पटक पटक रेणुले किन गर्नुहुन्छ शक्ति प्रदर्शन ?

राप्रपा छाडेर २०६३ मा तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल प्रवेश गर्नुभएका रेणु यादव सप्तरीको तत्कालिन क्षेत्र नम्बर ४ बाट संविधान सभा सदस्यमा चुनाव जित्नु भएको थियो ।
२०६७ मा प्रधानमन्त्रीका लागि माओवादीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका तत्कालिन उपसभापति रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा भइरहँदा तत्कालिन फोरमका अध्यक्ष उपेन्द्र यादव प्रचण्डका पक्षमा हुनुहुन्थ्यो भने रेणु यादवको नेतृत्वमा केही सांसदहरुले फ्लोरक्रश गरेका थिए । त्यतिबेला तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पनि प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएको थियो ।
प्रधानमन्त्रीमा प्रचण्डलाई मतदान गर्ने भनि ह्वीप थियो तर त्यसलाई उल्लघंन गर्दै रेणु यादवको नेतृत्वमा फोरममा एक प्रकारको विद्रोह नै गरि फ्लोरक्रश भएको थियो । त्यतिबेला रेणु यादवले निकै चर्चा बटुल्नु भएको थियो । संविधान निर्माण भएपछि तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको कार्यकालमा संविधान संशोधन हुँदा मधेशी दलबाट कोही पनि मधेशको पक्षमा संशोधनका लागि सदनमा प्रस्ताव हालेका थिएनन्, रेणु यादवले अध्यक्ष उपेन्द्र यादवको बिना स्विकृति फोरमबाट एक्लै संशोधनका लागि प्रस्ताव हाल्नुभएको थियो ।
त्यो प्रस्ताव फिर्ता लिनका लागि पार्टीभित्र र बाहिरबाट उहाँलाई दबाव थियो तर उहाँले कसैको सुन्नुभएन । त्यतिबेला उहाँले मिडियामा भन्नुभएको थियो, ‘मधेशको जनतालाई ५२ प्रकारको व्यञ्जन उसको ढोकामै गएर दिए पनि स्वीकार्दैनन्, बरु सुखो रोटी उसलाई स्वीकार छ ।’ त्यतिबेला पनि रेणु यादवको निकै चर्चा भएको थियो ।
बेलाबेला राजनीतिक चर्चामा आइरहने रेणु यादव र उपेन्द्र यादवबिच ‘हेट एण्ड लभ’ को राजनीतिक सम्बन्ध सधै रह्यो । कहिले निकै राम्रो सम्बन्ध देखिन्थ्यो भने कहिले नराम्री बिग्रिन्थ्यो । तर पछिल्लो केही वर्ष यता उपेन्द्र यादवबाट रेणु यादवको दुरी निकै बढेको छ । बेलाबेलामा पार्टीभित्र रेणु यादवले आफनो शक्ति प्रदर्शन गर्नुहुन्छ, जसले पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बेचैन बनाई दिएका हुन्छन् ।
२०७७ मा पनि उहाँले तत्कालिन समाजवादी पार्टीमा त्यस्तै विद्रोह गर्नुभएको थियो ।
इस्तियाक राइ, प्रदीप यादव, डा.सुरेन्द्र यादवलागयतका नेताहरुलाई साथमा लिएर पार्टी विभाजन गर्ने तयारीमा हुनुहुन्थ्यो । एक जना सांसद कम भइरहेको बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले डा.सुरेन्द्र यादवलाई जनकपुरबाट अपरण गराएर काठमाडौँ ल्याई दिनुभएको थियो । उहाँलाई मेरियट होटलमा राखिएको थियो । त्यहाँबाट तत्कालिन समाजवादी पार्टीका नेताहरुले उद्धार गरेका थिए । तैपनि पार्टी विभाजन हुने निश्चित देखेपछि अध्यक्ष उपेन्द्र यादव, तत्कालिन संघीय परिषद् अध्यक्ष डा.बाबुराम भटट्राई, वरिष्ठ नेता अशोक राइलगायतका नेताहरु शान्तिनगरस्थित रेणु यादवको घरमा डेरा जमाएर बस्नुभएको थियो ।
