आज यहाँहरु सँग भईरहेको साक्षात्कार हाम्रो निमित्त विशेष रहेको छ । विशेष यो अर्थमा हो कि, लामो राजनीतिक जीवनमा हामीलाई अनेकौं पटक यहाँहरु सँग साक्षात्कार गर्ने अवसर मिलेको छ तर, आज फरक परिस्थिती बीच मुलुकको जल्दाबल्दा तात्कालिक र दिर्घकालिक विषयहरु माथी हाम्रो विचार सम्प्रेषण गर्न यहाँहरु सँग साक्षात्कार गर्दैछौं ।
वर्तमान विश्व परिस्थितीलाई विद्वानहरुले ठूलो अनिश्चितता र भ्रमको यूग भनेको छ, जुन हामी माझ ठूलो अविश्वास र शंका उत्पन्न गराउँदै नेपाली आकाशमा पनि मडारिरहेको छ । नेपाली समाज भित्र पनि ठूलो विचलनको स्थिति पैदा गरेको छ । हामीले समग्र सामाजिक-साँस्कृतिक, राजनीतिक तथा आर्थिक पक्षहरुमा सामना गरिरहेको चुनौतीहरु सँग मुकाविला गर्दै त्यसभित्र रहेको अवसरहरुलाई मुलुकको हितको निमित्त उपयोग गर्ने वातावरण निर्माणको खातिर वर्तमान अनिश्चित्ता तथा भ्रमको मूल कारणको विश्लेषण गर्दै नयाँ कार्यदिशा संस्लेषण गर्नु वान्छनिय भएको छ ।
पश्चिमा ज्ञान सत्तामा आधारित आधुनिकिकरण र बिकास रुपी वायुपंखी घोडामाथी सवार हुँदै संसारभरी शासकहरुले करोडौँ मानिसहरुको हत्या गरे, सयौं भाषा विनास गरे, हजारौं मानव समुहहरुलाई पहिचान विहिन बनाए, करोडौं जीवजन्तु, वनस्पति, सम्पदा, नदी, पोखरी, ताल, हिमाल, पहाड लगायत समुन्द्रमाथी समेत अतिक्रमण गरे र आज ‘पृथ्वी बचाउँ‘ नारा लगाउनु पर्ने स्थानमा विश्वलाई पुर्याए । यस्तो विशाल ध्वंसकारी कार्यको नेपाली संस्करणको नेतृत्व राजा महाराजाहरु र तत्पश्चात काँग्रेस र कम्युनिष्टहरुले गरे ।
आज उनीहरुका कारण हाम्रो सभ्यता संस्कृतिलाइ असभ्य भनियो, बहुलता, पहिचानलाइ इन्कार गर्ने काम भयो, हाम्रो उन्नत ज्ञान मास्ने काम भयो, हामीलाई पश्चिमा/विदेशमुखी बनाइयो । यहाँका स्वदेशी वहुलज्ञान-दर्शन, कला, साहित्य, सौन्दर्यताको संहार भयो, बहुल समाज व्यवस्थालाई निषेध गरायो, ऐतिहासिक वहुल राष्ट्रहरुलाई राज्यविहिन बनायो । प्रकृतिको विनास गरायो । यसर्थ पश्चिमा ज्ञानले यावत समस्याहरुको सामना गर्नु त परको कुरा भयो, समस्याको सृजानाकर्ता नै आफै रहेको प्रमाणित नै भइसक्यो । अत: अब पूर्वीय सभ्यतामा आधारित रहेको स्वदेशीय दर्शन मार्फत स्वदेशवादको पुन:स्थापन जरुरी भइसकेको छ ।
अब हाम्रा अगाडि प्रश्न खडा भएको छ : के गर्ने ? कहाँदेखिगर्ने ?
