नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शेखर कोइराला, गगन थापासँग जुधिरहनु भएको छ भने उता एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका महासचिव शंकर पोखरेलसँग जुधिरहनु भएको छ । एमाले प्रदेश अधिवेशनको समय दुवै जना आमुने सामुने आएपछि बढेको त्यो दुरी अझै कम भएको छैन । विष्णु पौडेल र इश्वर पोखरेलको अवस्था पनि त्यस्तै छन् । विद्यादेवी भण्डारीको लफडा समाप्त भएको छैन । यस्तैमा, एमालेबाट अलग भएर माधवकुमार नेपालले बनाउनु भएको पार्टी नेकपा (एकीकृत समाजवादी)मा पनि आन्तरिक विवाद सुरु भएको छ । पार्टीमा सम्मानीय नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालीबिच दुरी बढेको हो ।
कात्तिक १५ गते एमाले पार्टीले आयोजना गरेका चियापान कार्यक्रममा जान नपरोस् भनेर अध्यक्ष नेपाल रौतहटतिर हानिएका थिए तर पार्टीलाई जानकारी नै नदिइकन अर्का नेता खनाल र रामकुमारी झाँक्रि चियापानमा सहभागी हुनुभएको थियो । पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति नरम देखिनु भएका नेता खनालले नेपालसँग दुरी बढाउदै अोलीसँग घटाउँदै हुनुहुन्छ । पार्टीका बैठकहरुमा समेत खनालले एमालेसँग एकीकरण गरेर अगाडि बढ्नुपर्ने कुरा राख्दै आउनु भएको छ तर अध्यक्ष नेपाल तत्कालै एमालेको साथमा जान इच्छुक हुनुहुन्न । तर माधवकुमार नेपाल नआए पनि उहाँका साथमा रहेका खनालसहितका नेताहरुलाई तान्ने जोगारमा अध्यक्ष ओली रहनु भएको छ ।
यता, काँग्रेसभित्र शेखर कोइराला समूहले कोशी प्रदेश सरकारलाई लिएर दबावमा हुनुहुन्छ । पार्टीमा बिद्रोह गराएर सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाएपछि देउवाले भित्रैदेखि त्यसलाई रुचाउनु भएको छैन तर पार्टीकै मुख्यमन्त्री भएको कारण चुप लाग्नुभएको छ । एमालेले सरकारबाट फिर्ता भइसकेपछि काँग्रेस नेतृत्वको त्यो सरकारको अगामी यात्रा कसरी तय हुनेमा काँग्रेसबिच अन्योल छ । सोही आन्तरिक विवादका कारण पार्टीको महासमितिको बैठक सर्या–सर्यै छ । काँग्रेसका एक नेताले सहारा टाइम्सँग भन्नुभयो, ‘पार्टीका सभापतिले भुकम्प तथा चाडपर्वलाई बहाना बनाउनु भएको छ, तर कुरा त्यस्तो होइन, शेखर, गगन, विश्वप्रकाश, प्रदीप पौडेलको चलखेलका कारण अल्पमतमा देखिएपछि महासमितिको बैठक सारिएको हो ।’ यी चार भाइले माओवादीको साथ छाड्न सभापति देउवालाई दबाव दिँदै आउनु भएको छ ।
माओवादीको साथमा रहेर पार्टीलाई फाइदा नुहने कुरा पटक पटक भने पनि सभापति देउवा तत्कालै प्रचण्डको साथ छाड्ने पक्षमा हुनुहुन्न । कमसे कम फागुनसम्म यो गठबन्धन देउवाले नछाड्ने मुडमा हुनुुहुन्छ । फागुनमा राष्ट्रिय सभाको चुनाव हुँदैछ । २५ सीट खाली हुँदैछ । सो सीटमा गठबन्धनमा भागबण्डा गर्दा स्वभावित रुपमै काँग्रेसले सबभन्दा बढी सीट पाउँछ । जो एमालेसँग गएर सम्भव छैन । एमालेसँग गठनबन्धन गर्दा राष्ट्रिय सभामा त्यति सीट पाउने सम्भावना धेरै कम हुन्छ । यता, एमालेका अध्यक्ष ओलीले मंसिर मसान्तसम्ममा सरकार ढाली दिने अल्टिमेटम दिनुभएको छ । त्यसका लागि उहाँले कोशी प्रदेशदेखि केन्द्रसम्म ढोक्सा थप्ने काम गर्नुभएको छ, ढोक्सामा हालसम्म कोही फँसेका छैनन् तर स्रोत भन्छ, ‘काँग्रेसका शेखर कोइरालले ओलीलाई आश्वासन दिनुभएको छ, मंसिरसम्म केही गरौला भन्नुभएको छ, त्यही भएर कोशी प्रदेशमा एमाले सरकारबाट फिर्ता भएपनि समर्थन फिर्ता लिएको छैन ।’
तपाईको प्रतिक्रिया