Khadya Bibhag

उपेन्द्र र रवीको एउटै बोली

हिउँदै अधिवेशन अन्त्य हुन लाग्दा बसेको प्रतिनिधि सभाको बैठकमा अधिकाँश नेताले संघीयता र गणतन्त्रमाथि खतरा औल्याउनु भएको थियो । त्यो खतरा कोही अरुबाट होइन, सत्ताधारी दल तथा पुराना पार्टीबाट नै रहेको नेताहरुले दावी गर्नुभयो । २०७९ को चुनावपछि केही वैकल्पिक अर्थात नयाँ शक्तिहरु संसदमा आएपछि ठूला दलका नेताहरुले गणतन्त्र र संघीयता खतरामा रहेको भन्न थाल्नु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको कार्यशैली तथा क्रियाकलापका कारण गणतन्त्र नै खतरामा परेको अभिव्यक्ति धेरै ठाउँबाट सुनिएको थियो । पछिल्लो समय राजावादी तथा हिन्दुवादीहरुको बढ्दो सक्रियता र जनताको असन्तुष्टिमा खेल्ने नयाँ पार्टीहरुका कारण गणतन्त्रमाथि खतरा उत्पन्न भएको पुराना अर्थात तीन ठूला दलले पटक पटक आरोप लगाएका थिए ।
तर पछिल्लो संसद बैठक त्यो कुरा ठिक उल्टो देखियो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउतले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि पुराना दलबाट नै खतरा रहेको अभिव्यक्ति दिनु भएको थियो । काँग्रेस, एमाले र माओवादी केन्द्रका गतिविधिले राजनीतिक व्यवस्था खतरामा परेको आरोप उहाँहरुले लगाउनु भएको थियो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले पुराना दलकै कारण गणतन्त्र खतरामा परेको बताउनुभयो । अरु सांसदहरु संघीयता खतरामा रहेको भन्ने गरेका छन् तर आफूले त यतैबाट संघीयता खारेज हुने हो कि भनि चिन्ता बढ्न थालेको उहाँले बताउनुभयो । आठ वर्ष भयो संविधान निर्माण भएको तर हालसम्म संघीय कानुन नबनेको गुनासो गरे । अध्यक्ष यादवले भन्नुभयो, ‘संविधानको महिमा गाउने मित्रलाई मैले के स्मरण गराउन चाहन्छु भने संविधान जारी भएको दिन चार जना मधेशी युवाको ज्यान गएको थियो, देशको ठूलो जनसँख्याले संविधानको अनरसीप नलिने भएकाले महिमा गानले संविधान कति दिन टिक्ला र ?
अध्यक्ष लामिछानेले व्यवस्था नै खतरामा प¥यो भनेर सुनिएको छ, ठूला दलकै कारण व्यवस्थामा खतरा आउने त होइन भनि प्रश्न गर्नुभएको थियो । आफूले यी पुरानै दलबाट नै संघीयता र गणतन्त्रमाथि खतरा देखेको बताउँदै उहाँले यी दलहरुको क्रियाकलापका कारण देश बर्बाद भएको धारणा राख्नुभएको थियो ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले शीर्ष तहका नेताहरुले विदेशी इन्स्योरेन्सको पैसा आउँछ भनेर देशलाई डुबाइरहेको उल्लेख गर्नुभयो । देशमा जनताका लागि लोकतन्त्र नभएको बताउँदै उहाँले तीन ठूला दलका नेताहरुको कारण जनता निराश भएको बताउनुभयो । अँध्यारो कोठामा तीन जना नेताले गरेको निर्णयलाई सार्वभौम सत्ता सम्पन्न भन्न नसकिने बताउँदै उहाँले नयाँ दललाई सकाउने तीन दलका नेताहरुको अभिव्यक्ति अरु केही होइन, लचारीपन रहेको धारणा राख्नुभएको थियो । अध्यक्ष राउतले संसद् यसरी नै चलिरहे व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार बन्दै गएको पनि दोहार्याउनुभयो ।

तपाईको प्रतिक्रिया