यि प्रश्नहरुको जवाफ खोज्नु नै वर्तमान राजनीतिको प्रमुख रणनीतिक कार्यभार हो । यँहा लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विकास, वृद्धि-संवृद्धि, समाजवादको बहस सम्भ्रान्तीय झुठ, फरेब, जनता झुक्याउने र ठग्ने प्रपन्च सावित भयो ।
अब के गर्ने?
वर्तमानको ठूलो अनिश्चितता र भ्रमलाई चिर्न सक्ने वैकल्पिक राजनैतिक शक्ति दावी गर्दै केही नयाँ समूहहरुको उदय तथा पुराना शक्तिहरु भित्रको नयाँ पुस्ताले उठाएको रुपान्तरणको बहस सुनिरहेका नेपाली जनताहरुले न नयाँ समूहहरुको उदय, न त पुराना शक्तिहरुको रुपान्तरण नै देखिरहेका छन्, बरु, उनिहरु अनिश्चितता तथा भ्रमले सृजना गरेको अविश्वास र शंकाको परिस्थितिलाई थप गिजोल्दै लाभ उठाउने अवसरवादी समुहहरुको रुपमा देखिएको छ ।
यो परिस्थिती तबसम्म रहेनेछ जबसम्म हाम्रो प्रयत्न हाल सम्म हावी रहेको राजनीतिक पार्टी एवं वर्तमान शक्ती संरचना भित्रै वैकल्पिक राजनीति वा शक्तीको खोजीमा सिमित रहने छ । यसर्थ हामीले हाल सम्म हावी रहेको राजनीतिक शक्ती संरचनाकै विकल्प खोज्नु पर्दछ जुन सम्भव मात्र होइन कि अनिवार्य भएको छ ।
कहाँदेखी गर्ने ?
नेपाल देशको सरहदको निर्धारण गोर्खाका राजा पृथ्वी नारायण शाहको राज्य विस्तार र त्यसपछि सुगौली सन्धि एवं नयाँ मुलुकको पुन:प्राप्ति पछि भएको हो । यसरी राज्य विस्तार हुदा अनेकौ सार्वभौम राज्य मात्र होइन अनेकौ संस्कृति पनि एउटै सरहद भित्र रहन गयो । तत्काल बिद्रोह नहोस भनेरै राजा पृथ्वी नारायण शाहले निर्दिष्ट गरे “नेपाल चार जात छत्तिस वर्णको साझा फुलवारी हो सबैलाई चेतना भया” । तर त्यसपछिका कुनै शासकमा उक्त चेतना आउन सकेन । शासकले आफ्नो बाहेक सबै सँस्कृतिलाई सिध्याउन्ने प्रयास गरे, असभ्य भने, बिदेशी भने, अराष्ट्रिय भने, मासिन्या घोषित गरे ।
फगत शाह राजाहरुको शासन केवल बंशको निम्ति, राणाहरुको शासन जहानको निम्ति, प्रजातन्त्रदेखि गणतन्त्रसम्मको शासन केवल एउटा नश्लको निम्तिमात्र आत्म गौरबको सत्ता हुन गयो । पृथ्वीनारायणले जगाउन खोजेको चेतना उनका बंस, जहान र नश्लमा आउन सकेन । त्यसैले त तराई मधेसमा गजेन्द्रनाराण सिंह, रघुनाथ ठाकुरहरुले तथा हिमाल, पहाडमा गोरेवहादुर खपाङगी, एम एस थापा, गोपाल गुरुङहरुले बिद्रोह गरे । गुलाम बनाइएका उत्पीडितहरुमा आत्मसम्मान जगाए, अपमान सूचक बनाइएको आफ्नो पहिचानमा गर्भ गर्न लगाए । त्यस आन्दोलनको निरन्तरता आज पनि छ । दुर्भाग्य उक्त आन्दोलनहरुले ठोस उपलब्धि दिन सकेको छैन ।
संविधान निर्माणको क्रममा भएको ऐतिहासिक मधेश / थरुहट आन्दोलनलाई पहाड विरोधी, जातिय, साम्प्रदायिक, अपराधिक, भारतद्वारा संचालित आन्दोलन जस्ता कु नियतका साथ कु-प्रचार गरि यसै बहानामा दुश्मन देशका दुश्मन नागरिक सरह वर्वरतापुर्ण दमन गर्दा पनि ६ महिनासम्म जनताले प्रतिरोध गरि रहे, बलिदान दिई रहे तर मधेश थरुहटका जनताको दुःखद हार भयो, आन्दोलन तुहिन गयो । मुस्लिम, दलित, पिछडा वर्ग लगायतको सामाजिक न्यायको आन्दोलन पनि अगाडी बढन सकेन ।
