जनकपुर कात्तिक २७ गते । मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक छ । हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढेको छ । पाँच दिनको दिवाली (मैथिली बोलीचालीमा दीयाबाती पनि भनिन्छ) मा लक्ष्मीपूजालाई मुख्य मानिन्छ ।
कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिका दिन धनतेरस र आयुर्वेदका पिता भनिने धन्वन्तरी जयन्ती पनि मनाइन्छ । यसैगरी यस पर्व (दिवाली) मा औँशीका दिन राति लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गोबर्धन पूजा र द्वितीयाका दिन भैयादूज पर्व मनाइन्छ । यी पाँचै दिन सिङ्गारिएका घरवरपर उज्याला बत्ती बालेर परिवेश नै उज्यालो बनाइन्छ । दिवालीलगत्तै कात्तिक शुक्ल चौथी (चतुर्थी) देखि सप्तमीसम्मको छठपर्व सँगैपरेकाले अहिले मिथिला क्षेत्र दिवाली र छठमय बनेको छ ।
उज्यालो र सम्पन्नताको प्रतीक मानिने दिपावली एवं छठपर्वको तयारीले मिथिला अहिले उत्सव र भक्तिको लयमा देखिन्छ । राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले जिल्लामा उमङ्ग छाएको छ ।
अहिले दिपावलीमा धनधान्यकी देवी लक्ष्मीको महिमा वर्णित भजन गुञ्जिरहेका छन् । बस्ती–बस्तीमा आज साँझको लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन, रङरोगन गर्न र वरपर सरसफाइका लागि सबै व्यस्त छन् । पर्वसँगै किसानलाई खेतीपातीको चाँजो पनि मिलाउनु छ । पर्वकै बीच धान काट्ने, दाइँ गर्ने र थन्क्याउने चटाराले खेतीपातीदेखि सबै व्यावसायिक काम पनि अहिले पर्वकेन्द्रित बनेका छन् ।
तपाईको प्रतिक्रिया