिँदै आउनु भएको छ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जब समाजवादी मोर्चा बनाउनु त्यतिबेलादेखि गगन थापा पार्टीमा झन गनगन गर्न थाल्नु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले छुट्टै मोर्चा बनाई सकेपछि त्यहाँ काँग्रेस पार्टीको कुनै कामै छैन, सम्भव भए समाजवादी मोर्चाबाहेकको अर्को मोर्चा बनाउने नभए एक्लै हिड्ने कुरा पार्टीमा बारम्बार राख्नु भएको छ । ‘केही साथीहरुलाई के लाग्दो रहेछ भने वर्षाैंदेखि यसैगरी चल्दै आएको, यसरी चल्दै आउदा चलेकै थियो । चलेकै छ । यी केटाहरु जान्ने भएर आएर यसरी पार्टी चल्दैन भन्ने लाग्दो रहेछ,’ महासचिव थापाले पार्टीको एक बैठकमा भन्नुभयो, ‘हिजोकै चालढालबाट, हिजोकै चरित्रबाट अब पार्टी चल्छ भन्ने ठान्यौँ भने हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।’
पार्टीमा यो खालको अभिव्यक्ति दिनुको मुख्य कारण हो, काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बनाउँदा गगन थापाको एक जना मान्छे न पर्नु । उहाँले काँग्रेसका युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउन पार्टी सभापति समक्ष पटक पटक लविङ गर्नुभयो । उहाँले मात्र होइन, अर्का महासचिव विश्वप्रकाश शर्माले पनि सभापति देउवा समक्ष पौडेलका लागि लविङ गर्नुभएको थियो ।
तर उहाँ दुई जनामध्ये कसैको केही लागेन । महासचिवद्वय थापा र शर्माले लविङ गरिरहँदा पौडेललाई बधाईको ओइरो थियो । पार्टीका नेतादेखि लिएर बाहिरका अन्य उहाँका शुभचिन्तकले पनि बधाई दिएका थिए तर उहाँ मन्त्री बन्न पाउनु भएन । त्यही भएर महासचिव थापाले पार्टीलाई अहिलेको वर्तमान सरकारबाट निकाल्ने कसरतमा लाग्नुभएको छ ।
काँग्रेस पार्टीले असोज १४ गते काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा महासचिव थापाले भन्नुभयो, ‘यो दुई अढाई वर्ष उहाँहरुले सरकार चलाउने भन्ने सहमति भएको छ । पहिला प्रचण्ड जी, त्यसपछि माधव नेपाल जी प्रधानमन्त्री बन्ने भन्ने छ । उहाँहरु एउटै मोर्चा पार्टी पनि एउटै बनाउने भन्नुभएको छ । मलाई लाग्छ कांग्रेसको सबै मन्त्रीहरु फिर्ता बोलाऔं । दुई अढाई वर्ष उहाँहरुलाई एक्लै चलाउन दिऔं । हामी बाहिर बसेर समर्थन गरौं ।’
प्रधानमन्त्री बन्ने काँग्रेसको पालो आएपछि सरकार एक्लै चलाउने र बाहिरबाट समाजवादी मोर्चाको समर्थन लिने, त्यसपछि मात्र कामको मूल्यांकन हुने थापाको भनाई थियो । काँग्रेसका ती नेताले भन्नुभयो, ‘थापाजीले कुनै पनि बाहानामा यो सरकारको समिकरण भत्काउन खोज्नुभएको छ, भत्केपछि नयाँ बन्छ नयाँ बन्न थालेपछि त्यसमा आफूले चाहेको मन्त्री बनाउन फेरि लविङ गर्नुहुन्छ । अहिलेको सरकारमा एक जना पनि उहाँका मान्छे नहुँदा छटपटिनु भएको छ त्यही भएर भित्रभित्रै एमालेसँग कुराकानी गरेर सरकार भत्काउने खेलमा उहाँ लाग्नुभएको छ ।’
सभापति देउवालाई सबभन्दा बढी चित्त संसदीय दलको नेतामा आफू विरुद्ध उम्मेदवारी दिनुमा दुखेको छ । त्यतिबेला संसदीय दलका नेताका लाथि थापालाई साथ दिने नेताहरुलाई सभापतिले रुचाउनु भएको छैन । त्यसमध्येका एक हुनुहुन्छ पौडेल । पार्टीको १४ औँ महाधिवेशनमा नेता पौडेल सभापति देउवाको समूहबाट महामन्त्रीका उम्मेदवार थिए । तर, गत पुस ६ गते सम्पन्न संसदीय दलको चुनावमा उहाँ महामन्त्री थापाको पक्षमा उभिनुभएको थियो । त्यो बेलादेखि देउवाले पौडेललाई रुचाउनु भएको छैन । थापाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नुभएको छ । देउवा हुँदाहुँदै प्रधानमन्त्री बन्ने चाहना थापाको रहेको छ । त्यसले देउवाको झन चित्त दुखेको छ ।
तपाईको प्रतिक्रिया