निरन्तर आन्दोलनरत रहेका लिम्बुवान लगायत अन्य आदिवासी जनजातिहरुको पहिचानवादी आन्दोलन पनि सफल हुन सकेन । उपरोक्त सबै आन्दोलनहरु एकल नश्लीय शासन ब्यबस्था बिरुद्ध थियो तर त्यस बिरुद्ध गरिएका आफ्नै आन्दोलन पनि एकल आयामिक थियो । हामी पहिचानवादीहरु पनि एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडी शुरु भएको पहिचानावादी आन्दोलन शासकीय षडयन्त्रको शिकार भइ अधुरो रहन गयो । शासन पनि एकल नश्लीय त्यस बिरुद्धको आन्दोलन पनि एकल आयामिक । त्यसैले त उत्पिडनमा परेका जनताले चाहेको जस्तो राजनीतिक उपलब्धि प्राप्त गर्न सकेन, देश पनि बन्न सकेन ।
अब गहिरो संकथन गरी अधिकार र पहिचानवादी आन्दोलन वहुआयामिक हुनु जरुरी भैसकेको छ । अब हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी सम्पूर्ण उत्पीडित राष्ट्रियताहरु तथा देशमा सुशासन र सम्वृद्धि चाहनेहरु सबै संयुक्त रुपमा एकतावध भई वहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अर्थात सम्पूर्ण क्रान्ति आवश्यक भैसकेको छ ।
नेपालमा आजसम्म भएको राजनिती भनेको आफ्नो स्वदेशीय मौलिक सभ्यताबाट पर हटी पश्चिमा ज्ञान प्रणालीको दर्शनमा आधारित भएर सिद्धान्त एवं कार्यक्रमहरु बनाईए, त्यसले गर्दा स्वदेशीय जरा काटिए, पर-देशको जरा समाएर बाँच्नुपर्ने भयो । जरा काटिएको समाज र समुदायको आफ्नो मौलिक जीवन र सपना केहि पनि हुँदैन । किनभने समाज र समुदायको जरा काटिएपछि आफ्नो सत्व मर्छ । समाज र समुदायको जीवन, सपना र सत्व हराएपछि त्यो देश, त्यो देशका समाज र समुदायको इतिहास, सभ्यता, संस्कार र सँस्कृतिप्रति चासोको विषय बन्दैन । र, समाजका युवा पुस्ताको जिवनको अवस्था पर-शासन र पर-निर्भतामा पुग्ने मात्र होइन कि त्यही नै सपना बन्न थाल्दछ । राजनीतिक हिसावले नेपाली समाज यो दोशांधबाट लामो समय देखी गुज्रिरहेको छ ।
परिणामतः युवाहरु विदेश पलायन भइसकेका छन, दिनानुदिन पलायन हुनेक्रम तिब्र गतिमा जारी छ । यो कुनै प्राविधिक समस्या मात्र नभएर गम्भीर दार्शनिक र वैचारिक राजनीतिक समस्या हो । नेपाली जनताको सत्व र ग्रहण गरेको राजनीतिक दार्शनिकी वीच गहिरो खाडल छ र नै यतिबेला नेपाली समाज सबैजना सबैसँग लडीरहेका छन् । त्यो समस्या भनेको एकातर्फ नेपालमा आयातित र औपनिवेशीक मार्क्सवादी र पूँजिवादी ज्ञानसत्ताको उदयले नेपाली समाजको स्वदेशीय जरा काटिएर भएको हो भने अर्को तर्फ नेपालको राजनीतिमा पश्चिमा ज्ञानमिमांसाको राजनीतिक हतियार बोकेर स्थानीय मौलिक सनातन सभ्यता, इतिहास र मुल्यमान्यताहरू भत्काउने दलको रुपमा मुलतः मार्क्सवादी र उदारवादी भनाउँदाहरु नै हुन् ।
