मधेशमा एकपटक पुनः ध्रुवीकरणका लागि पहल भइरहेको छ । एउटा अर्को मधेश आन्दोलन गर्नका लागि मधेश केन्द्रीत दलहरुको बिचमा पहल सुरु भएको छ । त्यसको पहल जनता प्रगतिशिल पार्टीका अध्यक्ष ह्रदयश त्रिपाठीले गर्नुभएको छ । लामो समय मधेशको राजनीति गर्नुभएका अनुभवी नेता त्रिपाठीले थालेको पहललाई दलहरुले सकारात्मक रुपमा लिएका छन् र जुट्न पनि थालेका छन् ।
नेताहरुले आआफ्नो पार्टीमा वार्ताका लागि वार्ता समिति समेत बनाइ सकेका छन् । हरेक मधेशवादी दलहरु कमजोर भइसकेका छन् । हरेकको अस्तित्व संकटमा छ । यो कमजोर अवस्थामा एक्ला एक्लै लडाइ लडेमा केही पनि प्राप्त हुँदैन बरु गुम्ने खतरा हुन्छ । त्यसैले लडाई जित्नका लागि एकता आवश्यक छ भन्दै मधेशवादी दलहरु अहिले कम्मर कसेर त्यसमा लागेका छन् । देशले प्रत्येक १०–१० वर्षमा परिवर्तन चाहन्छ । केही न केही नयाँपन चाहन्छ ।
देशमा परिवर्तन आएको झण्डै २० वर्ष हुन लागेको छ । तर संस्थागत भएको १० वर्ष मात्र भएको छ । २०६२÷०६३ को जनआन्दोलनपछि देशमा परिवर्तन आएको हो । त्यसलाई मलजल दिने काम १० वर्षे जनयुद्ध तथा लामो समय चलेको मधेश विद्रोहले पनि गरेका छन् । सबैको साथ र सहयोगबाट देशमा परिवर्तन आयो । २०७२ मा संविधानसभाबाट संविधान जारी भयो । भलै त्यो संविधान सर्वस्विकार्य भएन । तर आधारभुत कुराहरु जस्तै, संघीयता, गणतन्त्र, समावेशी समानुपातिक, धर्मनिरपेक्षता जस्ता कुरा संविधानमा नै उल्लेख गर्यो ।
संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत २०७२ मा भएको मान्न सकिन्छ । त्यस हिसाबले १० वर्ष भयो । जनताले त्यसमा केही चेन्ज चाहन्छन् । संविधानमा केही कुरा छैन जसले जनता अधिकार सम्पन्न महुसस गरिरहेका छैनन् । जनताले मात्र होइन, राजनीतिक दल जसले यो संविधान बनाए त्यसलाई पनि अब यो संविधान संशोधन गर्नुपर्छ भनि लागेको छ । संविधान संशोधन भएन भने अरु कुनै राजनीतिक परितर्वन हुनसक्छ ।
जनविद्रोहका पनि सम्भावना छ । त्यसका लागि शक्ति चाहिन्छ । सानो सानो समूहमा रहेर आन्दोलन गर्नुभन्दा एउटै मोर्चा, एउटै मञ्चमा आएर एउटा एजेण्डामा संयुक्त आन्दोलन गर्यो भने त्यसले राम्रो प्रभाव पार्छ र नतिजा पनि राम्रो दिन्छ । त्यसका लागि विभिन्न ठाउँबाट प्रयास भइरहेको छ । मधेशवादी दलहरु जबजब संगठित भएर लडाइ लडे, तब तब केही न केही प्राप्त गरेका छन् । एक्लै एक्लै लड्दा केही न केही गुमाएका छन् । सुरुमा उपेन्द्र यादवले मधेशी जनअधिकार फोरम नेपालबाट एक्लै आन्दोलन गर्नुभएको थियो । तर त्यसलाई राज्य टेरेन । त्यसपछि उहाँले महन्थ ठाकुर र राजेन्द्र महतोलाई साथमा लिएर अर्को मधेश आन्दोलन गर्नुभएको थियो त्यसपछि मात्र केही सफलता हात लागेको थियो ।
पहिलो संविधानसभा रहँदासम्म मधेशी, आदिवासी जनजातिलगायत समुदाय तथा वर्गले मिलेर संविधान निर्माणमा दबाव बढाइ रहेको थियो । त्यो दबाबका कारण अग्रगमन संविधान बन्ने सम्भावना बढेको थियो । त्यसपछि षड्यन्त्र गरेर संविधानसभा नै भंग गरिएको थियो । दोस्रो संविधानसभाको चुनाव हुनुअघि मधेशवादी दलहरु टुक्रा टुक्रामा विभाजित भइसकेका थिए । त्यसको नतिजा हो २०७० को दोस्रो संविधानसभा चुनावमा राम्रो नतिजा ल्याउन सकेन ।
मधेशवादी दलसँग भएको सम्झौता तथा अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार पनि संविधान निर्माण हुने अवस्था नदेखेपछि मधेशवादी दलहरु मोर्चा बनाएर आन्दोलन सुरु गरेका थिए । आन्दोलन पिकमा गयो । देशमा नाकाबन्दीसम्म पनि भयो तर अन्त्यमा गएर बिना सहमति आन्दोलन स्थगित भयो । त्यसबेलादेखि मधेशवादी दलहरुले एक्लाएक्लै पटक पटक आन्दोलन उठाउने प्रयास गरे । तर सकेनन् । त्यसले गर्दा दलहरु दिनदिनै कमजोर हुँदै गए । प्राप्त उपलब्धी पनि गुम्ने अवस्था आएपछि संयुक्त रुपमा संघर्षका लागि एकीकृत हुने प्रयास थालेका छन् । र त्यो अहिलेको आवश्यकता पनि हो ।


तपाईको प्रतिक्रिया