Khadya Bibhag

महन्थ ठाकुरका खास मान्छेबाट नै धोका

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक महोत्तरीको बर्दिवासमा चैत ७ गते सम्पन्न भयो । पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेपछिको यो पहिलो केन्द्रीय समितिको बैठक थियो । त्यो बैठकमा महन्थ ठाकुरले केन्द्रीय समितिको कोरम समेत पुर्याउन सक्नु भएन । मधेश प्रदेशमै केन्द्रीय समितिको बैठक गर्दा पनि केन्द्रीय समितिको दुई तिहाइ सदस्य उपस्थित नभएपछि बैठकमा खासै कुनै निर्णय नगरी अध्यक्ष ठाकुरले बैठक स्थिगित गर्नुभएको थियो ।
२०८० मंसिर २४ गते बसेको लोसपाको केन्द्रीय समितिको बैठकलाई सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बहिष्कार गर्नुभएको थियो । त्यो बैठकमा पनि बहुमत केन्द्रीय सदस्यको उपस्थिति थिएन । पछि लोसपाका पार्टीका कार्यालय सचिव प्रदीप पाठकले केन्द्रीय सदस्यहरुको घरघर गएर माइन्युटमा हस्ताक्षर गराउनु भएको थियो ।
त्यो भन्दा खराब हालत बर्दिबासको बैठकमा थियो । लोसपाका एक जना कार्यकारिणी सदस्यले भन्नुभयो, ‘राजेन्द्र महतोको साथमा जो जो गएका छन् उनीहरु बैठकमा उपस्थित नहुनु ठिकै हो तर जो महन्थ ठाकुरका साथमा हुनुहुन्छ उनीहरु पनि बैठकमा नआउनु भनेको पार्टीका लागि यो राम्रो संकेत होइन ।’
लोसपाका अध्यक्ष महन्थ ठाकुरले गत असोजमा ३११ जनाको केन्द्रीय समितिको घोषणा गरेपछि पार्टीमा विवाद उत्पन्न भएको थियो । सो केन्द्रीय समितिमा आफ्नो मान्छे नपरेको भन्दै वरिष्ठ नेता राजेन्द्र महतो र अनिलकुमार झाले पार्टी छाड्नु भएको छ ।
महन्थ ठाकुरले खोजी खोजी आफ्ना मान्छे मात्र राख्नु भएको र जो मधेश आन्दोलनमा योगदान दिए, मधेशको राजनीतिमा लामो समयदेखि लागेका छन् त्यसलाई लोसपाभन्दा बाहिर राखेको गुनासो राजेन्द्र महतो र अनिल झाको रहेको छ ।
चैत ६–७ गते महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकमा सय जनाको पनि उपस्थिति थिएन । जब कि त्यो ३११ जनाको केन्द्रीय समिति महन्थ ठाकुरले आफै गठन गर्नुभएको छ । आफैले गठन गरेको केन्द्रीय समितिको बैठकमा नेताहरु उपस्थित नहुनुमा लोसपा समाप्त हुँदैछ भन्ने कुराको संकेत रहेको ती नेताले बताउनुभयो ।
त्यो बैठकमा पनि बहुमत सदस्य उपस्थित नहुँदा केन्द्रीय सदस्यहरुको घरघरमा गएर हस्ताक्षर गराउनु भएको छ । मंसिरमा बसेको केन्द्रीय समितिको बैठकमा पनि त्यस्तै भएको थियो र चैत ६ गते बसेको बैठकमा पनि त्यस्तै भएको थियो ।
दुवै बैठकमा अनुपस्थित रहेका केन्द्रीय सदस्यहरुको घरघरमा गएर प्रदीप पाठकले हस्ताक्षर गराउनु भएको सो पार्टीका नेताहरु बताउँछन् ।
हस्ताक्षर गराउनका लागि प्रदीप पाठक काठमाडौँबाट प्लेन चढेर जनकपुर पुग्नुभएको थियो । र, त्यहाँबाट गाडी लिएर केन्द्रीय सदस्यहरुको घरघरमा गएर हस्ताक्षर गराउनुभयो । तर महोत्तरीमा बसेको केन्द्रीय समितिको बैठकबाट राजेन्द्र महतो, अनिल झालगायतका नेताहरुलाई कारवाही गर्न सकेन । राजेन्द्र महतोको साथमा थुप्रै नेताहरु सो पार्टीबाट बिद्रोह गरिसकेका छन् । राजेन्द्र महतोले गठन गर्नुभएको राष्ट्रिय मुक्ति क्रान्तिमा धेरै जना संलग्न पनि भइसकेका छन् ।
आन्दोलन पनि सुरु गरिसकेका छन् तर पार्टीले केशव झाबाहेक एक जनालाई पनि कारवाही गर्न सकेको छैन । केन्द्रीय समितिको बैठकबाट कारवाही हुने चर्चा थियो तर त्यो बैठकले पनि कारवाही गर्न सकेन ।
महोत्तरीमा दुई दिनसम्म चलेको बैठकले नेता महतोको बारेमा कुनै आधिकारिक निर्णय गरेन । वरिष्ठ नेता महतो आफै पार्टी छाडेर गइसकेको कारण त्यसको बारेमा कुनै निर्णय गर्न नपरेको सो पार्टीका नेताहरुले बताउनुहुन्छ । राजेन्द्र महतोले पत्रकार सम्मेलन गरेर आफू लोसपामा नरहेको जानकारी गराए पनि हालसम्म आधिकारिक रुपमा राजिनामा दिनुभएको छैन । लोसपाका उपाध्यक्ष जितेन्द्र सोनलले पार्टी छाडेर गइसकेका बारेमा पार्टीले कुनै निर्णय गर्नुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।
उहाँ स्वयं (राजेन्द्र महतो)ले नै आफू पार्टीमा नरहेको भनि सकेपछि पार्टीले केही निर्णय गर्नु परेन, उहाँले भन्नुभयो, ‘राजेन्द्र महतो पार्टीमा हुनुहुन्न भने कुरा उहाँ स्वयंले भनेपछि अब त्यो ठाउँमा अरुलाई राखिनेछ तर राजेन्द्रजीको बारेमा थप कुनै निर्णय गर्नुपर्दैन ।’
बरु नेता महतोको साथमा को को नेता गएका छन् त्यसको नामावाली तयार गर्न जिल्ला कमिटीलाई बैठकले निर्देशन दिएको बताउँदै उहाँले जिल्ला जिल्लाबाट आएको रिपोर्टका आधारमा उनीहरुलाई पार्टीबाट कारवाही गर्ने वा के गर्ने बारे निर्णय हुने बताउनुभयो ।
नेता महतोको साथमा अरु केही नेताहरु पनि देखिन्छन् उनीहरु कहाँका छन् पार्टीमा उनको के पोजिसन छन् त्यसको बारेमा जिल्ला कमिटीले रिर्पोर्ट बनाएर पार्टीमा बुझाएपछि त्यसको बारेमा एक्सन लिने उहाँले बताउनुभयो । दुई दिनसम्म चलेको बैठकमा लोसपाका नेताहरुले विभिन्न पाँच वटा प्रतिवेदन पेस गर्नुभएको थियो ।
सबै प्रतिवेदन सुझावका आधारमा संशोधनसहित पारित भएका छन् । पार्टीलाई क्रियाशिल बनाउनका लागि पालिकादेखि प्रदेश तहसम्म पार्टीको अधिवेशन गर्ने लगायतका विषयमा छलफल भएको छ ।

तपाईको प्रतिक्रिया