उहाँहरु घरमै बसेपछि रेणु यादवले पार्टी विभाजन सम्बन्धी कुनै गतिविधि गर्न पाउनु भएन । यता, तत्कालिन राजपा नेपालसँग एकीकरणको लागि पहल भएको थियो र रातारात एकीकरण पनि भयो । निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता भएसम्म रेणु यादवको घरको घेरा तोडिएको थिएन । अन्ततः त्यतिबेला समाजवादी पार्टी विभाजनबाट जोगिएको थियो ।
अध्यक्ष उपेन्द्र यादवले २०७९ मा भौतिक मन्त्रीबाट रेणु यादवलाई हटाएर इस्तियाक राइलाई मन्त्री बनाएपछि उहाँ पुनः असन्तुष्ट हुनुभएको थियो । त्यतिबेला उहाँले पार्टीबाट राजिनामा नै दिनुभएको थियो । राजिनामा दिएर पार्टीमा आफ्नो गुट बनाउन थाल्नुभयो । पार्टीभित्रका केही असन्तुष्ट नेताहरुसँग सम्पर्क गर्न थाल्नुभयो, बैठकहरु बसाउन थाल्नुभयो । तैपनि उहाँको राजिनामा स्विकृत भएन । त्यति नै बेला डा.बाबुराम भटट्राई र उपेन्द्र यादवबीच खटपट सुरु भयो । बाबुराम भटट्राई अर्को पार्टी बनाउनुभयो । रेणु यादव पार्टीभित्र असन्तुष्ट भएपनि बाबुरामको साथमा जान चाहनु भएन । वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकमा उहाँले पार्टी नेतृत्वको खुलेर आलोचना गर्नुभएको थियो । पछि बसेको कार्यकारिणी समितिको बैठकले उहाँलाई राजिनामा फिर्ता लिन आग्रह गरपछि फिर्ता लिनुभएको थियो ।
उहाँले राजिनामा फिर्ता लिएपनि उपेन्द्र यादवसँग सम्बन्ध राम्रो हुन सकेन । पार्टीको गतिविधिबाट टाढा टाढा बस्न थाल्नुभयो उहाँ । २०७९ को मंसिरमा भएको चुनावमा उहाँले टिकट पनि पाउनु भएन । उहाँले टिकट नपाए पनि प्रदेश सभाका लागि उहाँका छोरा अभिषेक यादवले पाउनु भएको थियो । पार्टीबाट अलग थलग रहेर चुनावमा छोराका लागि खटिनुभयो तर त्यही सप्तरीमा चुनावमा उठनु भएको उपेन्द्र यादवको क्षेत्रमा फर्केर कहिले जानुभएन । त्यसबाट पनि पुष्टि हुन्छ कि उहाँ दुवै जनाको बीचमा दुरी कतिको बढेको थियो । उपेन्द्र यादव र रेणु यादवका छोरा अभिषेक यादव दुवै जना चुनाव हार्नुभयो ।
चुनाव हार्नुमा दुवै जनाले एक अर्कालाई आरोप लगाउनु भएको थियो । पछिल्लो समय उहाँले आफ्नो शक्ति सप्तरीमा देखाउनु भएको छ । केदार यादव सप्तरी जिल्ला समन्वय समितिको अध्यक्ष हुँदाहुँदै उहाँले जिल्ला भेला बेलाएर उमेश यादवलाई अध्यक्ष बनाउनु भएको छ । उहाँले यस्तै समिति मधेश प्रदेशको आठवटै जिल्लामा बनाउने घोषणा भेलामा गर्नुभएको स्रोतले जनाएको छ । यो शक्ति प्रदर्शन कहाँ गएर टुगिंने हो हेर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया