काठमाडौँलाई बाह्रै महिना पानी खुवाउने उपायको खोजीमा छौं
२ माघ २०८०, मंगलवार १५:५७
महिन्द्रराय यादव –मन्त्री, खानेपानी मन्त्रालय
विश्वव्यापी वतावरवणीय प्रभावका कारण पानीको हाहाकार हुने अवस्था देखिएको छ । हिमालमा पनि हिँउ झरेको छैन, जसले गर्दा हिमाली क्षेत्र पनि सुख्खा हुन थालेको छ । तराई मधेशमा पनि पानी नपरेको धेरै भइसक्यो । त्यसले गर्दा तराई मधेशमा पनि खानेपानीको हाहाकार सुरु भएको छ । यता, मेलम्चीबाट खानेपानी नआउँदा उपत्यकामा पनि खानेपानीको समस्य देखिएको छ । तर खानेपानी मन्त्री महिन्द्रराय यादव उपत्यकामा खानेपानी ल्याउन भरपुर प्रयास गर्नुभएको छ । काठमाडौं उपत्यकमा खानेपानी आइसकेको छ । माघ १ गते प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गरेपछि त्यो सर्वसाधारणका लागि वितरण हुनेछ । यिनै खानेपानी समस्या लगायतका विषयमा सहारा टाइम्सले खानेपानी मन्त्री महिन्द्रराय यादवसँग गरेको कुराकानीको सम्पादीत अंशः
ग्लोबल वार्मिङका कारण जलस्रोतकै देश नेपालमा पनि खानेपानीको हाहाकार भइरहेको छ, खानेपानी मन्त्रालयले यसको व्यवस्थापन कसरी गरिरहेको छ ?
–तपाईले ठिक भन्नुभयो, खानेपानी तथा जलको समस्या विश्वव्यापी रुपमा देखिन थालिएको छ । पानी कम परेको कारण नदी नालाहरु पनि सुक्न थालेका छन् । पृथ्वीमा रहेको पानीको स्रोतहरु पनि सुक्न थालेका छन् जसले गर्दा जताततै पानीको अभाव देखिएको छ । यसका लागि सरकार गम्भीर रुपमा लागेको छ । यसको समाधान एक दिनले मात्र हुँदैन । यसको दीर्घकालिन समाधानका लागि प्रयासहरु भइहरेका छन् । विभिन्न अन्तरराष्ट्रिय संघ संस्था र दातृ निकायसँग छलफलहरु भइरहेका छन् । पानीको क्षेत्रमा काम गर्ने विभिन्न निकायसँग यसका दीर्घकालिन समाधानका उपायहरु के के हुनसक्छन्, पानीको हाहाकारलाई कसरी न्युनिकरण गर्न सकिन्छ त्यस बारेमा अध्ययन गर्न मन्त्रालय गम्भीर रुपमा लागेको छ ।
प्रारम्भिक अध्ययनले के देखाउँछ त ?
मुख्य कुरा हामीले बाहिरबाट कृत्रिम पानी ल्याउन सक्दैनौ । हामीसँग भएको स्रोत साधनबाट नै त्यसको जगेर्ना गरी पानी उपलब्ध गराउने हो । पृथ्वीमा पाइने पानीको तीन प्रतिशत मात्र खानेपानीका लागि प्रयोग हुन्छ । अरु बाँकी पानी खेती किसानी तथा औद्योगिक प्रयोजनका लागि जान्छ । यसो भनौ न पृथ्वीमा रहेको पानीमध्ये ९० प्रतिशत पानी कृषिमा प्रयोग हुन्छ र बाँकी रहेको पानी पिउन र उद्योग धन्दमा प्रयोग हुन्छ । यसर्थ हामीले खानेपानीलाई कम गर्न सक्दैनौं । हामीले कृषिमा प्रयोग हुने पानी र उद्योग धन्दामा प्रयोग हुने पानीलाई कसरी समायोजन गर्ने त्यसमा ध्यान दिनुपर्छ ।
कृषिमा जथाभावी पानी प्रयोग भइरहेका हुन्छन् । कृषिमा थोरै पानी कसरी प्रयोग गर्ने, थोरै पानी प्रयोग गरेपनि उब्जाउ हुने जस्ता उपाय निकाल्नु पर्छ । त्यसका लागि कृषि वैज्ञानिकले अध्ययन अनुसन्धान गर्नुपर्छ । त्यस अनुसारको बिउ र जातको विकास गर्नुपर्छ । पछिल्लो थोपा सिँचाइको प्रभावकारिता पनि बढ्दै गइरहेको छ । कम पानी प्रयोग गरि गरिने खेतीको पनि विकास हुँदैछ । त्यस्तै अद्यौगिक प्रयोजनका लागि प्रयोगहरु पानी खेर गइरहेका हुन्छन् । त्यसलाई प्रशोधन गरी कृषिका लागि प्रयोग गर्न सकिन्छ ।
यस्ता धेरै उपायहरु छन् जो पानीलाई कम प्रयोग गर्ने, खेर गइरहेको पानीलाई भण्डारण गर्ने, उद्योगबाट निस्केका पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्ने जस्ता उपायहरु अपनाई मात्र पानीको हाहाकारबाट बच्न सकिन्छ । कोकाकोला, पेप्सीलगायतका पेयपदार्थ उत्पादन गर्ने कम्पनीले पानीको धेरै प्रयोग गरिरहेका छन् । तर उनीहरुले सामाजिक दायित्वअन्तर्गत सेवाका क्षेत्रमा भने काम गरेको देखिन्न । त्यस्ता उद्योगलाई पनि एउटा निश्चित दायरामा ल्याउन कोसिश भइरहेको छ । एउटा रिर्पोर्टले बताए अनुसार सन् २०२५ सम्म दुई अर्ब मानिस पानीको तीब्र अभाव भोग्न सक्छ । यसले विश्वलाई गम्भिर बनाएको छ जसले गर्दा पानीको विकल्प बारे सोच्न सबैलाई बाध्य बनाएको छ ।
यो त विश्वको समस्या हो, नेपालमा त समस्या सुरु भइसकेको छ, त्यसलाई कसरी समाधान गर्ने खोज्नु भएको छ ?
–अहिले जति पनि उपायहरु देखिएका छन् ती दीर्घकालिन समाधान होइन । मेलम्चीको पानी काठमाडौ आउन सुरु भएको छ त्यो पनि दीर्घकालिन समाधान होइन । दीर्घकालिन समाधानका लागि अझै धेरै काम गर्न बाँकी छ । अर्को कुरा, मैले अघि पनि भनेको थिए कि मानवले पानी प्रयोगमा आफ्नो बानी सुधार गर्नुपर्छ । पानी स्रोतहरु कम हुँदै गएका छन् तर पानी प्रयोगमा वृद्धि नै भइरहेको छ । पहिलाका मानिस एक ग्राग्री वा एक बाल्टी पानीले नुहाउथे अहिले छतमा ट्यांकी राखेका छन् । त्यसमा स्टोर गरिएको पानीले नुहाउँछन् । पहिला पहिला मानिसहरु खोलानाला, तलाब, पोखरीमा नुहाउन जान्थे । जति नुहाए पनि पानी खेर जाँदैन्थ्यो तर अहिले बाथरुममा नुहाउन थालेका छन् ।
पहिला विभिन्न स्रोतबाट पानी भरेर ग्राग्रीमा ल्याउथे अहिले पृथ्वी मुनीबाट पानी तान्ने विभिन्न उपायहरु आइसकेका छन् । त्यसले गर्दा पनि चाहिने भन्दा बढी पानी खपत भइरहेको छ । तपाईल याद गर्नुभएको होला, पहिला पहिला मध्यपहाडीतिर एक गाग्री पानी लिन दिनभर लगाएर ल्याउन जान्थे । ल्याएर त्यसलाई जोगाई जोगाई खान्थे तर अहिले त्यो स्रोतबाट पाइप जडान गरी घरघरसम्म पानी पुर्याइएको छ र चाहिने भन्दा बढी पानी प्रयोग भइरहेको छ । त्यसैले म के भन्छु भने मानवनले पनि खानेपानी प्रयोगमा आफ्नो बानी सुधार गर्नुपर्छ ।
उपत्यका बासीलाई बाह्रै महिना पानी खुवाउनका लागि के उपाय लगाई रहनु भएको छ ?
–मैले अघि पनि भनेका थिए कि मेलम्चीबाट पानी ल्याउन अहिले जुन संरचना बनेको छ त्यसले काठमाडौँबासीलाई बाह्रै महिना पानी खुवाउन सकिदैन । तर उपाय अपनाउन सकिन्छ । वर्षातमा मेलम्चीको अभावमा पनि बागमतीसहितका खोलानाला र ढुङ्गेधारामा खेर गइरहेको पानीको भण्डारण गरी राजधानीवासीलाई बाह्रै महिना खानेपानी उपलब्ध गराउन सकिन्छ । त्यसको बारेमा अध्ययन भइरहेको छ । तपाईले याद गर्नुभएको होला, वर्षातमा थुुप्रै पानी खेर गइरहेका हुन्छन् । त्यो पानीलाई स्टोर गरेर राख्न सकियो र सुख्खा समय वा अन्य समयमा प्रशोधन गरेर दिन सकियो भने कहिले अभाव हुँदैन । उपत्यकामा हेर्नुहुन्छ भने थुप्रै ढुङ्गे धाराहरु छन् जो मर्मतको अभावमा त्यतिकै बन्दको अवस्थामा छ । त्यसलाई रिचार्ज गरेर चलाउन सकिन्छ । कतिपय ढुगेंधारामा पानी आइरहेका हुन्छ तर ती प्रयोगविहिन अवस्थामा छन् । त्यसलाई प्रयोगमा ल्याउन सकियो भने धेरै हदसम्म पानीको समस्या समाधान हुन्छ ।
मेलम्चीबाट बाह्रै महिना काठमाडौँ पानी ल्याउन कहाँ कहाँ समस्या छन् ?
–राष्ट्रिय गौरवको आयोजना मेलम्चीको दुईवटा समस्या छन् । लामो समय लगाएर निर्माण गरिएको आयोजनाको प्राकृतिक हिसाबले बाढी र पहिरोका कारण मुहान ४५ फिट पुरिएको छ । पहिला याङ्ग्री, लार्के र मेलम्ची खोलालाई एउटै ठाउँमा मिसाएर पानी ल्याउने योजना थियो । पछिल्लो घटनाले बेग्लाबेग्लै मुहान र सुरुङ बनाएर मूल प्रणालीमा ल्याउने भन्ने छ । त्यसमा समय लागि रहेको छ । अहिले अस्थायी रुपमा पानी ल्याइएको हो । स्थायी प्रकृतिको संरचना बनाउन सडकको पहुँच विस्तार आवश्यक छ । काठमाडौँमा जबसम्म दैनिकरुपमा ५१ करोड लिटर पानी उपलब्ध हुन्न, तबसम्म यहाँ पानीको समस्या समाधान हुन्न । आयोजना सरकारको पूर्ण स्वामित्वमा छैन, कम्पनी ऐनअन्तर्गत समिति गठन भएको छ । आयोजनाको अब पुनर्संरचना गर्न सकिएन भने दिगोरुपमा पानी ल्याउन सकिन्न । मेलम्चीको पानी यहाँका जनताको सपना हो । बर्षातमा बागमतीको खेर जाने दैनिक थप पाँच करोड लिटर पानी हालको प्रणालीमा ल्याउन बोलपत्र भएको छ । वातावरण प्रभाव मूल्याङ्कन र रोयल्टीका कुराले भने केही अल्झन खडा गरेको छ । यो सेवामुलक कार्य हो । असार, साउन र भदौ तीन महिना ढुङ्गेधारा, बाग्मती र अरु स्रोत एवं सहायक नदीबाट गरी दैनिक ११ करोड पानी ल्याउने प्रयासमा हामी लागि परेका छौं ।
खानेपानीका लागि नीतिगत सुधारका के कस्ता काम तपाईको मन्त्रालयबाट भइरहेको छ ?
–म मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बजेटमा समावेश गर्ने गर्ने कार्यक्रमहरु चयन भइसकेको थियो । त्यसमा म केही गर्न सकिनन् । सरकारले दिएको बजेटमध्ये २५ प्रतिशत बजेट कम दिएको छ । बजेट कम दियो तर समस्या जस्ताको त्यस्तै छ, यहाँसम्म कि समस्या बढ्दै गइरहेको छ । खानेपानीको क्षेत्रमा विभिन्न चुनौती बढ्दैछ तर अर्थमन्त्रालयबाट बजेट कटौती गरेर आएको छ । यसले हामीलाई काम गर्न अलि गाह्रो बनाएको छ । तैपनि नीतिगत, विकास निर्माण र जलवायुका परिवर्तनबाट देखिएका समस्यामा केन्द्रित रहेर कामहरु भइरहेका छन् । राष्ट्रिय खानेपानी सरसफाइ तथा स्वच्छता नीति, प्रशोधित फोहर पानी उत्सर्जन मापदण्ड, मेलम्ची खानेपानी विकास समिति गठन, २० बुँदे प्रतिबद्धता घोषणासहितका कामहरुको भएको छ । अब त्यसलाई कार्यान्वयनमा ल्याएर खानेपानी समस्यालाई समाधान गर्नेतर्फ नीतिगत रुपमै लाग्नुपर्छ ।
यी जुन नीतिहरु तपाईले भन्नुभयो त्यो कार्यान्वयमा आइसकेको छ कि आउन बाँकी छ ?
–सरसफाइ नियमावली निर्माणको चरणमा छ । नियमावली आएपछि राष्ट्रिय कार्यक्रम गर्छाैं । प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशन समिति छ । त्यसले ‘स्वच्छ नेपाल ः स्वच्छ नेपाली’ भन्ने नारा तय गरेको छ । राष्ट्रिय गौरवको आयोजना मेलम्चीको बोर्डमार्फत काम अघि बढिरहेको छ । बजेट कार्यान्वयन कार्ययोजनाअनुसार माघभित्र मुलुकका सबै आयोजनाको ठेक्का प्रक्रिया गरिसक्नुपर्नेछ । त्यसमा सहमतिका लागि अहिले अर्थ मन्त्रालय पठाइएको छ । त्यो प्राप्त हुनासाथ टेण्डर प्रक्रियामा जान्छन् ।
पछिल्लो समय तराईमा पनि खानेपानीको समस्या देखिन थालेको छ, त्यसको विषयमा त्यहाँका जनताले तपाईलाई ध्यानाकर्षण पनि गराएको छ त्यसमा के भइरहेको छ ?
–तराईमा पानीको सतह घटेर निकै समस्या आएपछि इञ्जिनियर टोली खटाएर अध्ययन गर्न लगाइएको छ । त्यसले अध्ययन गरेको प्रतिवेदनका आधारमा त्यहाँको समस्या समाधान गर्नेतर्फ हामीलाई लाग्नेछौं । देशभरका दुई सय ६० वटा खानेपानी जम्मा गर्ने ठूला ट्याङ्कीको मर्मतसम्भारमा जोड दिइयो । जनतालाई सुलभ मूल्यमा खानेपानी आपूर्ति गर्न र राहत दिन विद्युत् महसुलमा लाग्दै आएको शुल्क घटाउने निर्णय भयो । यी कार्यक्रमसँग जोडेर अर्थ मन्त्रालयसँग तीन अर्ब रुपियाँ माग गरिएको छ । डोकोमा पानी बोक्ने समस्यालाई समाधान गर्न हामीले गण्डकी प्रदेशमा ‘एक घर ः एक धारा’ को नीति अघि बढाएका छौं । अस्ति प्रधानमन्त्रीज्युले उठाएको कुरा के थियो भने धारामा पानी होइन, आँगनमा शुल्कको बिल छिटो पुग्ने गरेको छ । यो समस्या निराकरण गर्न बनाइएको समितिले दिने प्रतिवेदनका आधारमा आगामी ठोस पहल गरिने छ ।
तपाईको प्रतिक्रिया