माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्मा चैत ८ गते पार्टीबाट राजिनामा दिनुभयो । उहाँले पार्टीबाट राजिनामा दिनुभन्दा पहिले नै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गर्ने निश्चित गरिसक्नु भएको कारणले सो पार्टीबाट राजिनामा दिँदा पनि उहाँले खासै मार्केट लिन सक्नु भएन ।
पार्टीका शीर्ष नेताहरु नै भ्रष्टाचारमा चुर्लुम डुबेको कारणबाट राजिनामा दिएको कुरा राजिनामा पत्रमा उल्लेख गरिएको छ । तर वास्तविकता त्यो होइन । नेता रामकुमार शर्माले माओवादी पार्टीको मधेश प्रदेशको इन्चार्ज वा अध्यक्षको जिम्मेवारी दिनुपर्ने माग गर्नुभएको थियो । उहाँले सिधै भन्नुभएको थियो कि आफूलाई मधेशमा पार्टीको अध्यक्ष वा इन्चार्जको जिम्मेवारी दिने हो भने बस्ने नत्र पार्टी छाडेर जाने ।
तर यी कुराहरु उहाँले आफ्नो राजिनामा पत्रमा उल्लेख गर्नुभएको छैन । उहाँले आफ्नो राजिनामा पत्रमा भन्नुभएको छ, ‘माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समिक्षा गर्दा आकाश पतालको फरक पाएको अनुभुति हुन्छ ।’ जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै बिभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानी मात्रै भएको छैन १७ हजार नेपाली नागरिकले दिएको बलिदान र जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको उहाँले उल्लेख गर्नुभएको छ ।
माओवादी पार्टी पार्टी नभएर गुटै गुटका महासंघको रुपमा रुपान्तरण भएको उल्लेख गर्दै रामकुमार शर्माले जनादेश बिपरित विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटक–पटक गठबनधन फेरिरहने र देशलाई अस्थिरता एवं बिदेशीको क्रिडास्थल बनाई अन्नत अध्यारो दिशातर्फ धकेलेको महसुस आफूले भएको बताउनु भएको छ । तर पार्टीबाट राजिनामा दिनु यति मात्र कारण होइन भनि माओवादी केन्द्रका नेताहरु बताउनुहुन्छ ।
नेता शर्मा पार्टीमा राजिनामा दिनुभन्दा पहिला नै जसपाका अध्यक्ष उपेन्द्र यादवसँग कुराकानी गरिसक्नु भएको थियो । जसपामा जाने विषयमा उपेन्द्र यादवसँग विगत डेढ दुई वर्षदेखि उहाँले कुराकानी गर्दै आउनु भएको थियो । जुन कुराको भनक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि थियो । अध्यक्ष यादवले नेता शर्मालाई पार्टीको महाधिवेशन अघि नै पार्टीमा आउनु भयो भने तपाईलाई व्यवस्थापन गर्न सजिलो हुन्छ भनेको कारणले हतार हतारमा माओवादी पार्टी छाडेको माओवादी केन्द्रका नेताहरु बताउनु हुन्छ । जसपाको महाधिवेशन जेठ २७ गतेदेखि जनकपुरमा हुने भनिएको छ ।
उपेन्द्र यादवसँग कुरा मिलि सकेपछि मात्र उहाँले प्रधानमन्त्री समेत रहनु भएका माओवादीका अध्यक्ष प्रचण्डसँग कुराकानी गर्नुभएको थियो । उहाँले प्रधानमन्त्री प्रचण्डसँग मधेश प्रदेशमा पार्टीको अध्यक्ष वा इन्चार्जको जिम्मेवारी दिनुहुन्छ भने आफू पार्टीमा बस्ने नभए उपेन्द्र यादवको पार्टीमा जाने भन्नुभएको थियो । तर त्यहाँ उहाँले पार्टी बिग्रिसक्यो, नेताहरु भ्रष्टाचारमा डुबी सके, सत्ताकै लागि विदेशीको इसारामा गठबन्धन परिवर्तन गरेको लगायतका कुनै पनि कुरा उहाँले गर्नुभएको थिएन ।
पार्टीमा जिम्मेवारी मागेपछि प्रधानमन्त्री प्रचण्डले आफूलाई यस बारेमा सोच्नका लागि केही समय दिनुस् भन्नुभएको थियो । तर सात दिनसम्म प्रधानमन्त्री प्रचण्डबाट नेता शर्मालाई कुनै ‘रेसपोन्स’ आएन । त्यसपछि उहाँ थप तीन दिन पर्खिनु भएको थियो । तैपनि पनि प्रधानमन्त्री प्रचण्डबाट कुनै रेसपोन्स नआएपछि उहाँले पार्टीबाट राजिनामा दिनु भयो । रामकुमार शर्माले स्वयंले नै जिम्मेवारी दिनुहुन्छ भने बस्छु नभए उपेन्द्र यादवको पार्टीमा जान्छु भनि सकेपछि प्रधानमन्त्री प्रचण्डले उहाँलाई पार्टीमा रोकि राख्न उचित ठान्नुभएन ।
नेता शर्माका ट्रनिङहरु
नेता शर्मा आफ्नो सरकारी जागिर छाडेर माओवादी आन्दोलनमा लाग्नु भएको थियो । माओवादीमा हुँदै नै उहाँ उपेन्द्र यादवको साथमा मधेशी जनअधिकार फोरम नेपाल सामाजिक संस्थाको रुपमा गठन गर्नुभएको थियो । मधेशमा उहाँहरु फोरमका तर्फबाट गतिविधि गरिरहनु भएको थियो । २०६३ मा फोरम पार्टीको रुपमा दर्ता भयो, त्यसपछि रामकुमार शर्मा माओवादी छाडेर फोरममै बस्नुभयो ।
फोरमले सुरु गर्नुभएको थियो मधेश आन्दोलनमा नेता शर्मा सक्रिय हुनुहुन्थ्यो । सोही क्रममा २०६४ भदौं १३ गते फोरम र सरकार बिच २२ बुँदे सम्झौता भएको थियो । सम्झौतामाथि चित्त नबुझेपछि भाग्यनाथ गुप्ता, जितेन्द्र सोनल, किशोर विश्वासलगायतका नेताहरुको साथमा नेता शर्मा पनि फोरमबाट अलग हुनुभएको थियो । त्यही बेला महन्थ ठाकुर, विजयकुमार गच्छदार, जेपी गुपलगायतका नेताहरु काँग्रेसबाट अलग भएर तराई मधेश लोकतान्त्रिक पार्टी गठनको तयारीमा लाग्नु भएको थियो ।
रामकुमार शर्माहरु पनि सोही पार्टीमा समाहित हुनुभयो । २०६४ को पहिलो संविधानसभा चुनाव जित्नु भएका रामकुमार शर्मा २०६६ मा तमलोपा त्यागेर माओवादीमा प्रवेश गर्नुभएको थियो । त्यतिबेला उहाँले संविधानसभा सदस्यबाट पनि राजिनामा दिनु भएको थियो । उहाँ १४ वर्षसम्म लगातार माओवादीमा रहनुभयो ।
माओवादीमा रहँदा उहाँले मधेशका लागि पटक पटक आवाज उठाउनु भएको थियो । कहिले समूहमा त कहिले एक्लै पनि माओवादीका अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्रहरु दिइरहनु भएको थियो । विघटन भएको राष्ट्रिय मधेशी मुक्ति मोर्चालाई पनि पुनर्गगठन गर्न प्रयास पनि उहाँले गर्नुभएको थियो ।
त्यसका लागि अध्यक्ष प्रचण्डसँग पटक पटक उहाँले कुरा गर्नुभएको थियो । तर कुनै सुनुवाई भएन । उनी अन्तिम पटक प्रचण्डलाई भन्नुभएको थियो, ‘मलाई कुनै एउटा जिम्मेवारी दिनुस् नभए पार्टी छाड्छु ।’ र त्यो कुराको सुनुवाई नभएपछि उहाँले पार्टी छाड्नु भयो । पार्टीमा रामकुमार शर्माले थुप्रै फाइदा लिएको कुरा अहिले आएर खुल्दै गइरहेको छ ।
रामकुमार शर्मा तमलोपाबाट संविधान सभा सदस्य त्याग गरेर माओवादीमा प्रवेश गरेपछि सो पार्टीले उहाँलाई हरेक कुराको सुविधा दिएको थियो । खासमा त्यतिबेला उहाँ प्रचण्डको खास मान्छे बन्नुभएको थियो । प्रचण्डले उहाँलाई गाडीको सुविधादेखि अन्य आर्थिक सहयोग पनि गर्नुभएको थियो । पछि त उहाँलाई जनकपुर बृहतर विकास कोषको अध्यक्ष नै बनाई दिनुभयो । त्यसपछि २०७४ को चुनावमा उहाँको श्रीमती इन्दु शर्मालाई समानुपातिक सांसद पनि बनाइएको थियो ।
२०७९ को चुनावमा पनि उहाँले श्रीमतीलाई समानुपातिक सांसद बनाउन माग गर्नुभएको थियो । श्रीमती नभए पनि आफूलाई नै बनाउन उहाँले पार्टीका अध्यक्ष प्रचण्ड समक्ष दबाव दिनुभएको थियो । यहाँसम्म कि पछिल्लो समय भएको राष्ट्रिय सभा चुनावमा पनि उहाँले आफूलाई उम्मेदवार बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाव दिनुभएको थियो । तर प्रचण्डले नेता रामकुमार शर्माको कुनै डिमाण्ड पुरा नगरेपछि उहाँ पार्टी छाडेर निस्किनु भयो । उहाँ जसपामा जाने निश्चित भइसकेको छ ।
तर उहाँ पार्टीमा एक्लै जानु हुन्न । मधेशमा उहाँ माओवादी केन्द्रका अन्य नेताहरुसँग सम्पर्क गरिरहनु भएको छ । उहाँहरुलाई कन्भिन्स गरिरहनु भएको छ । केही वरिष्ठ नेताहरुलाई लिएर नै जसपामा प्रवेश गर्ने उहाँको तयारी छ । तर हालसम्म रामकुमार शर्मासँग कुनै पनि नेता जान तयार देखिएको छैन ।
(सम्पादन गरिएकोः माओवादी केन्द्रका नेता उमेश यादवको नाम त्रुटिवश पर्न गएकोमा त्यसलाई संशोधन गरिएको छ ।–सम्पादक)


तपाईको प्रतिक्रिया