त्यसैले त नेपालको संविधान २०७२ राजनीतिक सैद्धान्तिकी र वैचारिकी पश्चिमा ज्ञानसत्ताको जगमा जारी हुन पुग्यो । यसर्थ, वर्तमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र औपनिवेशीक छ, पर-शासीत छ, पर-निर्भर छ र यसले आम नेपाली जनताको सत्व र स्वाभिमानलाई बोक्न सकेन र सक्दैन पनि । परिणामतः राज्यसत्ताको स्थिरता छैन, देश विकासको निरन्तरता छैन, सांस्कृतिक राष्ट्रवाद निर्माण हुन सक्दैन, सार्वभौम र स्वतन्त्र देशको हैसियतमा राष्ट्रिय दृष्टिकोण बन्न सक्दैन, देश र जनता पर-शासीत र पर-निर्भर बनाईयो मात्रै हैन, निरन्तर नेपाली समाज खण्डीत भएर गइरहेको छ । हामीले स्पष्ट रुपमा देखिरहेका छौं कि राज्य र समुदायवीच अलगाव र सम्बन्ध विच्छेदको मनोविज्ञान तीब्र रुपमा बढीरहेको छ । यसलाई नरोक्ने हो भने देश गम्भीर दुर्घट्नामा कुनै पनि बेला फस्न सक्दछ । यो दलदलबाट मुलुकलाई निकाल्न अनिवार्य बन्न गएको छ ।
देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोंचबाट संबिधान निर्माण र राज्यको संचालन भई रहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न सकेन । नेपाली समाजको सत्वसँग मेल नखाने यिनीहरुको बैचारिकी धारासाही गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्य ब्यवस्थाको निर्माण सम्भव छ । नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र राज्य हो, सो तर्फ नेपालको राजनीति स्वाभाविक रुपले अगाडी बढछ नै ।
तसर्थ देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतीबाट देशलाई मुक्ति दिलाई देशका सबै वर्ग, समुदाय, धर्म, जात-जाती, क्षेत्र, लिंगका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, सम्वृद्धि तथा सामाजिक न्याय प्रदान गर्नको लागि विगतमा जस्तै मधेशी, आदिवासी, जनजाती, थारु, दलित, मुस्लीम, पिछडा वर्ग लगायत स्वशासन, सुशासन र सम्वृधि चाहने हिमाल, पहाड, तराई मधेशका जनता अब एकल एकल रुपमा छुट्टाछुट्टै फुटेर संघर्ष गर्दा भोगेको पिडा र असफलताबाट सबक लिंदै ‘फोड़ र राज्य गर’ शासकीय नीति बिरुद्ध ‘जुटौं र आफ्नो सत्ता हासिल गरौँ’ अभियान तहत सबै मिली एकतावद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन ।
यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने छ र नेपाल सबै नेपालीका लागि निर्माण गर्ने छ । अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पिडित समुदायबाट सम्भव नै छैन तसर्थ बिद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन सोचको प्रभावलाई तिलान्जली दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली बैभव प्राप्त गर्न सम्भव छ, यसको निम्ति यस नविन युगका नविन नेपाल निर्माण निम्ति युगिन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा सादर आह्वान गर्दछु । जय मातृभूमि । धन्यवाद ।
तपाईको प्रतिक्रिया