काठमाडौँ फागुन १४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफूले लोसपा छाडेको स्पष्ट संकेत गर्नुभएको छ ।
आफ्नो अभियानको बारेमा जानकारी गराउन सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले लोसपा छाड्नु भएको हो भनि जिज्ञासामा उहाँले आफूले पूर्व लोसपालाई यसै आन्दोलनमा सहभागी हुन आग्रह गरिसकेपछि सबै कुरा स्पष्ट रहेको छोटो प्रतिकृया दिनुभयो । यद्यपी उहाँले हालसम्म लोसपा छाडेको कुरा पार्टी नेतृत्वको जानकारीमा आएको छैन । उहाँले औपचारिक रुपमा राजिनामा पनि दिनुभएको छैन ।
यो अभियान वा आन्दोलन कुनै एउटा पार्टीको होइन, यसमा लोसपा, जसपा, काँग्रेस, माआवादीलगायतका दलहरु पनि सहभागी हुनुपर्ने बताउँदै उहाँले यो वैचारिक अभियानदेखि विद्रोहसम्मको संघर्ष हुने बताउनुभयो । उहाँले यो अभियानले पछि पार्टीको रुप ग्रहण गर्ने बताउनुभयो ।
यो विचारलाई नबोकेको कारण आफू लोसपाबाट अलग भएर क्रान्तिमा लागेको बताउँदै उहाँले लोसपा सत्ताको स्वाद लिइरहेको पनि टिप्पणी गर्नुभयो । सत्ता छाडेर जनताका लागि संघर्ष गर्न आग्रह गरेको बताउँदै उहाँले जुन दिन सत्ता छाडेर संघर्षमा आउँछ त्यो दिन मात्र त्यो दलसँग सहकार्य हुने बताउनुभयो ।
आफूले परम्परा सोचको पार्टी नबनाउने बताउँदै उहाँले जनताको आवश्यकता अनुसार मात्र पार्टी बनाउने बताउनुभयो । एकल लोकतन्त्र, एकल गणतन्त्रको विरुद्धमा संघर्ष गर्ने बताउँदै उहाँले आफूले बनाउने पार्टी बहुल सोच राख्ने पार्टी निर्माण गर्ने बताउनुभयो । एकल जातको कुरा गरेर देश बिग्रेको बताउँदै उहाँले एकल जातीय चिन्तनबाट देश चलेको कारण सबै कुरा बिग्रेको हो अब बहुल जातीय राष्ट्र निर्माणका लागि आफूहरु संघर्ष गर्ने बताउनुभयो ।
तपाईको प्रतिक्रिया