सर्वोच्च अदालतले राष्ट्रपतिबाट आममाफी पाएका बाँकेका योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । कात्तिक १६ गते कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालकोइजलासले योगराजको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएसँगै उहाँलाई नेपालगञ्जबाट पक्राउ गरेको हो ।
चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका योगराजले सरकारबाट बाँकी कैद माफी पाउनु भएको थियो । उहाँलाई मन्त्रीपरिषद्ले सिफारिस गरेको आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको बाँकी सजाय माफ गरेर रिहा गर्नुभएको थियो । तर सर्वोच्च अदालतले उहाँको माफी बदर गरी पुन पक्राउ गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशका आधारमा योगराज पक्राउ परेपछि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डको राजिनामा कुरा उठेको छ । खासगरि विपक्षी दलले यो कुरालाई विशेष रुपमा उठाएको छ ।
काँग्रेस र माओवादी केन्द्रका कतिपय नेताले पनि यो निर्णयलाई स्वागत गर्नुभएको छ ।
तर एमालेले राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने भन्न थालेका छन् । राष्ट्रपति पौडेलको राजिनामाको कुरा उठ्न थालेपछि काँग्रेसका केही नेताहरुले सिरहा क्षेत्र नम्बर १ बाट चुनाव जितेका रामशंकर यादवको कुरा पनि उठाउन थालेका छन् । प्रतिनिधि सभा सदस्य रहनु भएका रामशंकरमाथि पनि हत्याको आरोप थियो । उहाँ सो आरोपमा जेल पर्नुभएको थियो तर तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा उहाँलाई आममाफी दिनुभएको थियो । आममाफी पाउनु भएका योगराज पुनः पक्राउ पर्ने र रामशंकर माफी पाइरहने किन भनि प्रश्न उठेको छ ।
प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका एमालेले रामशंकरलाई २०७९ को चुनावमा उम्मेदवार बनाएको थियो र उहाँले जसपाको सहयोगमा चुनाव पनि जित्नु भएको थियो । तर के हत्या गरेको एक जना मान्छे आमामाफी पाएर पनि पुनः पक्राउ पर्ने र अर्को मान्छे खुमखुल्ला घुमिरहने भनि काँग्रेसका नेताहरुले प्रश्न गर्न थालेका छन् । प्रहरी जवानको हत्या गरेको भन्दै सिरहा जिल्ला अदालतले रामशंकरमाथि २०६१ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अदालतले सजायको आदेश सुनाएपछि फरार रहेका उहाँलाई प्रहरीले २०६९ सालमा पक्राउ गरेर अदालतमा बुझाएको थियो । अदालतले उहाँलाई जेल चलान गरेको थियो । तर २०७६ मा मन्त्रीपरिषदको निर्णयबाट संविधान दिवसको अवसरमा तत्कालिन राष्ट्रपति भण्डारीले माफी दिनुभएको थियो ।
२०५८ मंसिरमा सिरहा भगवानपुर–४ का दिनेश यादव र राजेन्द्र यादवबीच बसको विषयमा विवाद भएको थियो । सो विवादमा रामशंकरका सहयोगीले गोली चलाउँदा सुरक्षामा खटिएका प्रहरी जवान यमबहादुर बस्नेतको ज्यान गएको थियो । सो घटनामा संलग्न रहेको भन्दै सिरहा जिल्ला अदालतले रामशंकरलाई कर्तव्य ज्यान मुद्दामा २०६१ माघमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर सो फैसलापछि रामशंकर फरार हुनुभएको थियो । २०६९ पुस ३ गते केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उहाँलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरी अदालतमा बुझाए पछि चेल चलान हुनुभएका उहाँले तत्कालिन राष्ट्रपति भण्डारीबाट आममाफी पाउनु भएको थियो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार यस्ता व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिएको छ । तर राजनीतिक दबावका कारण उहाँ उम्मेदवार बन्न मात्र होइन, चुनाव जित्न पनि सफल हुनुभयो । ऐनको दफा १३ को (ङ) मा संगठित अपराध सम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पूरा नभएका व्यक्ति उम्मेदवारका लागि अयोग्य मानिने उल्लेख छ । यो ऐन अनुसार यादवले राष्ट्रपतिबाट आम माफी पाएको ६ वर्ष पुगेको थिएन तैपनि उहाँलाई उम्मेदवार बनाइएको थियो ।
तपाईको प्रतिक्रिया